अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

अमेरिकामा झापालीको पहिलो पिकनिक सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २४ गते ११:३३ मा प्रकाशित

झापालीहरु समाज सेवाको क्षेत्रमा अगाडि बढ्ने
नेपाली एकता झापालीको सफलता भन्ने मूल उद्देश्यका साथ अमेरिकाको डिसी मेट्रो क्षेत्रमा रहेका झापाली नेपालीहरूले एक बनभोजको आयोजना गरे । अनौपचारिक रूपमा गरिएको भनिएको झापालीको उक्त बनभोजमा उल्लेख्य रूपमा पूर्वी, मध्य र पश्चिमी नेपालबाट अमेरिका आएका तथा अमेरिकाका विभिन्न राज्यबाट आएका नेपालीहरूको पनि उपस्थिति देख्न सकिन्थ्यो । 

स्थानीय मेरिल्याण्ड राज्यको ब्ल्याक हिल रिजनल पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले शुभकामना सन्देश मार्फत नेपालीहरूका यस्ता भेला र परिचयात्मक कार्यक्रमहरुले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपालले लाभ हासिल गर्ने विचार व्यक्त गर्नु भयो । नेपाली दूतावासका प्रथम सचिव चक्र सुबेदीले राजदूतको सन्देश सुनाउंनुका साथै आफू पनि झापाली भएकोले पिकनिकमामा उपस्थित हुँदा खुसी भएको विचार व्यक्त गर्नु भयो ।

यस्तै झापा स्थाइ बसोबास गर्नु हुने न्यु योर्क स्थित नेपाल सरकारका वाणिज्यदूत एवं चिर परिचित साहित्यकार कृशु क्षेत्री सुवेदीले परदेशको ठाउँमा भएका यस्ता नेपाली भेलाले क्षेत्रीयतालाई भन्दा पनि गणतन्त्रलाई मजबुत बनाउने धारणा राख्नु भयो । 

वरिष्ठ साहित्यकार सीता पाण्डेले अनौपचारिक रूपमा संयोजन गर्नु भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धराबासी, डा. गोपी उप्रेती र मोहन निरौलाले झापा जिल्लाको विशेषता झल्काउने जानकारीहरू दिनु भएको थियो भने सो सभामा एनआनएनको आशन्न निर्वाचनमा उपाध्यक्षको उम्मेदवारी दिनु भएका रामकुमार सुवेदीले सबै नेपालीको एकतामा आफूले जोड दिनु भयो । 

वरिष्ठ पत्रकारद्वय योगेश उपाध्याय, पूरू घिमिरे, आइसीसी बोर्ड अफ डाइरेक्टरका उम्मेदवार सुशील रेग्मी, एनसीसी बोर्ड सदस्यका उम्मेदवार परशुराम भण्डारी, अमेरिका नेपाल समाजका पूर्व अध्यक्षहरु खेम भट्टचन, विष्णु कुमारी थापा, एनआरएन भर्जिनियाका सर्वसम्मत अध्यक्ष उम्मेदवार गोविन्द सुवेदी, पत्रकार तरुण पौडेल, एएनएसका महासचिव प्रेम पौडेलले आफूहरू झापाली नभएता पनि झापालीहरुसंगको गाडा मित्रताको कारणले कार्यक्रममा सहभागिता जनाएको बताउनु भयो । 

कार्यक्रमको दौरानमा झापाली गायक गुरु ओलीले गीत गाएर सबैलाई नचाएका थिए । यसका साथै झापा जिल्लाको पहिचान सम्बन्धी प्रश्नउत्तर, तीजको विशेष नाचगान, बालबालिकाका विभिन्न खेलहरू, मेरिल्याण्ड र भर्जिनियामा बस्ने झापालीवीच भलिबल प्रतियोगिता र कविता वाचन पनि गरिएको थियो । भलिबलमा विजयी मेरिल्याण्ड टिम र नृत्य तथा खेलकुदमा विजयी हुने बाल बालिकालाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

अमेरिका र क्यानडामा हजारौँको सङ्ख्यामा झापालीहरुको बसोबास रहेकोले आपसी भाइचारा विकास र सहयोगको आदान प्रदान गर्ने उद्देश्यले आगामी वर्षहरूमा अन्तर स्टेट एवं अन्तरदेशीय भेटघाट कार्यक्रमहरू पनि गर्दै जाने जानकारी आयोजकहरुले दिएका छन् । यस्तो भेलाको माध्यमबाट झापालीहरु अव समाज सेवाको क्षेत्र एकजुट भएर लाग्नु पर्ने सुझाव पनि धेरै उपस्थितहरुले दिएका थिए ।

 

प्रतिक्रिया