अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

नेपाल र मोरक्कोको दौत्य सम्बन्ध थप प्रगाढ हुने

बिआरटीनेपाल २०७४ साउन २१ गते १४:४४ मा प्रकाशित

आपसी परामर्श र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र मोरक्को अधिराज्यबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति साउन १९ गते बिहीबार काठमाडौँमा सम्पन्न भएको हो । सहमति पत्रमा मोरक्कोका तर्फबाट राजदूत श्री मोहम्मद मालीकी र नेपाल सरकारका तर्फबाट परराष्ट्र सचिव श्री शङ्करदास बैरागीले हस्ताक्षर गरेका थिए ।

सम्झौता बमोजिम नेपाल र मोरक्को दुवैले आपसी सम्बन्ध थप मजबुत पार्दै द्विपक्षयि सहयोगका आयामहरू खोज्ने, उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने र आपसी चासोका विषयहरूमा विशेषतः राजनैतिक, आर्थिक, व्यापार, लगानी, वित्तीय सहयोग, औद्योगिक, शैक्षिक, सामाजिक, खेलकुद, वैज्ञानिक र प्राविधिक क्षेत्रमा आपसी परामर्श गर्ने सहमति भएको छ । नेपाल र मोरक्को बिच द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामिलामा समेत आ–आफ्ना धारणाहरू आदान–प्रदान गर्ने सहमति भएको छ ।

नेपाल र मोरक्को बिच दौत्य सम्बन्धको स्थापना सन् १९७५ मै भएता पनि आपसी सहयोगका पूर्ण आयामहरू खोज्ने कार्यको थालनी भने हुन बाँकी नै थिए । उत्तरी अफ्रिका र युरोपबीच अवस्थित मोरक्को भने अति दू्रत गतिमा बढिरहेको अर्थतन्त्र हो ।

नेपालले मोरक्कोसँग विशेषतः रासायनिक मल, कृषि, पर्यटन र ती क्षेत्रका लागि आवश्यक प्राविधिक मानव संशाधनको विकासका लागि सहयोगको अपेक्षा गर्न सक्छ । किनकि मोरक्को संसारकै सबैभन्दा ठुलो रासायनिक मल उत्पादक र निर्यातकहरू मध्येमा पर्दछ । फोस्फेटजन्य खनिज पदार्थलाई प्रशोधन गर्दै रासायनिक मल र फोस्फोरिक एसिड उत्पादन र निर्यात गर्नु मोरक्कोको मुख्य आर्थिक गतिविधिमा पर्दछ । शिक्षा, पर्यटन र कृषि मोरक्को र नेपाल दुबैलेै ध्यान केन्द्रित गर्नुपर्ने प्रमुख क्षेत्र रहेका छन् ।

मोरक्कोले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति बढाउने र तालिम दिने विषयमा पनि सहमति जनाएको छ । आर्थिक उन्नतिका लागि अपरिहार्य मानव संशाधन मानवीय मूल्य अभिवृद्धिका साथ हर क्षेत्रमा आपसी सहयोग बढाउन दुवै देश राजी भएका छन् ।

नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत श्री मोहम्मद मालीकी दुई देशबीच सम्पन्न आपसी सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर क्रममा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन, माननीय उपप्रधान तथा परराष्ट्र मन्त्री श्री कृष्णबहादुर महरा र परराष्ट्र सचिव शङ्करदास बैरागीसँग भेट वार्ता गरिसकेका छन् । 

मोरक्को अधिराज्यको कुटनैतिक टोलीलाई स्वागत गर्ने क्रममा साउन १९ गते साँझ मोरोक्को अधिराज्यको अवैतनिक वाणिज्य दूतावास (कन्सुलेट) ले एक विशेष कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रमको प्रमुख आतिथ्य सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत मालिकीले “नेपाल र मोरक्को भौगोलिकरुपमा ज्यादै टाढा रहेता पनि आत्मिक रूपमा धेरै नजिक रहेको र दुई देशबीच दौत्य सम्बन्धको स्थापनादेखि नै अत्यन्त निकट र सौहार्दपूर्ण मैत्री सम्बन्ध रहँदै आएको बताए । सो अवसरमा मोरक्कोका “गोल्डन सितारवादकका रूपमा परिचित प्रसिद्ध सितारवादक श्री हज युनिसको नेतृत्वमा साङ्गीतिक प्रस्तुति गरिएको थियो । श्री युनिसका साथ श्रीमती विद्या शाह लगायतका केही भारतीय ख्याति प्राप्त सङ्ीतज्ञ एवम् गायक गायिकहरूको समूहले मोरक्कोको साङ्गीतिक प्रस्तुति गरेका थिए । मोरक्कन सङीत फाँटका सुप्रसिद्ध सङ्गीतज्ञ युनिसले आफ्नो कला थुप्रै एसियाली, युरोपेली, अफ्रिकी, अरब र अमेरिकी राष्ट्रहरूमा प्रस्तुत गरिसकेका छन् ।

मोरक्कोका राजा मोहम्मदको गद्दी आरोहणको १८ औँ वार्षिकोत्सवका अवसरमा राजदूत मालिकीले आज बिहान मोरक्कोको अवैतनिक वाणिज्य दूतावासमा मोरक्काको झण्डोत्तलन गरे । थापाथलीमा अवस्थित मोरक्कोको अवैतनिक वाणिज्य दूतावासले नै मोरक्को अधिराज्य र नेपालबीच दौत्य सम्बन्धका विविध विषयमा कार्य गर्दै आइरहेको छ ।

नेपालका लागि मोरक्को अधिराज्यका अवैतनिक मानार्थ महावाणिज्यदूत श्री वसन्त कुमार चौधरीले मोरक्कोले गरेको नवीनतम् प्रयोग एवम् प्रगतिबाट नेपालले पनि नयाँपन सिक्न सक्ने र मरुभूमिमा रहेको एक मित्रले हिमालयमा रहेको अर्को मित्रलाई जीवनका नयाँ अध्यायहरू देखाइरहेको बताए । आउँदा वर्षहरूमा नेपाल र मोरक्को बिच विद्यमान दौत्य सम्बन्धलाई थप दरिलो पार्न आफू कटिबद्ध रहने प्रतिबद्धता समेत श्री चौधरीले दोहो¥याए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू