अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

एनआरएन आईसिसीको हस्तक्षेप – एनआरएन अमेरिका टुक्रन सक्ने प्रबल सम्भावना

सुनिल मणि दाहाल २०७४ साउन १८ गते १४:१५ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचनमा गुट उपगुट सहितको चरम विवादले यस सस्थाको साख गिरदो छ । यस्तै समूहगत र सङ्गठित समूहहरू कहिले आफ्नो पारिवारिक सम्पती सरह, कहिले नेपालको कुनै राजनीतिक दलको झोले कार्यकर्ता सरह त कहिले एनआरएन आईसिसिको चपराशी सरह व्यवहार गरी दिँदा एनआरएन अमेरिकाको अस्तित्व नै सन्कटमा परेको छ ।

अध्यक्षका लागी प्रत्यासीहरु बिचको कलह
अर्को कार्यकालका लागी एनआरएन अमेरिकाको अध्यक्षका लागी प्रत्यासीहरु डा. केशव पौडेल र गौरी जोशीका बिच नै प्रमुख प्रतिस्पर्धा हुने निश्चित छ । दुवै प्रत्यासीहरुले आफ्नो समूह बनाएर प्रचार अभियानलाई तीव्र पारेका छ्न । यसै चुनावी प्रचार अभियानमा भएका अन्तरक्रिया कार्यक्रमहरूमा वर्तमान अध्यक्ष डा पौडेलले आफ्नो कार्यकालमा एकल निर्णय गर्ने गरेको, सस्थालाई पेवा झैँ बनाएको, नेपालको राजनीतिक पार्टीको झोला बोकेको, अमेरिकाका प्रवासीहरुको हित हुने कार्य गर्न नसकेको, गुटबन्धी गरेको, सदस्यता वितरणमा आफ्ना समूह मार्फत फोटो आईडिको व्यवस्था नगरी आफू अनुकूल हुने गरी सदस्यता वितरण गरेको, सदस्यता प्रमणिकरणमा गौरी जोशीको पकड भएको टेक्सासमा मात्र छानबिन गरेको, गौरी जोशीलाई उम्मेदवार हुन बाट रोक्ने षणयन्त्र गरेको आरोप लागेको छ । त्यस्तै, टेक्सासमा आफै पैसा तिरी सदस्य बनाएको आरोप गौरी जोशी माथि लागेको छ । फोटो आईडीको व्यवस्था लागू नगरे पछि सदस्य बनाउनका लागी आ-आफ्नो लगानी भएको तथा आफ्ना व्यापारिक पार्टनर तथा शुभचिन्तकहरुको व्यापारिक सस्थालाई प्रयोग गरी उनीहरू मार्फत प्रतेक नेपालीहरूको परिवार सहितको नामावली लिस्ट लिएर सदस्य बनाएको तथ्य बाहिर आएको छ।

नेपाली राजनीतिक दलको झोला नवोक्नुस, गुटवन्दि नगर्नुस, एनआरएनलाई साझा चौतारी वनाऔ भनी प्रत्यासीहरुलाई खवरदारी गर्दा उनीहरूलाई ज्वरो आउँछ । आत्मै देखी भन्नुस्, के एनआरएन अमेरिका साँच्चै ठिकठाक चलिरहेको छ भनेर सोध्दा गर्वका साथ भन्छन् – एकदम ठिकठाकै चलेको छ्, नत्र हेर्नुस कसरी दश हजारबाट चौध हजार सदस्य भए भन्ने जवाफ दिन्छ्न । तर, किनेर बनाइएको सदस्यका बारेमा भने कुनै जवाफ नै छैन, तै चोर, मै चोरको अवस्था छ ।

एनआरएन आइसिसिको ठाडो हस्तक्षेप
एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिएका गौरीराज जोशीको नाम उम्मेदवारको नामावली सूचीमा अझै पनि प्रकाशित नभए पछि धेरै मिडियाहरु लगायत अमेरिकाका प्रवासीहरुले चर्को विरोध गरी रहेका छ्न । निर्वाचन कमिटीले एनआरएन आइसिसिको निर्णय अनुसार जोशीको नाम हटायो भन्ने आरोप समेत लागेको छ । निश्पक्ष रहेको निर्वाचन आयोगलाई नै एनआरएन आईसिसिबाट दिनहु आउने आदेसामूलक पत्रचार मार्फत हस्तक्षेप हुने गरेको बुझिएको छ ।

एनआरएन आइसिसिका प्रभावशाली पदाधिकारीहरू एनआरएन अमेरिका भित्र सधैँ किचलो सृजना गरेर आईसिसिमा रजाई गर्ने चाहना राख्दछन । एनआरएन आइसिसि भित्रको समूहले आफ्नो अभिष्ट पुरा गर्न अमेरिकामा दर्ता भएको संस्था- एनआरएन अमेरिकालाई आफ्नो समूहको अनुकूल हुने गरी नियन्त्रण गर्नका लागी विधि र विधान विपरीत निर्देशित निर्देशन दिने गरेको ज्वलन्त उदाहरण वर्तमानमा अध्यक्ष पदका प्रत्यासी गौरो जोशीलाई उम्मेदवार हुन बाट रोक्न खोज्नु नै हो ।

एनआरएन अमेरिका टुक्रन सक्ने प्रबल सम्भावना
विवाद र छलफल हुनु र समाधानका बाटाहरु खोज्नु प्रजातान्त्रिक पद्धति भित्रका पाटा हुन, तथापि लामो विवाद र जुगाको लडाइमा समय दिनु भन्दा एनआरएन अमेरिकाले आफ्नो सस्थाको विधानलाई बिवादरहित बनाउनु उचित हुनेछ ।अत्यन्त विवाद र किचलोका बिच एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी हुने निर्वाचन समेत प्रभावित भएको वर्तमान अवस्थामा आपसी स्वार्थ र मनमुटाबले एनआरएन अमेरिकाको सेवा भावमा ह्रास आएको छ, संस्था बदनाम हुन गै नेपाली भाषी बिच यसको महत्त्व र आस्था माथि अविश्वास सृजना हुन गएको छ ।

एनआरएन अमेरिकाका लागी अध्यक्ष पदका प्रत्यासी डा केशव पौडेल र गौरी जोशी बिच ऐले स्पष्ट रूपमा दुई समूह देखिएको छ। डा पौडेल समूह आफ्नो पुरा शक्तिको प्रयोग गर्दै जोशीलाई यस निर्वाचनमा अध्यक्ष पदका लागी अयोग्य साबित गर्न कम्मर कसेर लागी परेको छ । त्यस्तै, एनआरएन आइसिसिका तर्फबाट अमेरिकाका कोर्डिनेटरहरु पनि जोशीलाई पाखा लगाउने कार्यमा खुलेरै लागेका छ्न । यसै तानातानी र षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको विधान विपरीत जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिका फुटन सक्ने सम्भावना प्रबल छ ।

एनआरएन अमेरिकाको अस्तित्व सङ्कटमा – कानुनी लडाई आवश्यक
सस्थाको विधान छ, तर दुख लाग्दो कुरा के छ भने आफू अनुकूल हुने गरी संशोधन गर्ने काईते परिपाटीले यस सस्थालाई सधैँ विवादित बनाउँदै आएको छ । कुनै विवाद भएमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समिति (एनआरएन आइसिसी) को निर्देशन लिने भन्ने छ । अमेरिकामा दर्ता भएको सस्थाले आफ्नो विधानको भावना विपरीत हुने गरी अर्कै मुलुकमा दर्ता भएको सस्थाको निर्देशन कसरी मान्न सक्छ? यसैको टेकोमा चढेर आईसिसिले एनसिसि माथि दादागिरी देखाएको प्रस्ट हुन्छ ।

त्यस्तै, एनआरएन आइसिसि भित्रका समूह तथा उप समूह लगायत अमेरिकाका लागी आइसिसिका कोर्डिनेटहरुको ठाडो हस्तक्षेपको सिकार हुन पुगेको एनआरएन अमेरिकाले आफ्नो अस्तित्वका लागी अव कानुनी उपचार खोज्नै पर्दछ । यसै षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको विधि र विधान विपरीत जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिकाको अस्तित्व रक्षाका लागी गौरी जोशी अदालत जानु पर्ने तर्क अत्याधिक प्रवाशीहरुको छ ।

आईसिसीको हस्तक्षेप – अब के हुन्छ?
एउटा विधि हुन्छ अर्को व्यवहार । दुवै तर्फ व्यवहारिक रूपले हेरिनु पर्दछ । गौरी जोशी अध्यक्षका लागी योग्य हुन वा हैनन भन्ने यकिन गर्न आइसिसिले आयोग गठन गर्नु नै अमेरिकाको एनआरएन माथिको ठाडो हस्तक्षेप हो, सस्थाको अस्त्तित्व माथिको प्रहार हो । अत : यो छिनोफानो नहुन्जेल सम्मका लागी कानुनी परामर्श वा कानूनु उपचार लिदै आगामी अगस्ट ११-१२ मा तोकिएको निर्वाचन केही महिनाका लागी सार्नु नै सर्वोत्तम हुनेछ । अन्यथा, गौरी जोशीका लागी समानान्तर एनआरएन अमेरिका गठनको विकल्प हुने छैन।