अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

नेपालको वैदेशिक रोजगारीको वर्तमान अवस्था

बिआरटीनेपाल २०७४ साउन १७ गते २०:१९ मा प्रकाशित

 

विश्वको कुनै देशमा भएको श्रमशक्ति रोजगारका लागि अन्य देशमा जाने व्रmमलाई वैदेशिक रोजगार भनिन्छ । नेपालीहरू वैदेशिक रोजगारमा जान लागेको लगभग २०० वर्ष पुरा भएको छ । सन् १८१६ को सुगौली सन्धि पछि सैनिक सेवामा भर्ना हुनका लागि नेपालीहरू विदेश जान सुरु गरेको ईतिहास पाईन्छ । त्यस कालखण्डमा तत्कालीन भारतको ‘लाहोर’ मा नेपालीहरु धेरै जाने हुँदा ‘लाहुरे’ भनिन्थ्यो । अहिले पनि हाम्रो गाउँघरतिर विदेशबाट आउनेलाई लाहुरे आयो भनी सम्बोधन गरेको पाईन्छ ।

त्यस्तै सुरुका दिनहरूमा नेपालीहरूका गन्तव्य बर्मा, भूटान, भारत, थाईल्याण्ड, तिब्बत र मलेशिया थिए हाल यो गन्तब्य १६७ मुलुकमा फैलिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ का अनुसार कामदारले विदेशमा पाउने रोजगारलाई वैदेशिक रोजगार भनी परिभाषित गरिएको छ । तर उक्त ऐनले भारतमा काम गर्न जानुलाई वैदेशिक रोजगारको कानूनी दायरामा समावेश गरेको छैन । विदेशमा गई नेपालीहरूले काम गर्ने प्रचलन पुरानो भए तापनि वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भए पश्चात् नेपालमा वैदेशिक रोजगारी सम्बन्धी नीतिगत तथा संस्थागत प्रयास थालनी भएको देखिन्छ । वैदेशिक रोजगारीको महत्वलाई आत्मसात् गरी आठौँ योजना (२०४९–५४) देखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो ।

वि.सं. २०५४ फागुन १ गतेदेखि सर्वसाधारण नेपालीलाई जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानी बनाउने सुविधा सुरु गरे पश्चात् ग्रामीण क्षेत्रका नेपाली समेत वैदेशिक रोजगारमा जाने क्रम तीब्र बन्यो । अझ सन् १९९० पछि नेपालले विश्वव्यापीकरण, उदारीकरण नीति अवलम्बन गरे पश्चात् वैदेशिक रोजगारीले झनै चर्चा पाएको हो । संस्थागत रुपमा वैदेशिक रोजगारका लागि ११० वटा मुलुकहरु र ब्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जानेहरुको लागि १६७ भन्दा बढी देशहरु खुल्लाभएका छन् । तालिम प्राप्त गरी वैदेशिक रोजगारमा जाने श्रमशक्ति २४.५ प्रतिशत मात्र रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू