स्मृतिका पानाहरू – शिसम राई

शिसम राई

भोजपुर जिल्लाको दक्षिणी भेग, घोरेटारदेखि डेढ घन्टाको यात्रा तय गरेपछि पुगिन्छ देवन्टार । जुन टारमा मैले मेरो जीवनकै सबैभन्दा अनुपम पल बिताएकी छु । सबै जातका मानिसहरूको बसोबास रहेको देवन्टार आफैँमा प्राकृतिक मनोरमले भरिपूर्ण छ । भर्खर स्नान गरेर निस्किएकी नवयौवनाझैं स्निग्ध ।

बाआमाको लाडे प्यारमा जिस्किएको। बालसखेसँग छिल्लिएको । लुकामारी गर्दै घन्टौं समय बिताएको । स्कुल जान नमान्दा ‘तेरो पिडुँलाको मासु झारिदिन्छु ए !’ भन्दै आमाबाले लघार्नुभएको इत्यादि । अक्सर दिनहरू अनेकन मस्तिहरूमा बिताइदिन्थें । छुट्टीको समय गोठालो जाँदाको अनुभूतिले आज सम्झँदा पनि कताकता मलाई उही समयमा छु झैँ लाग्छ । उही छिमलका दौंतरीहरू, घरबाट निस्कने बाहाना हुन्थ्यो-गोठालो जाने । जङ्गल अथवा खाली बारी-पाखामा गाईबस्तु हुलेर हामी भने हिजो तिर्न बाँकी गट्टाको पर्म तिर्न सुरु गरिहाल्थ्यौं । आज मैले चार बिस ऋण लगाइदिएँ इत्यादि ।

उमेर अनुसारको खेल हुन्थ्यो । कोही गट्टामा रमाउथे । कोही बनमासा (बनमारा) अथवा पातिको चुङ्कि बनाएर बुरुक्-बुरुक् खुट्टा उफारिरहेका हुन्थे । कोही बाबुबाजेका थोत्रा मोजामा पोलिथिन र कपडा कोचेर फुटबल|भलिबल बनाएर खेलिरहेका हुन्थे । खुसीको कुनै सीमा हुँदैनथ्यो । तर कहिलेकाहीँ खुसी धेरै बेर टिक्न पाउँदैनथ्यो । जब हाम्रा गाईबस्तुले हामीलाई छक्याएर छिमेकीका बारीमा बुर्कुसी मारिसकेका हुन्थे । त्यति बेला हामीहरू सबैलाई साझा पीडाले सताउँथ्यो-अब घरकाले के गर्छन् ? भरे कुन मुखले घर जाने ? इत्यादि ।

बिहे गरी खेल । आफ्नै दाजुभाइ दिदीबहिनी पनि तँ दुला, तँ दुलही, तिमेरू जन्ती भन्दै बारी-चहुरमा जग्या निर्माण गर्थ्यौ । खै कसरी आउँथ्यो त्यति धेरै विवेक-दुला-दुलैलाई बिहे गरिदिने अभिभावक-पन्डित सबै छिनैमा तयार हुन्थ्यो । बिहे गरेरको, सिउँदो भरेको, दुलही रूँदै-रुँदै दुलाहको घरमा गएको इत्यादि । आज सम्झँदा पनि भित्रैदेखि काउकुती लागेर आउँछ ।

स्कुल वरिपरिका सुन्दर डाँडाकाँडाहरू, अनारदानाजस्तो मिलेका हिमलहर, दुईचार चिया पसल, सल्लाघारी, जेठ-असारमा लटरम्म पाक्ने घुँघुरू, आलुबखडाजस्ता फलफुल, बयाङ बजारलाई कहिल्यै नछाड्ने हिउँद महिनाको बाक्लो हुस्सु, जाडोयाममा आगो खोज्दै हिँड्ने बटुवा आदि मेरो स्मृतिमा अझै उत्तिकै ताजा छन् । बुधबारे हटिया बजारमा किनेर अलिक माथि सल्ला घारीमा बसेर बदाम, सुन्तलामा मस्त रमाइरहेका प्रेमिल जोडीहरू, चटपटेमा ट्वाक्क जिब्रो पड्काइरहने रसिकहरू आम्मामा सम्झँदा पनि कम्ता रमाइलो लाग्छ ! त्यही माथि मन परेको मान्छेसँग संसार भुलेर कतै हराइरहेको ।

कतिपय खुसीहरू समाल्नै नसकिने हुँदा रहेछन् । कुनै भौतिक वस्तुजस्तै स्टोर गरेर राख्न मिल्थ्यो भने अथवा पैसा हुनेहरूले ब्यांकमा पैसा जम्मा गरेजस्तै डिपोजिट गर्न मिल्थ्यो भने म मेरो बचपनको खुसीलाई कति जम्मा गरेर राख्थें होला । यसरी फिक्स्ड गरिएको मेरो खुसीको परिणाम कति पुग्थ्यो होला ! मनमनै कल्पिरहेकी छु-म विश्वको सबैभन्दा बढ्ता खुसी भएकी पात्र हुने थिएँ ।

हिजोआज सहरको कतै भित्री भाग अथवा जङ्गलको नजिक पुग्दा कराइजाने झ्याङ्कुरी अथवा पानी वर्षेसँगै ट्वार्र-ट्वार्र कराइ हिँड्ने भ्यागुतो देख्दा बाल्यकालको झ-झल्को ताजा बनिजान्छ । जेठको घामले चिट्‌चिट् पारेको सिङ्गो शरीर असार १५ आएपछि छुट्टै मादकताले प्रफुल्लित बनाइदिन्थ्यो । असार १५ को बेठी अनि सँगैको दहिचिउरा मात्र होइन, रोपार-बाउसेको असारे पिरति, सुख-दुःखका भावात्मक सम्बन्धहरू ‘असारे’ भाकामा घन्किएको, एकअर्कामा साह्रा थकाइ बिर्सिएर हिलो छ्यापा-छ्याप गर्दै प्रेमिल बन्दै गइरहेको दृश्य कुनै सुन्दर फिल्मझैं घुमिरहन्छ मेरो स्मृतिभित्र ।

विद्यालयमा नेपाली गुरुले भाका मिलाइ-मिलाइ वाचन गर्नुभएको लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ का कयन पद्यांशहरूले मलाई अझै पनि गुणी बन्न प्रेरित गरिरहेझैं लाग्छ । अङ्ग्रेजी ग्रामर अथवा स्पेलिङ नमिल्दा अङ्ग्रेजी सरले कानको जरा उखेलिदिएको अथवा मिलाएको दिन सबैभन्दा प्रिय शब्दले ‘भेरि गुड’ भनेका अतीत ध्वनिहरू अझै पनि कर्णग्राह्य लाग्छन् । स्कुल पढेर हतार-हतार एकै झमट नाघिदिने ३-४ वटा सिँढीहरू, घरबाट लगेका खाजाका परिकार लुछाचुँढ गरेर खाइदिएका घटनाहरू, कतै सल्लाघारीमा लुकाई राखेको खाजा, अर्काको बारीमा पाकेका फलफुल चोरी हिँडेका दिनहरू….ऊफ् कहाँ गए यी बालापन ? कहिले भेटेएला ती दिन उसैगरी ? आज पनि कीर्तिपुरको डेरामा बसेर सन्ध्यापख अथवा राति पानी परिरहेको बेला तिनै झ्याउँकिरीका बथानको साङ्गीतिक आलाप, देवनटारका हरेक पूर्वस्मृतिहरू एकपछि अर्को गरेर खोतलिरहन चाहन्छु । नोस्टाल्जिक बनाइदिन्छन् ती घटनाहरूले …र एकाएक चिमोटिरहन्छ, प्रिय बालापनले …. ! ! !

Published on August 1, 2017 at 12:57 pm

Loading...

यसमा तपाइको मत