लालगोपाल, योगमाया, पानी र इन्द्रेणी- कृष्ण धराबासी

बिआरटि नेपाल सम्बाददाता

भावको सघनता गद्यको शक्ति हो । विवरणात्मकताबाट मुक्त र व्याख्याबाट जोगिएको भावपक्षको उपस्थिति नै कविता हो । गद्य कवितामा आइरहने सङ्कट भनेकै व्याख्या र आख्यानको दबाब हो । कवितामा भेटिने शब्दहरूको भावमय उपस्थिति भावकलाई बाँधेर राख्ने तत्त्व हो । त्यसको अभाव कविताको कमजोरी हो । विषयलाई प्रस्तुत गर्दागर्दै कविता लेख्न बसेको कवि निबन्ध लेखेर उठिरहेको भेटिन्छ कैयौँ ठाउँमा । कवितामा घटना हाल्दाहाल्दै कथा लेखिसकेको हुन्छ ।

गद्य कवितामा करुणाको पक्ष निकै कमजोर भेटिन्छ । बुद्धिकोको कुरा गर्दागदै कहिले त भाषण जस्ता लाग्न थाल्छन् कविता । कवितामा हृदय ओच्छ्रयाउन नसक्ने कविहरु आख्यानतिर उक्लिरहेका छन् । कविताको गद्य शैलीबाट प्रवेश गरेर कवितामै अडेर रहने कविहरु सारै थोरै मात्र छन् ।

पद्य कविताबाट लेखनयात्रा प्रारम्भ गरी त्यसैमा अडिरहेका एक कवि लालगोपाल सुबेदी चालिसको दशकदेखि नेपाली कविताप्रेमीहरुले चिनिल्याएको नाम हो । लामो अवधिको अमेरिका प्रवासपछि उनी फेरि एकपल्ट सुन्दर कविताकृतिका साथ देखापरेका छन् । पछिल्लो कालमा यिनी कविताका गद्यपद्य दुवै फाँटमा एकैसाथ देखा परेका छन् । अनुभूति र चेतनालाई संतुलित शब्दशिल्पीका साथ सिंगार्ने लामै अभ्यास गरेको अनुभूत हुन्छ ।

पानी योगमाया र इन्दे्रणी यिनको नयाँ काव्यकृति हो । कृतिको नाम लामो भए पनि विषयवस्तु र भावपक्ष एकदम नै अर्थमय छ । उन्चालिसवटा स्वतन्त्र शीर्षक भएको यो कृति कवितासंग्रह जस्तो लागे पनि काव्यका तत्वले भरिपूर्ण छ । एकएकवटा शीर्षकका कविताहरू मात्र पढे पनि स्वतन्त्र कविताको छुट्टै रसास्वादन गर्न सकिन्छ । नियमितरुपमा पढदै गए ती एकअर्कोसंग दरो गरी बाँधिएका पनि छन् ।

कृतिको मूल आशय महिलाहिंसा र मुक्तिप्रसंग हो । हाम्रो समाजमा महिलाको पूर्व र वर्तमान अवस्थाको चित्रण र त्यसबाट हुन खोजिरहेका मुक्तिका प्रयत्नहरुको मिहिन उल्लेख छ । विषयको गद्यात्मक शक्तिलाई काब्यमय बनाउन गरिएको परिश्रम सबभन्दा प्रसंशनीय छ । यसो त कविताले उठाएका मुद्धाहरु अब उति नयाँ होइनन् । नारी हिंसा र विद्रोहको स्वर आज सबैभन्दा कडारुपमा सुनिन थालेको छ । अब नारीहरू आफै नै आफ्ना बारेमा बोल्न र लेख्न सक्ने हुन थालेका छन् ।

यो कृतिमा नारीको जीवनको तरलतालाई जुन प्रकारले व्याख्या गरिएको छ, त्यो नै कृतिको नयाँपन हो । बिचार र विषय प्रचलित सन्दर्भबाटै उठाइएको भए पनि त्यसलाई प्रस्ुत गर्ने कला नै लालगोपालको मौलिक विशेषता हो । उनको दोस्रो नयाँ कृति सबाल्टर्न पात पनि यिनै गुणहरुले परिपूर्ण छ ।

पानी योगमाया र इन्दे्रणीको सुरुवात मंगलाचरणबाट गरिएकाले पनि पाठको पठन प्रवेश काब्यात्मक बन्दछ । फेरि प्रत्येक कविता स्वतन्त्र पठनको हक पनि राख्न खोज्छन् । जुनसुकै पृष्ठको जुनसुकै कविता पढे पनि उस्तै रस प्राप्त हुनु र सिध्याउनै मन लाग्नु कविको पाठकलाई बाँध्न सक्ने क्षमताको कला हो । सिधै खोजे आख्यान भेट्न गारो छ तर पढ्दै गयो भने सिङ्गो कथाको अध्याय नै उघ्रिन थाल्छ । बादलसंग घामले लुकामारी गरेजस्तो आख्यान देखिदै हराउँदै गरिरहन्छ अन्त्यसम्म नै ।

योगमाया एक ऐतिहासिक पात्र हुन, तर त्यस्ति ऐतिहासिक पनि होइनन् कि जसले राज्यसत्तालाई नै उल्टायो । तैपनि त्यो युगमा त्यो तहको विद्रोह पनि अकल्पनीय नै थियो । त्यो एक आध्यात्मिक विद्रोहजस्तो देखिए पनि त्यसले समाज सुधारको निम्ति ठुलो आवाज उठाएको थियो । उनको त्यो विद्रोह नेपाली महिलाको आदि विद्रोहका रूपमा चिनिन्छ । आजभन्दा झन्डै डेढ सय वर्ष अघि जन्मिएकी ती महिलाले त्यस बेला गरेको सामाजिक अन्धतामाथिको विद्रोह आश्चर्यजनक लाग्छ, जुन युगमा सतीप्रथाको नाममा नारीलाई जिवितै जलाउनुलाई जायज मानिन्थ्यो । सतीप्रथा जीवितै रहेको समाजमा पटकपटक बिधवा भएर पनि पुर्नबिबाह गर्न सक्नु र अन्त्यमा सांसारिकताबाट बिरत भई आध्यात्मिक मार्गतिर लागे पनि समाजकै पक्षमा आवाज उठाउनु अनि उनको त्यो आवाजलाई सुन्ने ठुलो समाजको निर्माण हुनसक्नु भनेको सानो कुरा होइन ।

सात वर्षको उमेरमा विवाह भई नौ वर्षको उमेरमा बिधवा भएकी उनी दोस्रो पल्ट पनि विधवा हुन पुगेकी छिन् । दोस्रो पतिबाट एक छोरी भई बिधवा भएकी उनी तेस्रो विवाह गर्न फेरि तयार भएकी देखिन्छिन् । आज त बिधवा वा छोडपत्र गरेकी महिलाले पुनः विवाह गर्नुलाई नकारात्मक आँखाले हेर्ने समाज जिवितै छ भने त्यो युगमा उनले कति संर्घष गर्नु पर्‍यो होला । भक्तिमार्गमा उभिएरै राणा प्रधानमन्त्री जुद्धशमशेर समक्ष सामाजिक सुधारका लागि माग राख्नसक्नु र ती माग पुरा नभए २४० जनाले सामूहिक अग्नीदाह गर्ने जस्तो सहासिक धम्की सरकारलाई दिने आँट आश्चर्य लाग्दो छ । पहिलो आन्दोलन तुहाइ थुनिएका उनीहरूले जेल मुक्त भएपछि पुनः माग राख्दै १९९८ मा ६८ जनाद्वारा अरुण नदीमा फाल हानी जल समाधि लिएका थिए । आज पनि विद्रोह गर्नेहरु कतिले जीउमा आगो लगाइ आत्मदाह गरी सरकारलाई असजिलो पार्ने गर्दछन् ।

यो काव्यका प्रत्येक नारीपात्रहरुलाई योगमायाको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ । आधुनिकताले सुधारका कैयौँ मार्ग खोलेको भए पनि नारी माथि आज पनि उनको स्वतन्त्रतामाथिको नकारात्मक दबाब यथावत नै छ । आज पनि घरेलुहिँसा तथा सामाजिक अपमानहरुमा खासै कमी आएको छैन । यस कृृृृतिमा कविले हाम्रो समाजमा विद्यमान नारी समस्याहरूको मार्मिक चर्चा गरेका छन् । गर्भ जाँच गरी छोरी तुहाउने आजको समाजमा नारीको अवस्था जति नै सुरक्षित माने पनि सारमा कुरा खासै परिवर्तन भएको देखिँदैन । आमा, प्रेमिका र पत्नीका लागि ठुला ठुला आदर्श गाउनेहरु किन छोरीलाई गर्भैैमा तुहाउँछन् ? गाईले, भैसीले, बाख्राले बाछी पाढी र पाठी पाउँदा खुसी हुने पुरुषसमाज पत्नीले छोरी पाउँदा किन दुखी हुन्छ ? किन ? कवि लेख्छन् ।

(क )
भन्न मन लाग्छ मलाई
पिता पनि जाली
पति पनि जाली
र पुत्र पनि जाली
अझ पिता पुत्र र पति भन्दा पनि
उहिल्यैदेखि चलि आएको
परम्परा हो महाजाली । ( पृष्ठ २४)

(ख)
यो कस्तो बचन हो बाउको ?
भन्नु हुन्थ्यो पटकपटक मेरी आमालाई
छोरो पाइस् भने पाउँछेस् खसीको टाउको ।,
म जन्मिदा पिउनु भो मेरी आमाले फर्सीको झोल
भाइ जन्मिदा भाइकी आमालाई खसी
म जन्मिदा मेरी आमालाई फर्सी ।

कवितामा नारीलाई पानीसंग तुलना गरिएको छ । पानीको रूप तरल भए पनि कहिले भल बग्छ, कहिले दह जम्छ , कहिले पोखरी हुन्छ । बग्दाबग्दै थुनिन्छ कहिले, बाफ भएर सुक्छ कहिले । नारीभित्रको सिर्जनशीलता र संघर्षशिलता सधैँ कुण्ठित भइरहेको हुन्छ । नदीजस्तो बग्न चाहने नारी मन दहजस्तो पोखरीजस्तोमा थुनिएर, मैलिएर त्यत्तिकै कुण्ठित भइरहेका हुुन्छन् । आज पनि उनीहरू अझै घर, सडक अफिस सबैतिर असुरक्षित अनुभव गरिरहेका हुन्छन् । कविले कृतिभरि घरेलु हिंसा, अत्यधिक श्रम र अपमानका बिम्बहरु प्रयोग गरेका छन् । प्रत्येक कविता नारी मनका घाउ जस्ता छन् । काव्यमा हुने नौ रस र इन्द्रेणीमा हुने सातै रङ्ग नारीको जीवनमा घुलेर रहेका हुन्छन् । नारीको यो रूप र अवस्थालाई नबुझेसम्म घरभित्रैबाट उनीहरू सधैँ असुरक्षित भइरहने छन् ।

कृति आख्यानात्मक भएर पनि स्वतन्त्र कविताहरुको सङ्ग्रह पनि छ । छन्दबाट चिनिएका कवि लालगोपालले गद्यमा आफ्रनो कलमलाई जुन शक्ति प्रदान गरेको भेटिन्छ त्यसबाट उनमा बौद्धिकता र कलाले फरक ढङ्गबाट पनि प्रवेश गरिरहेको बोध हुन्छ । पछिल्लोकालमा नेपाली परिवेशभित्र कविताको शक्ति देखाइरहेका समकालीन पुस्तासंग लालगोपाललाई सहजै दाँज्दै फरक चिन्तनका साथ पत्याउन सकिने ठाउँ पुस्तक भरि भेटिन्छन् । कवितामा लीलाबोधको चेतना प्रवेश गराएर पनि फरक स्वाद दिन सकेको भेटियो । इतिहास, दर्शन, राजनीति, भूगोल र चेतनासंग खेलिएका उनका कविताले पठनमा नयाँ स्वाद बोकेका छन् ।

नारीलाई पानी र इन्दे्रणीसंग तुलना गर्दै तिनीभित्र रहेको धैर्य, सहनक्षमता, रङ्ग र तरलतालाई सनातन बिम्बको रूपमा प्रस्तुत गर्दा यो कृतिले, पाठकभित्र एकप्रकारको तरङ्ग उत्पन्न गर्छ ।

खाँदिएका वाक्य, सूत्रात्मक प्रस्तुति, सुक्तिमय बिम्ब, उनका कविताका शक्ति भएर उभिएका छन् । लामो समयसम्म देशभन्दा टाढा रहेर पनि उनमा भूगोलबाट चुँडिएको र समसामयिक सूचनाहरुबाट एक्लिएको बोध हुँदैन । राष्टियताबाट उठेर सार्विक चिन्तन गर्न सफल यी कविताले लालगोपाललाई फेरि एकपल्ट नयाँ स्वरको कवि बनाएर उभ्याएको छ ।

 

Published on July 31, 2017 at 6:41 pm

Loading...

यसमा तपाइको मत