अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

भनिदिनु उनीहरूलाई

ध्रुव थापा २०७४ साउन १६ गते १:५४ मा प्रकाशित

साथी!
यस वर्ष पनि म आउन सकिन
भनिदिनु उनीहरूलाई मरुभूमीबाट
एउटा पत्र पठाएको छु
दुखका अक्षर कोरेर।

भनिदिनु अझै सपनाहरू पठाउनु
दुख्ख साट्न
मेरो पत्र मा तातो बालुवाको राप छ
मेरै नेपालीको मृत्यु शोक
मनाएर सुतेको रात छ।
विश्वासको सम्झौता पत्र मा
मृत्यु का हस्ताक्षर हरू छन्
भनिदिनु उनीहरू लाई
आर्यघाटमा लाशहरुको आगो ताप्न जानु
एक भारी बाकस बोकेर
जहाज आउँदैछ काठमाडौँ ।

मेरो पत्रमा भोका पेटहरुको आलाप छ
बाझो जोत्दा जोत्दै हिल्याऊन बाकी
मेरो खेतको तिर्खा छ
धेरै भयो मेरो खेतमा मङ्सिर नआएको
भनिदिनु उनीहरू लाई
बाझा गर्हा हरुमा गोली फल्ने रूख रोप्नु
मरुभूमिबाट लास नफर्केको बेला
त्यतै मान्छे ढालेर आगो ताप्नु र जाडो छेक्नु।

माटोमा नङग्राहरू गाड्दा पनि
अलिमा उभिन कहिल्यै सकेन जीवन
हाम्रो पसिनाको आबादी जमिनमा
भिजिलान्ते हरूको घर बन्दैछ रे
मेरा बाबु लाई शरणार्थी भनेका छन्
बसाई सर भनेका छन् तिनीहरूले
मैले आक्रोस मिसाएको छु पत्र मा
भनिदिनु उनीहरूलाई
लगाईदिनु आगो हाम्रा झुप्रा हरुमा
मारिदिनु मेरा साना बचेराहरु
र बनाउनु राजनीतिक खेल मैदान।
धेरै भयो मेरी दिदी र बहिनीले
दर खाएर मेरो आगनमा ननाचेकोको
बर्षौ भयो मेरी आमाले
दसैँमा अक्षता नभिजाएको,
तिहार हरुमा मखमली हरू सुके पछि
रोप्दिनन् अचेल मेरी दिदी ले
सुक्न का लागी ती फुलहरू
भनिदिनु उनीहरूलाई हाम्रा चाड हरू
लिएर जानु र सिंहदरबार मै मनाउनु।

मान्छे बेच्ने व्यापारी
कमिसन खाने सरकार
हामीले देख्यौ टेलिभिजनमा।
उनीहरू मूल्य गर्दैथिए अरबिहरु सङ्ग
खेत खन्दै गरेको मेरो भाइ र
घास दाउरा बोकिरहेकी मरी बहिनीको।

म तातो बगरमा जीवनका कन्दमुल
खोजिरहेको बेला
मेरो देशका एकहुल डाफेहरु यहाँ
बकुल्ला र हुटिट्याउँ सङ्ग मित लाउदैछन
मेरो तातो छाती टेकेर आकाश हेर्दै
अझ धेरै खडेरिको कामना गर्दैछन
र व्यापार को सम्झौता गरेका छन्।

परारै नदिहरु रातै बगेपछि
मान्छेबारीमा बल्ल अङकुराएका
कलिला मान्छेहरू टिपेर बिक्री लागी
ट्रक भरेर राजधानी ल्याऊदैछन अरे
पहिले बेचिएका एक डफ्फा हरियो जीवन
इराक मा रगत पोखेर
पहेलो मृत्यु को जुलुस बनेर आउँदैछन
भनिदिनु उनीहरूलाई
गाउँ गाउँ बाट मान्छे बेच्नु कमिशन र
रेमिट्यान्सले
अझै घरको उचाइ बढाउनु।

वरिपरि डुल्ने मृत्युले
कब्जा गरेको छ मेरो राहदानी
म यसपालि पनि आउन सक्दिन
मैले बालुवा मा भेडिगोठ सार्नु छ
मरूभूमिमा ऊँट दुहुनु छ
मृत मेरा भाईहरुको लास गन्नु पर्छ
बाकसमा भर्दै घर पठाउनु पर्छ।
भनिदिनु उनीहरूलाई लास फल्ने
मरुभूमि अझै खोज्नु र जिऊदा
मान्छेहरू बेचिरहनु बेचिरहनु।।।।।