लघु कथा – दिप्ती Dipti

सधैँझैँ बाटोतर्फ फर्किएको झ्याल खोलेर म त्यही झ्याल बाहिरको दृश्य तर्फ़ रमाउंछु आजपनि । छुट्टीको दिन त्यसै पनि रमाइलो त्यसमाथि घाम को किरणले धरातलनै उज्यालो बनेको छ आज । लाग्छ सुनौलो बिहानी र त्यसमाथि छरछिमेकी र वरिपरि हिँड्ने पैदले र बाहनको आवाजले सबैको व्यस्तताको भान गराएकोछ ।

आखाले भ्याइञ्जेल सबैतिर नियाल्छु र आनन्द लिन्छु म । तर मेरा नजरहरु एक जानअ मान्छेलै पर्खिरहेको छ । त्यो मान्छे मेरो मानसपटलमा धेरै जसो ईरहने मान्छे हो । खै किन नचाहदै पनि अन्तत मेरो ध्यान र बिचार ऊ तर्फा नै अधिन्छा सधैँ । ऊ बारे प्रश्न उत्तर गर्न मन लग्छ आफैलाई । लाग्छ मेरो जीवनको कुनै पाटो त्यस व्यक्तिसँग कतै न कतै गएर ठोक्किन्छ ।

हो, मेरो र उसको उमेर उस्तै हो । हामी सँगै पढ्छौं । स्वभावले म कम बोल्छु । ऊ सबैसँग समान भावले खुलेर बोल्छे । उसले केटा केटी, ठुला, साना, बुढो तन्नेरी कोही छुट्याउदिन । सबैसँग खुलेर हाँस्ने र बोल्ने कला उसमा भरिपूर्ण छ । त्यो कला उसले कसैबाट उधार लिएकी होइन । तर त्यो कलामा आफूलाई सधैँ कम्जोर ठान्छु म । ऊ क्लासको ढोकाबाटनै पस्दा मलाई देखि हाली भने खिसिक्क हाँस्छे मसँग । छिमेकी र क्लासको साथी पनि भएकीले परिचयात्मक उसको मुस्कान नौलो हैन । म पनि त्यो मुस्कान उसलाई फर्काउछु तर उसको भन्दा मेरो मुस्कानमा केही खल्लोपन महसुस गर्छु धेरै जसो । जवाबी मुस्कान मेरो केवल औपचारिकता मात्रको लागि जस्तो लाग्छ मलाई नै ।

उसलाई देख्दा एउटा कल्कलाउदो उमेरको प्रतीक देख्छु म । जसरि फक्रिएको गुलाबमा भवराहरु लट्ठ पर्दछन त्यसरी नै फ़क्रिएकि छे ऊ । सलक्क परेको जीउ, हसिलो मुहार । उसले आफ्नो कपाल हातले मुसार्दा नागबेली भई त्यो हात शिर देखि कम्मर सम्म सल्बलाउछ । अनि म कता कता जलन महसुस गर्छु त्यस पात्रलाई देखेर । म आफू त्यस केटीसँग मनमनै तुलनात्मक जोड-घटाउमा केही अल्मलिंछु । हो म पनि आफूलाई केही मात्रामा सुन्दर नै ठान्छु , ऊ जत्तिकै चम्किलो पनि छु देख्दा । कम्मर छुने केश मेरो पनि त छ तर उसको जस्तो नागबेली चुल्ठो नभएको जस्तो लाग्छ । पढाइमा अब्बल नभएपनि उत्तीर्ण भएकै त छु । ऊ चाही अब्बल नै छे र क्रियाशील पनि । बिध्यालयमा हुने गरेका नाचगान, खेलकुदमा ऊ प्रथम नभएपनि भाग लिने उत्सुकता र आँट उसमा भरिपूर्ण हुन्छ । मलाई पनि रहर नहुने हैन तर किन हो सबैका अगाडी आफूलाई प्रस्तुत गर्न ममा त्यत्ति साहस हुँदैन । तर मलाई चाही ऊ पर्फेक्ट लाग्छ । सुन्दर अनुहार, आक्टिव, र मिजाशिलो स्वभाव छ उसको अनि बैशालु जोबन । त्यसैले त घर वरिपरिका ठिटाहरु उसलाई राम्रोसँग नियाल्छन् ।

मलाई लाग्छ उसको रूप र हाउभाऊमा धेरै लट्ठ छन् । हुनपनि किन नहोस उसका मिलेको दन्तलहरबाट निस्केको मुस्कान उसको आकर्षण हो । त्यसो त त्यही उमेर बैँस ममा पनि नभएको हैन तर किन हो ऐना हेर्दा म आफूमा त्यो चम्किलोपन भेट्टाउन विफल हुन्छु, अनि त्यही जोड-घटाउमा अल्मलिन्छु ।

हुन त प्रकृतिले सबैलै एकै किसिमको बनाएको भए के मज्जा हुन्थ्यो होला र ? यस्तै कुराहरू मस्तिष्कका हरेक कुनामा पछार्दै मेरा आखाँहरु बारीपट्टि घरको तलपट्टि उभिएर हात हल्लाउदै मुस्काउदै गरेको त्यो केटीमा टक्क गएर रोकिन्छ । म फेरि झस्किन्छु । कस्ती म ? के के सोच्छु उसका बारेमा ऊ भने मलाई साथी र छिमेकी ठान्छे , म भने …………कहिलेकाहीँ लाग्छ मेरो ऊ प्रतिको जलनभरि हेराई के उसले महसुस गर्छे होली ? सायद ऊ येसकुराका निम्ति बनेकी हैन त्यसैले त ऊ आफ्नै धुनमा मस्त रहन्छे , रमाउछे । मनमा उम्रिएका यस्ता पाङ्ग्पुछर नभएका सोचलाई एकैछिन ठप्प पार्दै म पनि उसलाई हात हल्लाई मिठो हाँसो फर्काउछु । खै किन आज मलाई ऊ प्रतिको मेरो हासों अलग लाग्छ, केही राम्रो किसिमको र परिबर्तित हाँसो । त्यसपछि त्यो झ्याललाई छोडेर म तलतिर लाग्छु ।

Published on July 25, 2017 at 12:04 am

Loading...

यसमा तपाइको मत