अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

नेपालका दीप श्रेष्ठ र न्युयोर्ककी नदिया लिवाङ्गको “त्यो पल”

बिआरटीनेपाल २०७४ साउन ४ गते १४:२३ मा प्रकाशित

पछिल्लो समय निकै नै कम गीत गाइरहेका वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत, भिडियो सहित सार्वजनिक भएको छ । न्यु योर्क निवासी युवा साहित्यकार नदिया लिवाङ्गको रचनालाई गायक श्रेष्ठले आफ्नो स्वर दिएका हुन् । “त्यो पल” भन्ने गीतलाई स्वर र सङ्गीत दिन मात्रै गायक श्रेष्ठले ३ महिना लागेको बताए । 

“ यो त अझ छिटो बनेको हो ,” उनले हाँस्दै भने । “ मलाई त प्रायः गीतलाई बनाउन कम्तीमा पनि ६ महिना लाग्छ ।” गीतका रचनाकार नदिया लिवाङ्गलाई पहिले देखि नै चिनिरहेको र पछिल्लो समय उनको साहित्यिक पाटो देखेर आफू छक्क परेको गायक श्रेष्ठको भनाई थियो । 

“नदियालाई म पहिलेदेखि नै चिन्थें, उनीसँग हाम्रो पारिवारिक सम्बन्ध पनि छ,” उनले भने । “पछिल्लो समय उनको साहित्यिक क्षमता देखेर म त अचम्ममा नै परेको छु ।”

साहित्यकार नदिया लिवाङ्गले भने आफ्नो रचना दीप दाइलाई सुरुमा दिन अप्ठ्यारो लागेको बताइन् । “ दाइले मलाई बच्चा देखि चिनेको, बच्चा नै सोच्नु होला भन्ने लागेको थियो ,” लिवाङ्गले हाँस्दै भनिन । “ मेरो गीत देखेर उहाँले ‘ तिमी राम्रो लेख्न थालेछौ ’ भन्दा म त खुसीले गद्गद् भए । ” 

यसअघि ‘चित्कार’ भन्ने कवितालाई भिडियो मार्फत प्रस्तुत गरेकी लिवाङ्गले गत वर्ष अमेरिकामै पहिलो पटक न्युयोर्कको अफ ब्रड वेमा मञ्चन भएको नाटक ‘जोडियोस् भत्किएका मनहरू’ मा अभिनय समेत गरेकी थिइन् ।

“त्यो पल” भन्ने गीतलाई पछिल्लो समय न्युयोर्कमै रहेका पत्रकार अनुज थापाले छायाङ्कन र निर्देशन गरेका हुन् भने सम्पादन नेपालमा रहेका टेकेन् शाहले गरेका हुन् ।

गीत हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

 

 

प्रतिक्रिया