अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

बिजलपुरा-जनकपुर हुँदै भारतको जयनगर चल्ने रेलको इन्जिन र डिब्बा खरिदका लागि ३ अर्ब रुपैयाँ माग

बिआरटीनेपाल २०७४ साउन ३ गते २०:२१ मा प्रकाशित

सरकारले बर्दिवास भन्दा केही पर बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ । यसका लागि रेल्वे विभागले सरकारसंग तीन अर्ब रुपैयाँ माग गरेको छ ।

रेलवे विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायका अनुसार पहिलो चरणमा यात्रुवहाक र मालवहाक रेलका दुई/दुई वटा इन्जिन र १८ वटा डब्बा खरिदका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्नेछ । ‘हामीले अनुमानित लागत तयार गरी सरकारसंग (भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालय) रकम माग गरेका छौ,’ उनले भने ।

पहिलो चरणमा यात्रुवहाक रेलका दुईवटा इन्जिनमा ६/६ वटा डब्बा जोड्ने प्रस्ताव गरेको रेलवे विभागले मालवहाक इन्जिनमा कन्टेनर र अन्य सामाज बोक्न मिल्ने १२ वटा डब्बा खरिदको प्रस्ताव गरेको छ । रेल्वे सञ्चालनमा आएपछि विस्तार हुने यात्रु र व्यापारको चाप अनुसार ती इन्जिनमा थप डब्बा जोड्न सकिन्छ ।

मुअब्जा विवाद समाधानमा भएको ढिलाइका कारण बर्दिवास–बिजलपुरा खण्डको काम सुरु नभए पनि बिजुलपुरा–जनकपुर–जयनगर खण्डमा माटोको काम (रेल कुद्ने बाटो निर्माण) पूरा भई लिक राख्ने स्लीपर जडान गर्ने काम भइरहेको छ । निर्माणाधिन रेल्वेमध्ये ३ किलोमिटर मात्रै भारतीय भूमिमा पर्छ ।

नेपालमा ‘सिंगल गेज’ को रेलवे सञ्चालनको इतिहास भए पनि ‘ब्रोडगेज’ को रेल कुदाउने यो पहिलो प्रयास हो । ‘सिंगल गेज’ मा बिजुलपुरा–जनकपुर–जयनगर र अमलेखञ्ज–वीरगञ्ज–रक्सौलको यात्रुवहाक रेल सेवा इतिहासमा सिमित छ भने नेपालमा एक किलोमिटर भन्दा कम दुरीको मालवहाक रेलवे (वीरगञ्ज– रक्सौल) मा मात्रै सञ्चालनमा छ ।

१९९४ सालमा तत्कालीन ब्रिटिस भारतले महोत्तरी जंगलबाट सखुवाका गोलिया ओसार्ने प्रयोजनका लागि निर्माण गरेको ५२ किलोमिटर लामो रेलवे नै कालान्तरमा यात्रुवहाक बनाइएको थियो । २०५९ बाढीबाट विग्ही पुल क्षतिग्रस्त भए पछि जनकपुर–जयनगर (२९ किलोमिटर)मा सिमित रेलवे सेवा ४ वर्ष अघि पूर्णत बन्द भएको थियो । त्यही ‘सिंगल गेज’ को पुरानो संरचना विस्थापित गरी निर्माण भइरहेको ‘ब्रोडगेज’ को रेल महोत्तरीको बर्दिवासमा नेपालले आफैले अध्ययन सुरु गरेको पूर्व–पञ्चिम विद्युतीय रेलवे सञ्जालमा जोडिने रेलवे विभागका अधिकारीहरु वताउँछन् । विद्युतिय रेल्वेका लागि बर्दिवास–लालबन्दीखण्डमा धमाधम संरचना निर्माण भइरहेका छन् । ‘स्टान्डर्ड गेज’ को उक्त रेलवे पूर्व–पश्चिम सिमा छिचोलेर नेपाल अन्तर्राष्ट्रिय रेलवे सञ्जालमा जोडिन सक्छ ।

भारतीय रेलवे सञ्जालसंग जोडिने अर्को नाका जोगवनी–विराटनगर (१९ किलोमिटर) खण्डको रेलवे निर्माण भने मुअब्जा विवादमै अल्झिएको छ । भारतीय सहयोगमा निर्माण हुने जलपाइगुडी–काँकडभिट्टा (७० किलोमिटर), नौतनवा–भैरहवा (१२ किलोमिटर) र रुपडिया–नेपालगञ्ज (१५ किलोमिटर) रेलवे निर्माणको पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । ‘ती सेक्टरमा पनि छिटै काम सुरुवात गर्ने तयारीमा छौ,’ इन्जिनियर उपाध्यायले भने । आजको कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू