अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

डा केशव पौडेल नै एनआरएनए अमेरिकाको अध्यक्ष फेरि किन ?

बिआरटीनेपाल २०७४ साउन ३ गते ११:२८ मा प्रकाशित

सुभाष घिमिरे, 

एनआरएनए अमेरिकाको निर्वाचनले अमेरिकाको प्रवासी नेपाली बजार तातेको छ। वर्तमान अध्यक्ष डा केशव पौडेलले पुन: उम्मेदवारी दिने घोषणा गरेदेखि नै निर्वाचनको पारो ह्वात्तै बढेको अनुभव हामी सबैको साझा अनुभव हो।

कलेस्ती तनहुँको ग्रामीण परिवेशमा जन्मिएर हुर्केको एउटा व्यक्तिले न्यू मेक्सिको लभलेस हेल्थ सिस्टम अल्बकर्कीको सिनियर मेडिकल डाइरेक्टरसम्मको यात्रा तय गर्दाको दौरानको सङ्घर्षको कथा डा. पौडेलको व्यक्तिगत कथा भए पनि त्यसमा कुनै न कुनै रूपमा हरेक प्रवासी नेपालीले आफ्नै कथाको प्रतिनिधित्व भएको पाउँछ । नेपाली जातिको इमान्दारिता, लगनशीलता र मिहिनेत जस्ता चारित्रिक विशेषतालाई डा. पौडेलले सात समुद्रपारि अझ बढी परिचित गराएका छन् । नेपाली डायस्पोराका सर्वाधिक सफल र चर्चित मध्येको एउटा व्यक्ति भएर पनि उनी उत्तिकै शालीन, भद्र , सहज र सरल छन् । दंभको लेस मात्र पनि गन्ध पाइँदैन उनमा । “मान्छे आफ्नो आस्था र संकल्पले यथार्थमा मान्छे हुन्छ” भन्ने जननायक वीपी कोइरालाको आदर्श झैँ डा पौडेलले संकल्प गरेर लोककल्याणको महान् यात्रामा आफूलाई समर्पित गरेका छन् । २०७२ को महाभूकम्पको बेला एनआरएनए मेडिकल टिमको नेतृत्व गर्दै पराकम्पनले हल्लाइरहेको मातृभूमिको दूरदराजका गाउँमा गएर अहोरात्र खट्नुलाई डा पौडेलको मानवताको उच्चतम उदाहरण मान्नैपर्दछ।

चाहे अमेरिकाबासी नेपालीलाई टिपीएस सुविधा दिलाउन वा त्यसको नविकरण गराउन चालिएको अभियान होस्, चाहे नेपालको संविधानको प्रस्तावित ड्राफ्टको लागि नेपाली नागरिकताको निरन्तरताको बुलन्द माग सहितको सुझाव सङ्कलन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने काम नै किन नहोस् डा पौडेलको अथक प्रयासको इमान्दारिताका साथ सराहना गर्नैपर्दछ।

आफ्नो प्रतिबद्धता बमोजिम उनले आफ्नो कार्यकालमा देवघाट धाममा वृद्दाश्रम निर्माणको लागि रकम सङ्कलन गर्ने काम मात्र गरेनन् , आफैले निर्माण कार्यको शिलान्यास पनि गरे । २०७२ को महाभूकम्पको बेला आफ्नै नेतृत्वमा अमेरिकाबाट आकष्मिक रकम सङ्कलन गरी भूकम्प पीडितका लागि अत्यावश्यक औषधि उपलब्ध गराउन नेपालमा रकम हस्तान्तरण गर्ने कामको नेतृत्व समेत गर्ने डा पौडेलको परोपकारी मनको उच्च मूल्याङ्कन सहित तारिफ गर्नैपर्दछ।

भूकम्पको मारले थलिएको मातृभूमिमाथि निष्ठुरतापूर्वक लादिएको अमानवीय भारतीय नाकाबन्दीको विरोधमा अमेरिकाका विभिन्न स्थानमा विरोध कार्यक्रमको आयोजना गर्ने कार्यको नेतृत्व र उक्त नाकाबन्दीको विरोधमा संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गर्दै महासचिव बान्की मुनलाई ज्ञापन पत्र दिने कामको नेतृत्व पनि उनैले गरे । यस बाहेक विश्वभरका एनआरएनलाई समेटेर “भिजन २०२० एण्ड बियोण्ड” को उद्देश्य सहितको क्षेत्रीय सम्मेलन अमेरिकामा सम्पन्न गरी संकलित करिब रु एक करोड रकम नेपालमा एनआरएनए भवन निर्माणको लागि हस्तान्तरण गर्ने कार्यको सफल नेतृत्वको लागि पनि डा केशव पौडेलको क्षमताको कदर गर्नैपर्दछ।

अत्यन्त न्यून सदस्य सङ्ख्याबाट सुरु भएको एनआरएनए अमेरिकाको सङ्गठन विस्तार भई डा पौडेलको नेतृत्वमा हाल करिब सत्र हजार नेपाली यस सङ्गठनमा आबद्ध भएका छन् भने डा पौडेलले कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य लगायत सल्लाहकारहरू समेतको जिम्मेवारी बाँडफाँड गरी संस्थालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न क्यालेण्डर अफ अपरेशनको समेत सुरुआत गरेका छन् ।

आफूसँग चुनावी प्रतिस्पर्धामा रहेका साथीहरूको मुद्दा मामिला लगायत आफ्नै कार्यसमितिबाट विभिन्न झंझट बेहोरेका उनी अर्को एक कार्यकाल निर्धक्क भएर काम गर्न चाहन्छन्। आगामी कार्यकालको लागि आफ्नो योजना सहितको घोषणा-पत्रका साथ उनी चुनावी मैदानमा होमिएका छन् । उनलाई अर्को एउटा मौका दिनुपर्छ भन्ने कुरामा आम अमेरिकाबासी आप्रवासी नेपालीहरूबीच मतेक्य हुँदै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू