अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

२९ ठाउँ पहिरोको जोखिममा नारायणगढ-मुग्लिन सडकखण्ड

बिआरटीनेपाल २०७४ साउन १ गते २१:०० मा प्रकाशित

‘प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने। दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे।

‘बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ’, उनले भने ‘ज्यानको माया मारेर हिँड्नुपरेको छ।’ खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ। यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन। पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन। सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो। त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो। त्यसपछि पनि दुईपटक म्याद थपिएको छ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो। सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ। अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ। वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन्। कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताए।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ। ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ। खाल्डो नपुर्दा जोखिम बढेको छ। गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताए। ‘भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन’, घिमिरेले भने, ‘सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन। समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर।’ उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उहाँले गर्नुभयो। गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन्। उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ। ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन्। सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन्। आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो। इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै लाग्न थालेको बताउनुभयो। ‘बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो’, उनले भने

प्रहरीको टोली पहिरोको अपडेट गर्न केन्द्रित देखिएको छ। मुग्लिन प्रहरीको काम नै अहिले पहिरोकेन्द्रित छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र एसपी दीपक थापाले अनुगमन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक सरोकारवाला पक्षसँग छलफल गरिएको छ। ‘कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी त्यसमा सजग छन्’, चितवनका एसपी थापाले भने, ‘जोखिम बढेकाले अहिले सबै ध्यान त्यतै केन्द्रित गर्नुपरेको छ।’

कहाँ पहिरो खस्छ भन्ने नै यकिन हुँदैन। सबैभन्दा बढी डर अचानक खस्ने पहिरोकै हुन्छ। पहिरो नजाने भन्ने क्षेत्रमा पनि पहिरो झरेको छ। व्यवस्थापिका- संसदन्तर्गतको विकास समितिको टोलीले स्थलगत अनुगमन गरी पहिरोको जोखिम बढी भएको र रातको समयमा सवारी चलाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो। यो सडकखण्डमा दैनिक ८ देखि १० हजार गाडी गुड्छन्। मालवाहक साधन बढी गुड्ने गरेका छन्।

सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ। एक सय ३८ वटा ठूलो पहिरो खसिकेको छ। पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन्। पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो। एक जना बेपत्ता छन्। झरी पर्नासाथ पहिरो खसिहाल्छ। अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन्। अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ। आजको अन्नपूर्णमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू