अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

नेता रामहरि जोशीको निधनप्रति नेपाली कांग्रेसको आकस्मिक बैठकले शोक प्रस्ताव पारित सहित गरेका निर्णय

बिआरटीनेपाल २०७४ असार ३० गते ५:५२ मा प्रकाशित

ललितपुर , ३० असारनेपाली कांग्रेसको स्थापनाकाल देखी नेपाली राजनितीमा महत्वपुर्ण योगदान पुर्याएका नेता रामहरी जोशीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुख ब्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्कीक बैठकले आज निधन भएका नेता रामहरि जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै उनको योगदानको कदर स्वरुप महत्वपुर्ण २ निर्णयहरु गरेको हो ।

 

नेपाली कांग्रसको आकस्मिक बैठकले गरेका निर्णयहरु:

१) नेपाली कांग्रेस पार्टीको स्थापनाकालदेखिका श्रद्धेय नेता रामहरि जोशीको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गर्नु हुने श्रद्धेय जोशी लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्ति हुनुहुन्थ्यो । पार्टीको वैचारिक र ऐतिहासिक पक्षमा सधै वहस र योगदान गर्दै २०४८ सालमा मन्त्रिको भूमिकामा सरकारमा सहभागी हुँदा समेत सुदृढ नैतिक व्यवहारले पार्टी पंक्ति र नेपाली जनमतलाई श्रद्धेय जोशीले गहिरो ढंगले प्रभावित गर्नु भयो । केन्द्रको राजनीतिको आकर्षण भन्दा गाउँ र जिल्लाका जनताहरुलाई लोकतान्त्रिक आन्दोलन, अहिंसा र शैक्षिक चेतनाको क्षेत्रमा समेत उत्प्रेरित गर्ने नेताको रुपमा परिचित हुनुहुन्थ्यो । पार्टीको स्थापनाकालिन नेता श्रद्धेय रामहरि जोशीको निधनबाट मर्माहत भएका कांग्रेसको समग्र नेतृत्व पंक्ति र साथीहरुको भावनालाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक श्रद्धेय जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै,शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

२) नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा स्वर्गीय रामहरि जोशीप्रति सम्मान प्रकट गर्दै २०७४ असार ३०, ३१ र श्रावण १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउनुका साथै श्रावण १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गर्दछ ।
 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू