अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

फेरि गर्वभती बनिदेऊ

राधा रिजाल २०७४ असार २९ गते १७:१० मा प्रकाशित

सगरमाथाको शिरमा
चाउरिएका धर्सा
पहाडको छातीमा
अस्थिर राजनीतिको पुरानो दम
ख्वाक्क-ख्वाक्क खोक्दा
करङहरूबीच देखिने मानचित्रको आकृति
हिमालको मुटुमा
सङ्घीयता, विखण्डन र विभाजनको
निकै नहुने क्यान्सर
प्राकृतिक सौन्दर्य, कला-संस्कृति अनेकतामा एकता
विभिन्न खनिज पदार्थले भरिपूर्ण
उनको मांसपिण्ड
जुन छिमेकका निर्लज्ज साँढेहरु डुक्रँदै
बुट बजार्दा थिलथिलिएको छ
त्यही पनि हानथापमै
बिलो लगाइरहेछन् मुलुक निर्माणकर्ताहरू ।

तराईको ढाडमा
गृहयुद्धले भाँचिएको मेरुदण्ड
टुक्रा-टुक्रामा विभाजन भई थलिएकी
नदी-हिमनदी झैँ लालीगुराँसको रङ बोकी
नसा-नसामा दौडने रातो रगतमा
अन्याय र अत्याचार, सुगर र प्रेसर
त्यही पनि कोसी, कर्णाली र गण्डकीको नाउँमा
खल्ती भरिरहेछन्
जलस्रोत र ऊर्जाशील महामहिमहरू
मेची-महाकालीको पहरा दिने
खम्बाजस्ता हातखुट्टाहरूमा
जन्मसिद्ध नैंसर्गिक अधिकार खोसिई
भरौटेपन र पछौटेपनको जन्जिर ।

उफ ! लाग्दै छ उनी उठ्दिनन् अब
अर्धमूर्छित उनी चिर समाधिमा विलीन हुँदै छिन्
चेतशून्य, भावशून्य, कल्पनाशून्यभन्दा अर्को शून्य
महाशून्यको तयारीमा छन्
बिन्ती ! आमा तिमी चिर निद्रामा
निदाउन पाउने छैनौ
सोच्नै पर्छ, उठ्नै पर्छ हाम्रा खातिर
भूगोलमा हामी अस्तित्वविहीन बन्दै छौँ
विश्वको मानचित्रमा गुमनाम हुँदै छौँ
तिमीले ब्यूँझनुपर्छ, तिमी आमा हौ
तिम्रो कोखबाट सीता र भृकुटी जन्मे
बुद्ध, अमर सिंह, भक्ति थापा र अन्य सपुत जन्मे
र त नेपाल फुलेथ्यो, फलेथ्यो
शान्ति र अमनचयनको कोपिला लागेर
दुई ढुंगाबीचको तरुल जोगाउन
सदैव सतीसाल झैँ उभिएकी थियौ
सानो भई हेपिनुको व्यथा तिमीबाहेक को जान्ला ?
गरिबै भए पनि आत्मसम्मानले भरिएको
तिम्रो ओजपूर्ण अनुहार देखी संसारमा
नलोभिने को थियो र ?

सिमानाका सँधियार छिमेकीहरू
हरपल तिम्रो फाटेको चोलीमा
खिइएर, मक्किई पातलिएको गुन्यूमा
गिद्धेनजर लगाई जबर्जस्ती तिमीमाथि
स्खलित भइरहे
बदलामा देशद्रोही, नालायक जन्मिरहे
उमेर र बैँस लुटिँदै गयो तिम्रो
तर पनि समानताको आँचल फिजाई
आमा बनेर धर्म निभाइरह्यौ
अहिले तिनै कपुतहरू तिमीलाई तिम्रो कोखलाई
दोष दिँदै वेश्याको उपमा दिई
गृहयुद्ध रचिरहेछन्, भाइचारा फुटाइरहेछन्
आमा!नवयुगको मिर्मिरे भइसक्यो
न्यायका कुखुरा बासे
हिमालयको सञ्जीवनी खाऊ
सार्वभौम सत्ता, अखण्डताको खुराक खाऊ
तिम्रो रोकिएको मासिक धर्म
नियमित बनाउनु छ !

जाऊ आमा, जाऊ
खुला नीलो आकाश तिमीसँग
सुहागरातको पर्खाइमा छ
तिमी जानै पर्छ आज
राष्ट्रियताको आइरन खाऊ
स्वतन्त्रताको योगा गर
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खोप लगाऊ
एकताको निद्रा र आराम गर
शान्तिको धुन सुन्दै
बनिदेऊ एक पटक फेरि गर्भवती
र जन्माइेऊ वीरताको आगो ओकल्ने
वीर-वीरङ्गना
न्यायको हुंकार गर्ने कर्मठ
सुयोग्य सिपाही
जसले देशलाई भवसागरबाट पार लगाओस्
त्यसैले, आमा बनिदेऊ तिमी गर्भवती
एक पटक फेरि गर्भवती !!