कलम र बन्दुक — राजेन्द्र शलभ

राजेन्द्र शलभ

 

मेरो हातको कलम थुतेर
तिमीले मेरो हातमा बन्दुक राखिदियौ
बन्दुकको मोहले हो
वा तिम्रो डरले
मैले त्यो बन्दुक जोडले अँठ्याईरहेँ ।

 

तिम्रो बोलीले मलाई मोहनी लायो
तिमी मलाई भगवान जस्तै लाग्न थाल्यौ
आमाले सुनाउनु भएको
ठ्याक्कै महाभारतको कृष्णजस्तै
तिमीले भन्दै गयौ
र मैले मान्छे मार्दै गएँ
आफ्नै दाजु–भाई
अझ दिदी र आमाहरुलाई पनि मारेँ
यसरी मैले म भित्रको ‘म’ लाई पनि मारेँ ।

 

अहिले धेरै बर्षपछि
म भन्दा धेरै पर
राजधानिको कुनै मञ्चमा उभिएर तिमीले
शिक्षा र समानताको भाषण गरिरहेको
टेलिभिजनमा हेर्दैछु र सोच्दैछु —
मैले पनि पढेको भए
र मेरो नामको अगाडी पनि
डा. भै दिएको भए
के म पनि
अरुको हातबाट कलम थुतेर
बन्दुक राख्न लाउँथेँ होला ?

 

Published on July 12, 2017 at 6:01 pm

Loading...

यसमा तपाइको मत