ठूलि कान्छीले बिहे गरिछ – मणि भट्टराई

कथा:

देश केले चलेको छ त्यो उसलाई थाहा छैन । जान्नेबुझ्ने परेकाहरू रेमिट्यान्सले भन्छन् र ऊ पनि त्यसै भनी टोपल्छ । तर उसलाई यत्ति चाहिँ थाहा छ कि उसको परिवार भने उसले विदेशबाट पठाएको पैसाले नै चल्दै आएको छ । वास्तवमा देश भनेको केहो त्यो पनि उसलाई राम्ररी थाहा छैन ।

उसमा त्यत्रो देशकै बारेमा सोच्ने क्षमता थिएन । त्यसो हुँदो हो त ऊ राजनीतिमा लाग्थ्यो होला । आफ्नै बारेमा पनि नसोच्ने मान्छे ऊ । बाउले सयौँ चोटि- ‘सधैँ हाम्रो भर परेर हुन्न आफ्नो बारेमा सोच, अब ठुलो भइस्’ भन्दा डिच्च हाँस्थ्यो मात्र । जब परिवारमा खान लाउन कै समस्या हुन थाल्यो । जब ऊ आधापेट खाएर चुपचाप उठेर हिँड्नु पर्ने दिनहरू थपिंदै गए, त्यसपछि भने ऊ निक्कै गम्भीर बन्दै गइरहेको थियो । सिङ्गो परिवारमा के खाने र कहाँ बस्ने भन्ने प्रश्नहरू अग्लिंदै गएपछि उसले एक दिन अरूले झैँ विदेसिने निर्णय गर्‍यो । र ऊ विहदेशको जुन कुनामा भासिन सक्थ्यो त्यही भासियो ।

भोकका अगाडि उसले आमाबुबा भाइबैनी लगायत ठूलिकान्छिसँगको बिछोडलाई पनि सहनु नै थियो । ऊ परदेशमा भए पनि निरन्तर उसले सम्झने भनेको उसको परिवार, ठुलिकान्छि र घर वरपरको गाउँ नै हो । जब साथीहरू देशको याद आयो भन्छन् – ऊ पनि भन्न चाहिँ त्यसै भन्छ । उसलाई त्यसो भन्नुपर्ने रहेछ भन्ने लाग्छ र भन्छ । तर उसलाई खासमा याद चाहिँ उसको परिवारको आइरहन्छ । सबै भन्दा त ठुलिकान्छिको ! अलिकति निहुरिएको नाक, बाक्ला परेला, नहाँसि नबोल्ने, मिलेका दाँत, बोल्दा प्याट्ट प्याट्ट कुटिरहनु पर्ने उसको बानी ! सबले सताईरहन्छ उसलाई । उसलाई गाउँको एक्ले पिपलको याद त कति आउँछ कति । त्यही एक्ले पिपलको फेदमा पहिलो पटक ठुलिकान्छिसँग उसले डराई डराई बोलेको सम्झेर ऊ सात समुन्द्रपारी एक्लै मुस्कुराऊँछ र आफैसँग लजाउँछ ।

एक दिन सबै देश विग्रियो भनेर बहस गरिरहेका थिए । ऊ चुपचाप सुनिरहेको थियो । उसलाई भने देश किन विग्रियो भन्ने पनि थाहा थिएन, कसरी विग्रियो भन्ने पनि थाहा थिएन । खासमा देश भनेको के हो त्यो नै राम्रो ज्ञान थिएन । तर साथीहरू धेरै चिन्तित देखेर केही त भनौ जस्तो लागेर आयो र भन्यो – ‘देश विग्रियो भने पनि के छ त ? हामी आफ्नै गाउँ जानुपर्छ । उसले के सोचेको थियो भने खासमा देश भनेको राजधानी मात्र हो । अरू थप्यो – ‘देशमा त हाम्रो कोही आफ्नो मान्छे पनि छैन । हामीले किन चिन्ता गर्नु देशको ?’ धेर चिन्ता नगरौं यस्ता कुरामा । त्यसपछि पानीको बोतल तान्यो र भन्यो –
अबेर भयो अब सुतौं । भोलि बिहानै काममा जानुछ ।

सबै साथीहरू उसलाई अनौठोसँग हेरिरहेका थिए । ऊ जिस्किरहेको जस्तो पनि थिएन । वास्तवमा ऊ जिस्किएको पनि थिएन ।

साथीहरूले आफूलाई अचम्मसँग हेरिरहेको देखेर उनीहरूलाई भुलाऊन उसले गाउँका कुरा झिक्यो । आमाबुबा बुढाबुढी हुँदै गएको, रोगी भएको प्रसङ्ग ल्यायो । यसरी कुरा गरिरहँदा झन्डै रोए जस्तो भयो ऊ। आमाबुबालाई भेट्न मन लागेको कुरा गर्‍यो । यो परदेशमा कतिन्जेल बस्नु भनेर छट्पटी देखायो । लामो सास तान्यो र कोठामा यताउती घुमिरह्यो ।

उसले कुराकानीको सिलसिलामा आजसम्म साथीहरूलाई कहिल्यै नभनेको ठुलिकान्छिसँगको प्रेम पनि उप्कायो । आज फेरि ऊ एक्ले पिपलमा पुग्यो । गोजीबाट भुटेका भटमास झिकेर एकमुठी ठुलिकान्छीको हातमा हालिदिएको सम्झियो र मुस्कुरायो । साथीहरू उत्सुकता पूर्वक सुनिरहेका थिए । त्यसपछि एक वर्ष अघि नै ठुलिकान्छिको बिहे कसैसँग भएको खबर गाउँकै विक्रम भाइले भनेको विन्दुमा आइपुग्यो र रोकियो ।

सबै उसको अनुहारमा हेरिरहेका थिए । उसको गला अबरूद्द भएको थियो । अब त ठूलिकान्छीको छोरो पनि भइसकेको थियो । उसलाई एक मन ठूलिकान्छिको छोरो हेर्न मन भएर आउँथ्यो तर कसरी ? ऊ यही आएर रोकिन्थ्यो । अकमक्क हुन्थ्यो । साथीहरूले के भयो ? भनेपछि उसले एक्कासि बरर आँसु झाँर्यो र भन्यो – वास्तवमा ठूलिकान्छीको बिहे भएछ ! पगलीले छोरो पनि जन्माएकी छ रे ! मलाई एक कल फोन पनि नगरी बिहे गरीछ । त्यसलाई त मेरो सम्झना पनि आउँदैन होला । यसपछि ऊ नमिठोसँग मुस्कुरायो र भन्यो -खासमा मलाई गाउँ जान पनि मन पनि छैन आजभोलि ? किन जानु गाउँ ? बृद्दबाआमा बाहेक को छ र त्यहाँ मेरो ? के छ र त्यहाँ मेरो ? बस् त्यही विरहलाग्दो एक्ले पिपल त हो नि !

अन्तिम पटक फेरि भन्यो – सुन्यौ हैन त ‘ठुलीकान्छीले बिहे गरिछ ।’ उसले एकचोटी सबैलाई हेरेर भन्यो र कोठाभित्र गयो । एकै छिनमा सबै सुनसान भयो । कोही कसैसँग बोलिरहेका थिएनन् । यसरी एकाएक देशको पीडा ठूलिकान्छिको बिहेमा आएर टुंगिएको थियो । सबैले देश विर्सिएर गाउँ सम्झिरहेका थिए । घर संझिरहेका थिए । गाउँघरबाट आएका आआफ्ना ठूलिकान्छीका अन्तिम कलहरू सम्झिरहेका थिए ।

Published on July 9, 2017 at 10:01 pm

Loading...

यसमा तपाइको मत