नेपालको स्वयंसेवी रक्तदान अभियानका दुई योद्धा – भुषणलाल श्रेष्ठ

मलाई भर्खरै जस्तो लाग्छ, रक्तदान जीवनदानको महान् नारालाई आत्मसात गर्दै महान् अभियानमा लागेको झन्डै ३ दशक बितेको पत्तै भएन । यस अभियानमा लाग्दा समय समयमा गरेका क्रियाकलाप मेरो मानसपटलमा अझै ताजा छ ।

नेपालमा स्वयंसेवी रक्तदाताहरुबाट स्वस्थ रगत आवश्यक मात्रामा विरामीहरुसम्म पुर्याउदा ब्लड डोनर्स एशोसिएशन नेपालका संस्थापक अध्यक्ष स्व. शरद कसाः र केन्द्रीय अध्यक्ष स्व. महेन्द्र विलास जोशीको योगदान आजको सन्दर्भमा प्रस्तुत गर्न चाहन्छु ।

एकदिनको कुरा हो, रक्तदाताले दान गरेको रगत रक्तसंचार केन्द्रमा जम्मा गरी त्यहाँबाट वितरण हुन्छ भन्ने थाहा पाएपछि मलाई रक्तसंचार केन्द्रको बारेमा बुझ्न मन लाग्यो । सोही क्रममा केन्द्रका तत्कालीन जनसम्पर्क अधिकृत सूर्यकुमारी श्रेष्ठसंग भेट भयो ।

त्योे अवस्थामा अस्पताल रक्तसंचार केन्द्र अगाडि पेशागत रक्तदाता हुने र उनीहरूले आफ्नो रगत निकालेर बेच्ने गर्दछन् भनेको सुन्दा यस्तो महत्त्वपूर्ण र अत्यावश्यक जीवनरक्षक वस्तुको समुचित व्यवस्थापन गर्न अत्यन्त जरुरी भएको महसुस भयो । रक्तसंचार केन्द्रका तत्कालीन निर्देशक डा. रञ्जन सिंह र जनसम्पर्क अधिकृत सूर्यकुमारी श्रेष्ठसंग छलफल गरेर रक्तदान कार्यक्रममा सक्रिय रहेका संघसंस्थाहरुको भेला राख्ने निर्णय भयो ।

सो भेलाले रक्तदान कार्यक्रममा सबैभन्दा बढी सक्रिय संस्था नेपाल भाषा मंकाः खलःका प्रतिनिधि शरद कसाःको अध्यक्षतामा “ब्लड डोनर्स क्लब” नामक एक संस्थाकोे जन्म भयो । संस्थाका अन्य सदस्यहरूमा म, भुषणलाल श्रेष्ठ (ललितपुर लायन्स क्लब) समेत दिव्यमणी दीक्षित (विशाल मिलन केन्द्र), अच्युतराज खरेल (काठमाडौँ विशालबजार लायन्स क्लब), सुवर्णलाल लम्साल (द रेयुकाई नेपाल धोबिधारा), अर्जुनप्रसाद मैनाली (लियो डिस्ट्रिक काउन्सिल ३२५), घनश्याम प्रधान (ने.रे.सो. रक्तसंचार सेवा केन्द्र), डा. रंजन सिंह (ने.रे.सो. रक्तसंचार सेवा केन्द्र) र सूर्यकुमारी श्रेष्ठ (ने.रे.सो. रक्तसंचार सेवा केन्द्र) रहनु भयो ।

संस्थालाई सबै संघसंस्थाहरुसंग समन्वय गरी रक्तदान कार्यक्रमको तालिका बनाउने, संकलित रगत गुणस्तरिय बनाई भण्डारण व्यवस्थापन र वितरणलाई प्रभावकारी बनाउन जिम्मा दिइयो ।

उहाँबाट नेपालमा रक्तदानको कार्यक्रम आयोजना गर्ने सङ्घ संस्थाहरू सक्रिय रहेको तर त्यस्ता संघसंस्थाहरुले विशेष दिवस तथा सार्वजनिक विदाहरुमा मात्र कार्यक्रम आयोजना गर्नाले कुनै समय रगत अत्यधिक जम्मा हुने र कुनै समय रगत नै नहुने अवस्था रहेको जानकारी प्राप्त भयो ।

त्यति मात्र होइन एकै पटक धेरै रगत सङ्कलन गर्दा श्रोत र साधनको अभाव, प्राविधिक र भण्डारण तथा व्यवस्थापनको समेत समन्वय गर्न नसक्दा कुनै समय रगत बढी भई खेर जाने र कुनै समय ज्यादै अभाव भएर बिरामीको आफन्तहरुबाट जबरजस्ती निकाल्नु पर्ने अवस्था रहेको समेत थाहा भयो ।

यस संस्थाको उद्देश्य शतप्रतिशत स्वयंसेवी रक्तदाताबाट स्वस्थ रगत आवश्यक बिरामीलाई उपलब्ध गराउने पूर्ति गर्नका लागि संस्थापक अध्यक्ष श्री शरद कसाः तथा त्यसपछिका अध्यक्ष श्री महेन्द्र विलास जोशीले पु¥याउनस भएको योगदान अमूल्य रहेको छ । उहाँहरू दुबैजनाको अल्पायुमा नै स्वर्गारोहण भएकोले यस विश्व रक्तदाता दिवसको उपलक्ष्यमा उहाँहरू दुवैजनामा श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

स्व. शरद दाइसँग महासचिव भएर दुई वर्ष सँगै काम गरेको अनुभव छ । उहाँसँग काम गर्दाको समयमा रक्तदान गर्न मानिसहरू हच्कने गरेका थिए । आफ्नो बाबुलाई रगतको आवश्यक भएको हुन्छ तर छोराले रगत नदिने र रक्तसंचार केन्द्रमा विभिन्न शक्ति केन्द्र वा चिनेको मानिसहरुबाट भन्न लगाएर रगत लिन खोज्ने गर्दथे । अनि रक्तसंचार केन्द्रका व्यक्तिहरूले हाम्रो संस्थाको सहभागितामा यसलाई निर्मूल गर्न धेरै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन ग¥यौं । एकपिन रगत दिएर केही हुँदैन आफूलाई रगत आवश्यक पर्दा प्राप्त गर्न जति गा¥हो हुन्छ अरूलाई पनि त्यस्तै हुन्छ भनी जनमानसलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्‍यो । यसरी शरद दाइको अग्रसरतामा आफ्नो रगत बेचेर पैसा कमाउने त्यस्तो पेशागत रक्तदातालाई निर्मुल गरी बिरामीको नातेदारबाट शोधभर्ना लिएर रगत उपलब्ध गराउने नीतिको सुत्रधार भयो ।

नातेदारबाट रगत शोधभर्ना भएपछि फेरि अर्काे समस्या देखा पर्‍यो । संघसंस्थाबाट जम्मा गरेको रगत ब्लड बैङ्कमा राख्ने अनि चाहिएको बेला बैङ्कमा राखेको रकम जसरी नैं निकाल्न पाउनु पर्ने भनी रक्तदाताहरुको आवाज आयो । त्यसपछि संस्थाले यसको लागि पनि छुट्टै नीति बनायो । कुनै संस्थाले रक्तदान गर्दा सङ्कलन गरेको रगतको ५०% (७५% ?) मात्र ब्लड बैङ्कले फिर्ता दिने र बाँकी ५०% (२५%?) आवश्यक परेको विरामीहरुलाई उपलब्ध गराउन सकिने देखियो । यो व्यवस्थाबाट केही वर्ष सुचारुरुपले अगाडि बढ्न सक्यो ।

गत वर्ष म नेपाल आउँदा शरद दाइ क्यान्सर रोगबाट पीडित भएको र दिल्लीबाट स्वास्थ्य जाँच गरी फर्केर पुनः मोडेल अस्पतालमा हुनुहुन्छ भन्ने खबर पाएपनि भेट्न जान सकिंन । केही दिनपछि उहाँको स्वर्गारोहण भयो । सो समय मेरो लागि निकै दुःखद् रह्यो ।

ब्लड डोनर्स एशोसिएशन नेपालको आयोजनामा जून १४ विश्व रक्तदाता दिवसको उपलक्ष्यमा काठमाडौँको बसन्तपुरबाट रक्तदान सम्बन्धी जनचेतना र्यालीको आयोजना गरिएको थियो । अस्वस्थ्य हुँदाहुँदै अध्यक्ष महेन्द्र विलास जोशी सहभागी भई नगर परिक्रमा गरेका थिए । मलाई पनि निमन्त्रणा आएको हुनाले म पनि ¥यालीमा सहभागी भएको थिएँ ।

त्यही दिन विश्व रक्तदाता दिवस २०१६ को उपलक्ष्यमा एक कार्यक्रम बिच स्वयंसेवी रक्तदाताहरुलाई सिल्भर, गोल्डेन तथा डायमण्ड डोनर पिनबाट सम्मानित गरिएको थियो भने रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुलाई बढी रक्तदान गराएको बापत रनिङ्ग शिल्डहरु वितरण गरिएको थियो । सोही कार्यक्रममा म र सूर्यकुमारी श्रेष्ठलाई ब्लोदानबाट कदर पत्र प्रदान गरिएको थियो भने अन्य महानुभावहरुलाई पनि सम्मानित गरिएको थियो । नेपालमा ब्लोदानले सन् २००४ देखि नै विश्व रक्तदाता दिवस साप्ताहिक कार्यक्रमहरूको आयोजना गरी मनाउँदै आइरहेको छ ।

उक्त समयमा ब्लड डोनर्स अफ अमेरिका संस्थाले के कस्तो सहयोग गर्न सक्छ भनी छलफल भएको थियो । उक्त भेट नैं महेन्द्र विलास जोशीसंगको मेरो अन्तिम भेट रह्यो । किड्नीको रोगले ग्रस्त भए पनि रक्तदानसंग सम्बन्धित हरेक कार्यक्रममा उहाँ जहिले पनि खट्ने गर्नु हुन्थ्यो ।

यसरी रक्त संकलक, वितरक, व्यवस्थापन, स्वयंसेवक रक्तदाता तथा रोगमुक्त रगत वितरण गर्ने अभियानमा उहाँहरूले पुर्याएको योगदान अविस्मरणीय रहने छ । यी दुई रक्तदान जीवनदानका योद्धाहरुको निधनले रक्तदान अभियानमा लागेका रक्तदाताहरु तथा संघसंस्थाहरुलाई अपूरणीय क्षति पुगेको छ । यसको पूर्ति गर्ने धेरै समय लाग्नेछ । तर पनि उहाँहरूले गरेको अपूर्ण कार्यलाई पूर्ण गराउन सबैले संकल्प गर्नु नै उहाँहरूको लागि सच्चा श्रद्धाञ्जली हुनेछ ।

सन्दर्भ : विश्व रक्तदाता दिवस २०१७

भुषणलाल श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य ब्लड डोनर्स अफ अमेरिकामा हाल कार्यरत हुनुहुन्छ । 

Published on July 1, 2017 at 1:20 pm

Loading...

यसमा तपाइको मत