अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

एमालेको लहर कसैले रोक्न सक्दैन – पूर्व प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७४ असार १० गते १०:३५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालहरुको मोर्चाबन्दीले हात्तीको शिकार गर्न नसक्ने उखान जोड्दै एमालेलाई देशैभरी जनलहर सिर्जना गर्नबाट कसैले केहीगरी रोक्न नसक्ने बताउनु भएको छ ।

ओलीले शनिबार मोरङको उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी, विराटनगर र सुनसरीको इटहरीमा एमालेको चुनावी आमसभामा बोल्दै देशैभरी एमालेको जनलहर बढेको र पहिलो चरणमा भन्दा अझ बढी जीत हाँसिल हुने बताउनु भएको हो । ५ दिनदेखि आफ्नो गृहनगर झापाको चुवावी सभामा सहभागि भई मोरङ, सुनसरी हुँदै काठमाडौं फर्किने क्रममा पथरीशनिश्चरेको कार्यक्रमा बोल्दै उहाँले भन्नु भयो – ‘स्यालहरुले जतिसुकै मोर्चाबन्दी गरेपनि हात्तीको शिकार गर्नै सक्दैन । यसकारण दोस्रो चरणको निर्वाचनमा अझ बढी स्थानमा जीत हाँसिल गर्नेछौं ।’

उहाँले एमालेको राष्ट्यिताप्रतिको अडान तथा जनता र मुलुकको समृद्धिको योजनाले सवै ठाउँमा एमालेप्रति देशैभरी जनलहर बढेको दावी गर्नुभयो । जसअनुरुप दमक, उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, बेलबारी सहितका सयौं ठाउँमा एमालेको जीत भइसकेको र मात्र परिणाम सुन्न बाँकी रहेको भन्दै मतदातालाई उत्साहित बनाउनु भयो ।

देशको समृद्धिका लागि अरु कुनै दलसँग योजना नरहेको र एमालेले ल्याएको योजना चिठ चोरेसरह पछि पछि अरुले चोर्ने गरेको उल्लेख गर्नुभयो । एमालेको लहर देखेर अरु तर्सिएको प्रसंग अघि सार्दै उहाँले थप्नुभयो –‘ कांग्रेसका केही नेताले एमालेले किन राष्ट्यि झण्डा बोक्यो, किन विकास गर्यो भनेर भन्दै हिँडेका छन् । हामी उनीहरु जस्तो पद र पैसाका लागि राजनीति गरेको नभई जनता र मुलुकको समृद्धिमा लागि परेका हौं भन्ने कुरा जनताले प्रष्ट बुझिसकेका छन् ।’

रमाइलो शैलीमा गायत्री मन्त्रको व्याख्या गर्दै जगत झलमल्ल पार्ने सूर्यको गहनतालाई बुझेर सूर्यलाई एमालेको चुनाव चिन्हका रुपमा लिएको बताएका छन् ।
उर्लाबारीमा, एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, डाक्टर शिवमाया तुम्बाहाम्फे, सल्लाहकार सदस्य घनश्याम खतिवडा, नगर प्रमुखका उम्मेदवार भूपाल जिमी, पथरीशनिश्चरेमा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर), उपप्रमुखका उम्मेदवार यमुना बिष्ट लगायतले बोल्नु भयो ।

हजारौं मानिसहरु उत्साहपूर्वक उपस्थित ती ठाउँका आमसभामा विभिन्न पार्टी परित्याग गरी सयौं मानिस एमालेमा प्रवेश गरेका छन् । नाचगान सहितका सभामा उर्लाबारीमा ५ सय जना, पथरीशनिश्चरेमा ५३ जना एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ । युवा संघ नेपाल नगर कमिटीको आयोजनामा पथरीशनिश्चरे ४ स्थित कुशल बजारमा सम्पन्न सभामा गायक अश्विन घिमिरे र वीरध्वज शिवाले एमालेको पक्षका गीत प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू