होमलेस माइकलहरु – पदम विश्वकर्मा

पदम विश्वकर्मा

होमलेस माइकलहरु,
दिनहुँ सडकको चोकमा
कार्ड बोर्डका प्लेकार्ड लिएर
हेल्प मि भन्दै
एउटा पुरानो थोत्रो झोलामा
जिन्दगीका कथाहरू बोक्दै
बर्षौं वर्ष बिताईरहेछन्।

जिन्दगीको आकांक्षाहरु बोकेर
थकाइले भरिएका नग्न पैतालाहरु
अह्रोरात्र सडकभरि छाप्दै
निरन्तर हिडिरहेछन्, हिमालका भरिया दाइहरु जस्तै
सडक र गल्लीहरुमा थकाई बिसाउदै
एक बोत्तल पानी रक्सिसंग साट्दै
जीवनका कथाहरू बुन्दै
हरेक चुस्कीसंगै मस्त निदाइरहे पनि
प्यासले सुकेकाका ति ओठहरुमा
अर्को चुस्की लगाउदै
आफ्नै मृत्यु सैया तिर लम्किदै छन् ।

न आलिसान महलको सपना छ
नत प्रत्येक नजरबाट चिप्लेका जस्ता
चिल्ला कारको सपना छ
न पाँच तारे होटेलमा बित्ने रातहरुको कल्पना छ
छ त केवल,
एक टुक्रा ब्रेड, एक चुस्की रक्सी र
ओतसहितको न्यानो रात ।

बर्षौं भिजेका आँखाहरू
न घाम, न पानी, न हिउँको वर्षा
निरन्तर भिजिरहेछन्
अन्तिम सास बिसाउने रहरमा ।

भूगोलका रेखाजस्तै
थकित अनुहारमा
चिरा चिरा परेका रेखाहरु
पसिना बग्ने खोल्सा बन्दै भरिएका छन्
आँसुका थोपाहरुले पनि पालो माग्ने तिनै खोल्साहरुमा
जीवनको अन्तिम आस बिसाउने रहरमा
थर थर काम्दै गरेका ती हातहरू,
हरेक यात्रुतर्फ लम्काउँदै र
बाइ बाइ गर्दै
जीवन बितिरहेछ सडकका गाडीहरु गन्दै
अनि
नजिकैबाट चिप्लिने कारबाट झर्ने
अर्को एक निकलपैसा गन्दै
जीवनको अन्तिम सास कुरिरहेछन्
हजारौँ होमलेस माइकलहरु ।

Published on June 22, 2017 at 6:44 pm

Loading...

यसमा तपाइको मत