अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

डा. केशव पौडेल र गौरी जोशी सहमतिको नजिक

बिआरटीनेपाल २०७४ असार ३ गते १९:०० मा प्रकाशित

संयुक्त टिमको गृहकार्य जारी

कुनै अप्रत्यासित घटनाक्रम वीचैमा विकास भएन भने एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका लागि प्र्रमुख प्रतिद्वन्दि देखिएका डाक्टर केशव पौडेल र गौरि जोशी मिलेर चुनावमा जाने सम्भावना पुन जीवित भएको छ । अध्यक्षमा डाक्टर केशव पौडेल र वरिष्ठ उपाध्यक्षमा गौरि जोशी रहने गरी बाकी पदाधिकारीमा दुवै समूहबाट मिलाएर संयुक्त समूहको घोषणा गर्ने संघारमा उनीहरू पुगेका छन् ।

मिलनको सङ्केत
सदस्यता प्रमाणीकरणको कारणले एनआरएन अमेरिकाको २०१७-२०१९ कार्यकालको लागि मे २० – २१ मा हुनुपर्ने चुनाव सरिरहेको अवस्थामा देखिएका प्रमुख दुई प्रतिस्पर्धी डा.केशव पौडेल र गौरी जोशी बिच संस्थाको बृहत्तर हितका लागि सहमति र सहकार्य गर्दै जाने निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको छ । तर कतिपयले यसलाई पुर्वनियोजित नाटकको संज्ञा पनि दिएका छन् ।

प्रमुख दावेदारको रूपमा देखिएका मध्ये गौरी जोशीले बुधवार बिहान फेसबुक मार्फत एक बक्तव्य निकाल्दै दुई दिन पूर्व गरिएको एउटा सहमतिलाई परोक्ष रूपमा सार्वजनिक गरेका छन् । बक्तव्यमा आफू संस्थाको हितको लागि एकता,सहमति र सहकार्यको लागि लचक हुन तयार भएको बताएका थिए ।

उता डा. पौडेल अब चाडै चुनाव गराउने तयारीमा निर्वाचन समिति रहेको र आफूहरू सबै साथीहरूलाई मिलाएर सर्वसम्मत नेतृत्व चयनमा लागेको जिकिर गर्छन् । सर्वसम्मतिको कुनै गुन्जायस नभएको अवस्थामा आस्वस्थ देखिनु र अझ अगाडि बढेर अहिले उठ्ने सबै साथीहरूमा भएको क्षमता र योग्यता सामुहिकरुपमा नेपाली समुदायको हितको लागि प्रयोग गर्न सकेमा निश्चित रूपमा संस्था भएको सबैले अनुभूति गर्न सक्ने बताउछन् ।

यी दुई प्रतिस्पर्धि बिचको मिल्दो जुल्दो अभिव्यक्ति संयोग मात्र हो वा विकसित घटनाक्रमको विम्व भनेर केलाउनु पर्ने हुन्छ ।

कुनै पनि हालतमा दुई पक्षलाई मिल्न नदिन सक्रिय विभिन्न समूहहरू हाबी भइरहेको विद्यामान अवस्थामा एकाएक नयाँ गेम प्लान बन्ला भनेर जो कोहीले अनुमान गर्न सक्ने कुरै भएन । सदस्यता वितरण र प्रमाणिकरणको चरणसम्म आइपुग्दा दुई पक्ष एकले अर्कोलाई साईजमा ल्याउन सबै शक्ति प्रयोग गरिरहेका थिए । दाउपेच र आरोप प्रत्यारोपलाई नजिकवाट नियालीरहेकाहरुले दुई समूह मिलेर अगाडि आउनसक्ने सम्भावनाको ढोका बन्द भइसकेको अनुमान गरिरहेका थिए । तर पनि भित्रभित्रै यो घटनाक्रमको विकास कसरी भयो त ? के कस्ता पात्रहरु यसमा संलग्न छन् ?

सहमतिको आधार
एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर पौडेल र सफल व्यवसायी गौरि जोशी मिलेर नेपालमा एउटै प्रोजेक्टमा करिब १४ करोड नेपाली रुपैयाँ लगानी गरेपछि नेपाल भित्र लगानी गरिहेका एनआरएन आइसीसीका पूर्व अध्यक्ष र पदाधिकारीहरुसँग यी दुईको सामिप्यता झन् बढ्दै गयो ।

त्यो भन्दा पनि एनआरएनको सबैभन्दा बढी सदस्य भएको देश अमेरिका बन्नु आइसीसी पदाधिकारीले उनीहरूलाई च्याप्ने अर्को गतिलो आधार थियो । पौडेल र जोशी दुवैलाई आइसीसीको नेतृत्वसम्म पुग्नसक्ने गरी मिलेर अगाडि बढ्न उनीहरूले सुझाव पनि दिएका थिए । त्यही आधारमा जोशी अमेरिकाको अध्यक्ष बन्ने र डाक्टर पौडेल आइसीसी भित्र छिर्ने गृहकार्य भयो । तर सोनाम लामा, एसी लामा र शेष घलेको चाहाना अनुरूप एनआरएन अमेरिकाको नेतृत्वमा डाक्टर पौडेल दोहोरिने भएपछि दुई बिचमा केही तिक्तता बढ्यो ।

जोशीलाई अगाडि वढाइरहेको समूहले पछाडि फर्कनै दिएन । दुवै तीरका भित्रियाहरुले कुनैलाई पछिहट्न नदिने रणनीति तय गरेपछि भने परिस्थिति फरक ढङ्गले विकास भइरहेको थियो । चुनावी मैदानमा स्वयम दुई जना नभई दुवै पक्षका अरू कोहीको आग्रह दुराग्रह, पुर्वग्रह र नियोजित प्रपन्चको घमासान युद्ध चलिरहेकै थियो । यसै मेसोमा अमेरिकामा कसलाई अध्यक्ष वनाउदा आफूलाई फाइदा हुन्छ भनेर दाउ हेरिरहेका एनआरएन आइसीसीका पदाधिकारिहरुले त यसलाई झनै ठुलै खेल मैदान को रूपमा विकास गरे । अहिले एनआरएन अमेरिकामा देखिएको समस्याको जड यही छ । लुकेको पाटो भनेको आगामी दसैँ तिहार बिच काठमाण्डौमा हुन गइरहेको एनआरएनए को चुनाव हो । केन्द्रमा नेतृत्व लिनको लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट बिच तीव्र प्रतिस्पर्धा भइरहेको समयमा अमेरिकाबाट जाने प्रतिनिधिहरूको निर्णायक भूमिका रहनेहुँदा शेष घले देखि पन्त र भट्टको ध्यान यसमा लागेको छ ।

दुई आकाक्षी बिच सहमति गराउने कार्यको लागि एनआरएनए का पूर्व अध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेको ठुलो हात रहेको बताईन्छ । शेष घले नेतृत्वमा आए पश्चात् केही ओझेलमा परेका महतो र लामिछाने समेत आफू नजिकको व्यक्ति सो पदमा भएको हेर्न चाहन्छन । वर्तमान अध्यक्ष घले पनि आफ्नो विश्वास पात्र सो पदमा आसिन भएको बाहेक श्रीमतीलाई समेत केन्द्रीय नेतृत्वमा स्थापित गराउन प्रयत्नशील रहेको बताईन्छ ।

वर्तमान सहमति अनुसार अध्यक्षमा पौडेल रहने र वरिष्ठ उपाध्यक्षमा जोशी रहने, काठमाण्डौको अधिवेशनमा डा. पौडेल केन्द्रीय नेतृत्वमा जाने र सो पश्चात् जोशीले अमेरिकाको अध्यक्ष भई कार्यभार चलाउने योजना रहेको बुझिएको छ ।
अन्तत वर्तमान देखि पूर्व अध्यक्ष र पदाधिकारीहरुको पहलमा पौडेल र जोशी बिच सहमति भएको स्रोतको दाबी छ ।

त्यस पछि भावी नेतृत्व कस्तो बनाउने भन्ने सम्बन्धमा दुवै बिच सहमति भएको र करिब असी प्रतिशत कार्यसमितिमा बस्ने व्यक्तिहरू तय गरिसकेको समेत एक विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।

संस्था भनेको संस्था नै हो यसमा व्यक्ति गौण हुन्छ, नेपाली समुदायमा सदैव विवादका स्वरूपहरु देखाउनु भन्दा सबैले मिलेर नै नेपाली समुदायका हितका लागि कार्य गर्न सकिन्छ । समाज सेवाको लागि यो नै पद चाहिन्छ भन्ने कुनै जरुरत पनि नभएको हुदाँ समाजको लागि आफू हदै सम्मको लचकता अपनाउन तयार रहेको जोशी बताउछन् । पौडेल–जोशी समूहको प्रतिस्पर्धा अव रविना थापासँग हुँने सम्भावना छ । कृष्ण पोखरेल, राम सी पोखरेल र डिल्ली भट्टराई मध्ये कति मैदानमा रहिरहने हुन् भन्न सकिने अवस्था छैन ।

चुनावी तालमेल र समिकरणहरु बन्ने र भत्कने क्रम जारी नै रहन्छ । विकसित घटना क्रममा कुनै फेरवदल भएन भने गत अधिवेशनमा उपाध्यक्ष पदमा उठेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी.सी. लाई धक्का पर्न सक्ने देखिन्छ । तर खगेन्द्र जीसीलाई पनि मिलाएर लाने तयारीमा पौडेल र जोशीले गृहकार्य गरिरहेका छन् ।

पौडेल र जोशी मिलेर निर्वाचनमा हाबी भए पनि अमेरिका जस्तो ठाउँमा पैसा र प्रविधिको बलमा सदस्य बनाएर निर्वाचनलाई प्रभावित गर्न खोजेको आरोपवाट भने यी दुवैले छुटकरा पाउने छैनन् ।

प्रतिक्रिया