अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

स्व.गायक वसन्तका परिवारलाई सहयोग रकम हस्तान्तरण

बिआरटीनेपाल २०७४ असार १ गते १०:४० मा प्रकाशित

ह्युस्टन स्थित एमडी एन्डर्सन क्यान्सर अस्पतालमा उपचार कै क्रममा गत साता निधन भएका गायक वसन्त सुनारको परिवारलाई नेपाली समुदायका तर्फबाट संकलित सहयोग रकम हिजो स्वर्गीय वसन्तका परिवारलाई हस्तान्तरण गरिएकोछ। गायक वसन्तको निधन लगत्तै Nepalese Heritage Union (NHU) र Nepalese Association of Houston (NAH) ले आ-आफ्नो संस्थाको तर्फबाट उनको परिवारलाई आवश्यक सहयोगको लागि अपिल गरेका थिए। सोही अपिल अनुरूप ह्युस्टन लगाएतका सहरमा बसोबास गर्ने नेपालीहरूले आफूले सकेको सहयोग गरेका थिए।

नेपाल हेरिटेज युनियनका तर्फबाट संकलित रकम ३५५०.८६ डलर बराबरको चेक अध्यक्ष बिदुर दवाडी सहित संस्थाका अन्य पदाधिकारीहरुद्वारा संयुक्त रूपमा स्व.वसन्तका बुवा भीमबहादुर सुनारलाई हस्तान्तरण गरिएको थियो। हालसालै मात्र स्थापना भए पनि नेपाल हेरिटेज युनियनले स्व. गायक वसन्तको परिवारलाई सहयोग गरेर आफ्नो सामाजिक दायित्व बहन मात्र गरेन, आफूलाई सामुदायिक हितका लागि अग्रपङ्क्तिमा उभ्याएकोछ। नेपाल हेरिटेज युनियन एउटा संस्था मात्र होइन, यो त युवाहरूको अभियान हो, ह्युस्टनमा बसोबस गर्ने सबै नेपालीहरू र मातृभूमि नेपाल प्रति पनि केही गर्ने उत्साह बोकेको सामाजिक संवाहक हो’, संस्थापक चण्डी भण्डारीको कथन थियो ।

यसै गरी NAH का तर्फबाट संकलित ३९५१.४३ डलर बराबरको चेक महासचिव विष्णु नेपाल, सहसचिव द्रोण गौतम र कार्यकारी सदस्य राम कुँवरले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। NAH को वेबसाइटमा आएको प्राविधिक खराबीका कारण यथार्थ भन्दा बढी रकम देखिएको र समस्या समाधान गरिए पश्चात् जम्मा हुन आएको रकम स्व. वसन्तका परिवारलाई हस्तान्तरण गरिएको जानकारी NAH का सहसचिव द्रोण गौतमले बताए।
यस अतिरिक्त अमृत कँडेल र विष्णु कार्कीले आफ्नो सम्पर्कमा भएकाहरुबाट संकलित रकम नगद क्रमशः: $८०० र $७१६ समेत गरी जम्मा ९ हजार १८ डलर बराबरको सहयोग रकम स्व. वसन्तका बुबालाई हस्तान्तरण गरिएको थियो।

NAH का महासचिव विष्णु नेपाल र NHU का अध्यक्ष बिदुर दवाडीले गायक वसन्तको असामयिक निधन प्रति नेपाली समुदायका तर्फबाट हार्दिक श्रद्धान्जलीका साथै परिवारजनमा परेको गहिरो शोकप्रति समवेदना व्यक्त गरेका थिए। ह्युस्टनको नेपाली समुदायले देखाएको माया, सहयोग र सद्भावका लागि स्व.वसन्तका परिवारका तर्फबाट उनकी दिदी पवित्रा सुनारले नेपाली समुदायलाई धन्यवाद दिइन्। स्व. वसन्तको ‘बडी’लाई परिवारका सदस्यहरूले उनकै अन्तिम इच्छा अनुसार जन्मभूमि नेपाल मै लगेर अन्तिम संस्कार गर्ने तैयारी गरिरहेकोछ।  स्व. गायक वसन्तको आत्माको चीरशान्तिको कामना।

प्रतिक्रिया