अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

बिआरटीनेपाल २०७४ जेठ २७ गते ९:२४ मा प्रकाशित

काठमाडाँै, । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुवै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो । त्यसै गरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै क्लबले आर्मीसँग भने पराजित भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । उक्त फाइनल खेल भोलि बिहान ९ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुनेछ । रासस

प्रतिक्रिया