अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

किन लोभी छन् अमेरिकाका नेपाली – विजय थापा

बिआरटीनेपाल २०७४ जेठ २७ गते ८:४६ मा प्रकाशित

अमेरिका आएका नेपाली अन्य देशमा रहेका नेपाली भन्दा लोभी छन् भन्दा दुःख लाग्न सक्छ । सबैभन्दा धेरै कमाउने र व्यवस्थित रूपमा बस्दै आएका नेपालीहरूले नेपाललाई माया कम गर्ने आरोप छ । नेपालीहरू अमेरिका डलर कमाउन जन्म थलो छोडेर आएका हुन्छन् l अमेरिकामा पैसा बढी भएर नेपालमा जस्तै पैसा छर्दैनन । अमेरिकामा नेपालीलाई मुद्रा कहिले बेसी हुँदैन र सदैव अपुग हुन्छ ।

नेपालमा हुँदा त्यही पुरुष, त्यही महिला, त्यही युवा तथा कुनै पनि पेसाका मानिस दिलदार हुन्छन् । दिनु भने पछि छाती ठुलो गरेर दिन्छन । मुट्ठी खोलेर दिन्छन । तर ठिक विपरीत, अमेरिका आए पछि लोभीको भाँडो उभिन्डो हुन्छन् ।

अमेरिका आएका नेपाली लोभी बन्द्छन । के साँच्चै हो त ? यसका केही उदहारण यहाँ मैले प्रस्तुत गर्ने जमर्को गरेको छु अमेरिकाको वातावरणले त्यो सिकाउछ । अमेरिका लाखौँ खर्च गरेर आए पछि हारालुछ गर्दैनन् । पैसा फ्याक्न भासिएका हुदैनन् । यत्र तत्र खर्च गर्न तम्सिदैनन । कंचो कंचोको हिसाब गर्दछन् । अमेरिकामा द्रब्य कमाउन रगत पसिना निकाल्नु पर्छ । नेपाल जस्तो अमेरिकामा सरल रूपमा डलर बोरामा कमाईदैन । त्यसको लागि हाड घोट्नु पर्छ र कुर्कुच्चा खियाउनु पर्छ । काम गर्दा गर्दा शरीर थिलथिलो हुने गरी काम गर्नु पर्छ । अमेरिकामा कमाउन ढाड, पिडुला, तिघ्रा तथा पैतालाको दोहोलो काढिने हुन्छ ।

खैनी माड्दै काममा आलटाल गर्ने, पान चपाउन पान पसल मै बेपत्ता हुने, चिया पिउने निउले घन्टौ हराउने आदि इत्यादि अमेरिकामा गर्न पाइदैन । त्यति सरलसँग अमेरिकामा कमाउन सकिँदैन । घण्टा घण्टाको हिसाबले पैसा पाउने भएकोले बेपत्तासँग काम गर्नु पर्छ । अमेरिकामा बेईमानी धन तथा कालो धनको परिकल्पना गरिदैन l

अमेरिकामा भ्रष्टाचार नहुने भएकोले परिश्रमबाट कमाएको पैसाको लोभ र लालच हुन्छ l मुट्ठी कस्न मन लाग्छ । खर्च गर्न तौलिएर गर्नु पर्ने हुन्छ l घुस, भ्रष्टाचार, हप्ते चन्दा सङ्कलन, दादागिरी, अपहरण, धम्की, तस्कर, गैर कानुनी असुली आदि इत्यादिबाट अमेरिकामा रातोरात धनी बन्ने सपना हुँदैन । कालाधन तथा पदको दुरुप्रयोग गरी फोकटमा आउने धन भएकोले जति खर्च गर्न पनि मन लाग्छ । तर अमेरिकामा बडो कठिन साथ जीवन हत्केलामा राखेर डलर कमाइन्छ । अनि फारु गर्न मन लाग्छ । अमेरिकामा बक्सिस घर दैलोमा पुर्याईदैन । घर मै बसी बसी बैङ्कको खातामा कसैले रकम हाल्दैनन । हरेक हप्ता या पन्ध्र दिनमा आउने चेकले परिवारको चुलो जल्छ ।

नेपालमा अभिभावकले कमाएर अरूले उप्पर खुट्टी लगाएर खाए जस्तो अमेरिकामा चल्दैन । अमेरिकामा घरका हरेक सदस्य काम गर्नु पर्छ । अमेरिकामा ऋण नै ऋणको जिन्दगी हुन्छ । आफ्नो खर्च आफै निकाल्नु पर्छ । अभिभावकले आफ्नो ऋण तिर्छन भन्ने अमेरिकामा चल्दैन । नेपालमा तीन पुस्ते र सात पुस्ते सम्पत्ति कमाएका करोड पतिका सन्तानले पैसा उडाए जस्तो अमेरिकामा हुँदैन । पैसा उडाउन पल्केका सन्तानले पनि अमेरिकामा आए पछि लुरुक्क र सुरुक्क भई जीवन चलाउन घोटिनु पर्ने हुन्छ । नेपालमा हप्काएर खाने मानिस यहाँ गुजारा चलाउन हप्काई खाएर समेत काममा घोटिनु पर्छ ।

नेपालमा अभिभावकलाई घुर्की लगाएर भए पनि जुनसुकै ईक्षा प्राप्त गर्न पल्केका सन्तान अमेरिकामा आफ्नो गोजी खर्च निकाल्न भए पनि चुपचाप कमाउनु पर्छ । अरूले थेगेको घर व्यवहार अमेरिकामा चल्दैन । अमेरिकामा एक एक पैसाको महत्त्व ज्यादै हुन्छ । नेपालमा जस्तो लुटको धन र गाडेको धन जस्तै गरी धन्सारमा थुपारिएको हुँदैन ।

अमेरिकामा सानै देखि काम गर्ने आदतको कारण पैसा चिनेका हुन्छन् l सेतो पैसा कमाउन मरीहत्ते गर्छन् l कालो पैसा कमाउन लाग्नेलाई छिटो साढे सातको दशा लाग्दछ । झ्याल खानामा जाकिन्छ ।

अमेरिकामा कानुन कडाको साथै अन्य दायाँ बायाँबाट पैसा कमाउन सोच्दैनन् । अझ आप्रवासी यो कुरामा सात कोष टाढा बस्दछन l चोखो आफ्नो कमाइले घर धान्नु पर्ने भएकोले मानिस मेहनत र कडा परिश्रम गर्न बाध्य हुन्छन् l यसरि दुख गरेर बिरानो देशमा हरेक दुख सहेर भए पनि डलर कमाउने हुँदा पैसाको माया लाग्छ । मुद्राको महत्त्व बुझिन्छ । यसरि नै अमेरिकामा जिन्दगी बित्ने हुँदा डलरको मूल्य बारेमा सबै अवगत हुन्छन् ।

अमेरिकामा मर्दा पर्दा कसैले पाँच पैसा पनि ननिकाल्ने हुँदा डलर कमाउने बानी भएकालाई त्यो नहुदा झट्का लाग्दछ l अमेरिकामा डलर आई रहने भएता पनि सोचेर सम्झेर खर्च गर्नु पर्ने हुन्छ l जागिर कति बेला जाने हो भन्ने सदैव त्राहिमाम भई रहन्छ l यसरि नेपालबाट अमेरिकामा आएका मानिसमा नेपालको भन्दा पैसाको सवालमा बदलिएको पाइन्छ l अनि लोभी न हुने कुरै भएन l अमेरिकामा छिरेका नेपालको जस्तो खर्च गर्न सक्दैनन् भनी आरोप पनि लाग्दछ l

नेपालमा पुर्खाको सम्पत्तिमा दाइ गर्न पाउने भएता पनि अमेरिकामा त्यो चल्दैन । पैतृक सम्पत्ति कब्जा गर्ने, अंशबन्डामा रडाको मचाउने, दाजुभाइ र आमाबुवा सँग सम्पत्तिको लागि झैँ झगडा गर्ने यहाँ हुँदैन l नेपालमा बाबुआमाले हाड खियाएर अथाह सम्पत्ति जोडेता पनि दुष्ट सन्तान र संघारे परि दिदा सुति सुति खाने प्रवृतिका सन्तानले अमेरिकामा चाई चुई नगरी कामै गरेर खानु पर्ने हुन्छ l अनि पैसा कमाउन साह्रो रहेछ भनी झलास्स हुन्छन् l

अनि मूद्राको इज्जत यस्ताबाट हुने हुन्छ l यसरि नेपालमा पैसा खेलाउन, खुवाउन, छर्न, चन्दा दिन, दान गर्न धन बहादुर भएता पनि अमेरिकामा गरिब बहादुर बन्दछन l मितव्ययिता अपनाउन बाध्य हुन्छन् l किनभने अरूले कमाएर राखेको सम्पत्ति खर्च गर्न स्वाद आउँछ तर आफूले अहोरात्र मेहनत गरेर पसिना बगाएर कमाएको पैसा खर्च गर्न बेस्वाद हुन्छ l किनभने डलर कमाउन आफ्नो श्रम खर्चिएको हुन्छ l

पैतृक सम्पत्ति उढाउने नेपाली अमेरिकामा तौलिएर, जोखेर, विचार गरेर मात्र खर्च गर्न बाध्य हुन्छन् l यसरि नै अमेरिकामा जीवनको पांग्रा चलाउनु पर्ने हुन्छ l जीवन जोखिम र भोलि के हुन्छ भन्ने भय भई रहन्छ l अनि नेपालीहरूले फजुल खर्च नियन्त्रण गर्न खोज्दा अमेरिका छिरे पछि लोभी हुँदा रहेछन् भन्ने आक्षेप लाग्दछ l

यसरि अमेरिका भासिएका नेपाली लोभीको भाडो कुभिन्डो कहलिन्छन l अमेरिकामा परिस्थितिको कारण नेपाली समुदाय लोभी बहादुर र लोभी कुमारीको संज्ञा पाउने गर्छन् l अमेरिकाले दिएको शिक्षा भनेको नै फजुल खर्च गर्नबाट साबधान हुने र मितव्ययिताको सिद्धान्त अपनाउनु नै उत्तम हुनेछ l

प्रतिक्रिया