अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले क्यालिफोर्नियाका सांसदलाई भेटि नेपालमा लगानी भित्र्याउन आग्रह 

बिआरटीनेपाल २०७४ जेठ २४ गते ९:४८ मा प्रकाशित
नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेसम्यान इरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन सघाउन आग्रह गरेका छन् । 
 
अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा ब्यवसायी शुसिल पोखरेल र ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान तामाङसहितको प्रतिनिधि मण्डलले अमेरिकाको प्रतिनिधि सभाको सदस्य रहेका एरिकलाई भेटेर नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रचुर अबसर रहेको बताएका थिए । 
 
त्यस अबसरमा युवा ब्यवसायी पोखरेलले नेपालमा विशेषगरी जलविद्युत र पूर्वाधारका क्षेत्रमा लगानीको धेरै अबसर रहेको जानकारी गराए । उनले सांसद एरिकलाई दुई सरकारबीच लगानी आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
 
सांसद इरिकले नेपालजस्ता विकासोन्मुख मुलुकमा अमेरिकी लगानी भित्र्याउन सघाउन पाउँदा आफूलाई खुशी लाग्ने बताए । उनले दुई बर्षअघि नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले सक्रियतापूर्वक खेलेको भूमिकको स्मरण गरे ।
 
इरिक डेमोक्रेटिक पार्टीबाट प्रतिनिधित्व गर्ने युवा सांसद हुन् । उनले अमेरिकाको क्यालिफोर्नियाको १५ औं संसदीय क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन जितेका थिए ।  
 
त्यस अबसरमा नेपाली अबैतनिक पर्यटन दूत थापाले सांसद एरिकलाई नेपालीको पहिचान ढाका टोपी पहिर्याइ दिएका थिए । उनले नेपाली संस्कृतिबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न सांसद एरिकलाई आमन्त्रण गरेका थिए । 
 
युवा ब्यवसायी पोखरेलसहितको टोली अमेरीकी लगानीकर्ताहरुसँग लगानीका विविध क्षेत्रमा सहकार्य गर्नेबारे छलफल गर्न अहिले अमेरिका भ्रमणमा छ । अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्युयोर्क, वासिङ्गटन क्षेत्रका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिसँग भेटेर नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गरेको पोखरेलले बताए । 
 
पोखरेल नेपालमा जलविद्युत, पर्यटन, ट्रडिङ, हस्पिटालिटी, सफ्टवेयरलगायतको ब्यवसायमा संलग्न सुस्मित ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । 
उनको टोलीले गत साता क्यालिफोर्नियास्थित नेपाली अबैतनिक महाबाणिज्य दूत ऋषि ढकाललाई भेटेर अमेरिकी लगानीकर्तालाई नेपाल लैजान सहजीकरण गर्न आग्रह गरेको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू