अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

युवाहरूको अगुवाईमा ह्युस्टनमा नयाँ संस्थाको स्थापना

बिआरटीनेपाल २०७४ जेठ ८ गते २०:०१ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, ह्युस्टन ।
टेक्ससको ह्युस्टनमा बसोबास गर्ने नेपाली समुदायको बृहत्तर हितका लागि भन्दै ह्युस्टनमा ‘Nepalese Heritage Union (NHU) नामको नयाँ संस्था अस्तिस्वमा आएकोछ। खासगरी युनिभर्सिटी अफ ह्युस्टनमा विद्यावारिधी अध्ययनरत विद्यार्थीहरू र स्थानीय केही युवाहरूको अगुवाईमा गठन भएको NHU को यही मे २०, २०१७का दिन चिम्नीरक ह्युस्टनमा सम्पन्न पहिलो भेला मार्फत बिदुर दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत घोषणा गरिएको थियो। समितिमा तीन उपाध्यक्षहरु क्रमशः: बाबुराम बस्याल, जनार्दन कँडेल र तुलसीराम अर्याल छन् भने डिसुज न्यौपानेले महासचिव जिम्मेवारी पाएकाछन्। नेपाली समुदायको बृहत्तर हितलाई ख्याल गर्दै विविध विषयहरूमा नेतृत्व, समन्वय र सहकार्यका लागि १५ सदस्यीय Board of Directors समेत सार्वजनिक गरिएको थियो। त्यसै गरी बृहत् ह्युस्टनमा नेपालीहरूको बसोबास रहेको विभिन्न स्थानको प्रतिनिधित्व हुने गरी १५ सदस्यीय संस्था सञ्चालनको सहयोगी समूह (Governing Body) समेत गठन भएको जानकारी भेलामा गराइएको थियो। NHU ले संस्था दर्ता र संयोजनमा महत्त्वपूर्ण भूमिका खेलेका चण्डी भण्डारी सहित तीनजनाको एक संरक्षक समिति समेत गठन गरेकोछ। संस्थापक भण्डारीका अनुसार संरक्षक समितिको मुख्य काम स्थानीय र बाह्य संस्थाहरुसंग सम्पर्क/समन्वय गर्ने र संस्थाको पहुँच बिस्तारका लागि आवश्यक कार्यगर्ने हुनेछ। 

नवगठित कार्यसमितिका महासचिव डिसुज न्यौपानेका अनुसार प्रवासमा नेपाली स्वाभिमानको बढावाका लागि NHU ले विशेषगरि नेपाली समुदायको बृहत्तर एकता, आपसी सद्भाव र सहयोगको लागि नेतृत्वदायी भूमिका खेल्नेछ। साथै ह्युस्टनमा रहेका अन्य नेपाली संस्थाहरुसंगको सहकार्य र समन्वयलाई समेत प्राथमिकता दिनेछ। उनका अनुसार युवाहरूको अगुवाईमा गठन भएकोले समुदायको हित प्रवर्ध्दनमा युवाहरूको सहभागिता बढाउने, नेपाली भाषा, कला, संस्कृति र चाडपर्वहरुका बारेमा अमेरिकामै जन्मे-हुर्केका बालबालिकाहरुलाई जानकारी गराउने, नव आगन्तुक नेपालीहरूलाई अमेरिका आएपश्चात समुदायमा स्थापित हुन आवश्यक सहयोग उपलब्ध गराउने कार्य गर्नेछ। यस अतिरिक्त प्रतिभावानहरुको ज्ञान, सीप र दक्षतालाई समुदायको अधिकतम हितका निम्ति प्रयोग गराउने र नेपालीहरूको दक्षता अनुरूपको कार्यक्षेत्र पहिचान गरी रोजगारीको अवसरका लागि सहयोग गर्ने लक्ष्य NHU को रहेकोछ।

महासचिव न्यौपानेका अनुसार ह्युस्टनमा नयाँ आउनुहुने नेपालीहरूलाई आवश्यक परेको खण्डमा कानुनी परामर्श लगायत सरकारी कार्यालयहरुको सेवा प्राप्तिका लागि सहयोग, युवाहरुका लागि खेलकुद कार्यक्रमहरू समेत आयोजना गर्ने लक्ष्य NHU ले राखेकोछ। त्यसै गरी भविष्यमा मातृभूमि नेपालमा समेत विभिन्न चेतनामुलक र विकासका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको कुरा बताइरहँदा NHU का संस्थापक युवाहरू निकै उत्साहित देखिन्थे।

ह्युस्टनमा पहिले देखिनै सक्रिय नेपालीहरूको संस्था Nepalese Association of Houston (NAH) हुँदा हुँदै किन नयाँ संस्था गठन गर्नु परेको होला भन्ने यो सम्वाददाताको प्रश्नमा संस्थापक चण्डी भण्डारीको जवाफ थियो-“हामी प्रतिस्पर्धी होईनौ, बरु NAH ले गर्न नभ्याएको र समेट्न नसकेको क्षेत्रहरूमा नेपाली समुदायको हितमा काम गर्ने NAH को सहयोगी संस्था हुन चाहन्छौँ।”

“युवाहरूको जोस र जाँगरले नेपाली समुदायले फाइदा पाउन सके त राम्रै हो तर संस्थाहरूको भिड्बाट उन्मुक्त ह्युस्टनमा संस्था खोल्ने र पद बाँड्फाँडमा रमाउने काम मात्र भयो भने चाहिँ नेपाली समुदायको लागि राम्रो हुन्न”, भेलाका एक सहभागी मोहन आचार्यको कथन थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू