अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

रुसका कारण अमेरिका विभाजित भइरहेको ट्रम्पको टिप्पणी

बिआरटीनेपाल २०७४ जेठ ५ गते ११:४० मा प्रकाशित

वासिङटन, जेठ ५ गते । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा रुसको संलग्नताका बारेमा भइरहेको विवादले देशलाई विभाजित बनाइरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले रुससँग आफ्नो कुनै सम्बन्ध नरहेको दोहो¥याउँदै पक्ष र विपक्षमा मत विभाजन हुँदा मुलुकलाई फाइदा नहुने बताउनुभयो ।

वासिङटनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सो आरोपको जाँच गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गर्ने निर्णयलाई आफूले स्वागत गर्ने बताउनुभयो । तर उहाँले सो निर्णयप्रति असन्तुष्टी पनि व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत वर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रूपमा नियक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख हुनुहुन्थ्यो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेसंगै नयाँ विशेष अभियोजनकर्ताको खोजी भएको थियो ।

ट्रम्पले एफबीआइले रुसमाथि गरिरहेको छानविन प्रभावित पार्न त्यसका निर्देशक कोमीलाई बर्खास्त गरेको भन्ने आरोप पनि खण्डन गर्नुभएको छ ।

कोमीसँग काम गर्न आफुलाई निकै गाह्रो भएकाले उहाँलाई बर्खास्त गर्नुपरेको पनि राष्ट्रपति ट्रम्पले स्पष्टीकरण दिनुभएको छ ।

अमेरिकाको न्याय मन्त्रालयले त्यति बेला भएको भनिएका हस्तक्षेपबारे छानविन गर्न वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई जिम्मा दिनु उपयुक्त हुने ठानेर उहाँलाई जिम्मेवारी दिएको अधिकारीहरूले बताएका छन् ।

मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्ने गरी नियुक्त हुनुभएको हो । न्याय मन्त्रालय भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्ने निकाय हो । तर मलरलाई स्वतन्त्र भनिए पनि प्राविधिकरुपमा भने राष्ट्रपति ट्रम्प अन्तर्गत नै पर्नुहुन्छ भनेर सांसदहरुले टिप्पणी गरिरहेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू