(निबन्ध) प्रेमको विश्वविद्यालय -पेशल आचार्य

संसारमा सबै किसिमका अध्ययन हुने विश्वविद्यालय खुलेका छन् तर प्रेमको विश्वविद्यालय भने अझसम्म खुलेको छैन । अहिले हाइफाईयुक्त संसार छ । त्यसैले वाईफाईको जमाना आएको छ । वाइफाई नभएको अड्डाअदालत, संघसंस्था र घर नहुने कोही छैनन् । विकसित जमानाले मानिसलाई अझ उदात्त बनाएको छ । प्रविधिले प्रेमका सम्बन्धमा समेत युनिक विशेषताहरू थपेको छ । प्र्रेम अब दिने मात्र विषयमा सिमित रहेन । यो लिने विषय भएको छ । सामाजिक, पारिवारिक, व्यक्तिगत हुँदै अब प्रेमका वृत्तहरू परिवृत्त भएर दिग्दिगन्तसम्म फैलिएका छन् ।

मानिस संसार चाहार्ने चरो भएपछि उसलाई प्रेमचरो भन्दा फरक पर्दैन । फेसबुक, भाइबर, म्यासेन्जर, स्काइप र इमोबाट समेत आजकल प्रेम व्यक्तिन थालेको छ । विज्ञानले ज्ञानलाई जितेको समय आएको छ । यत्र, तत्र र सर्वत्र विज्ञानको हंकीडंकी चलेको छ ।
विगतावस्थामा हाम्रो बाजे बराजुले प्रेमभाव व्यक्त गर्न मानिसलाई नै भेट्नु पर्ने थियो । भलाकुसारी गर्नु पर्दथ्यो । आमुन्ने सामुन्ने भएर गरिएको प्रेम प्रदर्शनबाट मानिसले ‘एस् या नो’को जवाफ पनि पाउँथ्यो भने कतिपय अवस्थामा दैहिक सामिप्यताका कारण उसको प्रेम एकै झट्कामा ४४० भोल्टको करेन्ट लागेजस्तो पनि हुन्थ्यो । तर अब समय बद्लिएको छ । मौसममा फेरबदल आएको छ । मौसम प्रतिकूलताले प्रेमीप्रेमिकाहरू हच्केका छन् ।

प्रेम हुनका लागि मानिस मानिसको सम्मिलन हुनु पर्छ भन्ने छैन । मानिस कोसौं माइल टाढा या हजारौं किलोमिटर दूरसुदूर भए पनि फोनका माध्यमबाट, च्याटका माध्यमबाट सेकेण्ड सेकेण्डमा एक अर्कासँग जोडिन सक्छ । दैहिक मिलन नभए पनि उसका भावनाहरूको क्रयविक्रय र विनिमय हुन सक्छ ।

प्रेम हाइटेक बनाइएपछि नै संसारमा प्रेमको जलवायु परिवर्तन भएको हो । पुर्खाहरू गोठालो जाँदा प्रेम गर्थे । घाँस काट्दा माया साट्थे । घर गृहस्थी गर्दागर्दै बिहेवारीको फन्दामा परिसक्थे । अब भने जमानामा चमक आएको छ । चमकदमकको जमानाले आफ्नो जामा घटाउँदै लैजाँदा कपडा बेपारीलाई भने नाफा र सुचीकारलाई चाहिँ घाटा भएको छ । मानिसका लुगा, विचार, भावना, दया, माया, प्रेम र करुणा सबैसबै छोटिएका छन् । यो प्रेमको सेयरबजारमा दुःखको प्रकरण हो ।

पारिस्थितिक प्रणालीले प्रेमको बेपार आजकाल घाटामा चलेको छ । प्रेमको मवेसीमा आजकाल दाम र दमडी नभएको हरिकंगालका भावनारुपि चौपायाहरू सुक्रीविक्री हुन छाडेका छन् ।

बेपारीहरू भेलेन्टाइन डेलाई प्रेमको सबैभन्दा बढी विक्री हुने दिवस जबदेखि मान्न थाले अनि अग्र्यानिक प्रेमका फसलमा चिलासा लागेका हुन् । प्रेमका भकारीमा आजकाल धोकाका पुतलीहरू जताततै उडेका छन् । प्रेमिल मञ्जिलहरूमा मुच्का र धमिरा देखिन थालेका छन् । शनैःशनैः प्राकृतिक प्रेम उपभोक्तावादी बजारमा विक्री हुन छाडेपछि हाइटेक प्रेमको अनलाइन बेपार ह्वात्तै बढेको छ । कागजी नोट हुनेहरूले प्रेममा धेरै भोट पाउन थालेपछि प्रेमको चुनावमा गरिबहरूको जमानाजफत भएको छ ।

अहिलेको मानिस अनलाइनको सहाराले घडीघन्टा च्याटमा उघ्राइरहेको छ । पोथी घुर सुँघेर दूरसुदूर प्रदेशमा बसेर विचरण गर्नु उत्तरआधुनिक मानिसको दैनन्दिनी भैसक्यो । ऊ पारिवारिक सिकन्जा तोडेर पनि प्रेमका बाली हुर्काउने ध्याउन्नमा रमेको छ । विना उमेर प्रेम प्राप्तिको लालसामा जमेको छ । हातलागी सून्य भए पनि ऊ एक्चुअल दुनियाँको प्रेमलाई चटक्कै बिर्सेर भच्र्युअल दुनियाँमा प्रेमको दाइँ हाल्दै छ । भलै त्यो उसका लागि लाभप्रद होस् या नहोस् ।

संसारका मानिसले सबैभन्दा बढी चाहेको, खोजेको र गरेको विषय प्रेम नै हो । हिजोको प्रेम क्लासिकल थियो । आजको प्रेम बाजारु बनेको छ । हिजो मानिसहरू स्वच्छ र पवित्र प्रेमको वकालत गर्दथे । आज सहरीकरण र बजारीकरणले प्रेमका बास्तविक गुदीमा औंसा पार्न थाले । बाहिरबाट सद्दे देखिएको प्रेम भित्र खोतलेर हेर्दा फतक्कै गलेको पनि हुन्छ । स्वाद् लिनै नसक्ने गरी कुहिएको पनि हुन्छ ।

‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने भाषा र भाव प्रेम अझ त्यो पनि बाजारू प्रेममा लागू हुन्छ । संसारमा प्रेमको इतिहास पढाइ हुने विश्वविद्यालयहरू छन् । छन् –भूगोल, राजनीतिशास्त्र, डाक्टरी, इन्जिनियरिङ्, आइटी, कमर्श, कानुन र विज्ञान अध्ययन गराउने घघडान विश्वविद्यालयहरू । हुँदाहुँदा अब त सेक्सलाई समेत बेलायतले अध्ययन गराउन थाल्यो रे ! अझ भन्ने हो भने मानवशास्त्र र समाजशास्त्र पढाउने हरेक विश्वविद्यालयमा प्र्रेमको अप्सानी नहाली कुनै विषयसूची नै श्रीगणेश हुँदैनन् ।

अफसोचको कुरा विशुद्ध प्रेमको मीमांशा हुने विश्वविद्यालयहरू संसारमा कहीँ छैनन् । कसैले प्रेमको विश्वविद्यालय खोल्ने आँट गर्न सकेन । आजका मितिसम्म प्रेमका विश्वविद्यालयहरू स्थापना भएका देखिँदैनन् ।

अब प्रश्न उठ्छ । मानिसले सबैभन्दा बढी खोजेको, रोजेको र व्यहोरेको प्रेम किन यति हट्क भयो त हाम्रो संसारमा ? उत्तर कतैबाट पनि सही र सटिक पारामा आउन सक्या छैन । भयो के भने, मानिसले जबदेखि प्रेममा स्वार्थका गन्धकहरू मिसावट् गर्न थाल्यो अनि प्रेम समाजमा वर्जित विषयवस्तु ठानियो । लुकेर, चोरेर, छेकिएर, छलिएर, करले, बलले र जालले गरिने वस्तु नै प्रेम हो भन्ने मानिसको मनमा परिसक्यो । त्यसैले प्रेमलाई धुमिल बनाएको छ ।

प्रेमको बादलमा स्नेह, ममता, सहयोग, सहकार्य र सद्भावका भावनाहरू जोडिनु पर्छ । प्रेमलाई संसारले अन्तर्राष्ट्रिय भाषा बनाउनु पर्छ । यसको आयात निर्यातमा कुनै भ्याट वा दैसस्तुर लगाउनु हुन्न । प्रेम संसारका लागि ग्राह्य छ त्याज्य छैन भन्ने भाषा र भाव पैदा हुनु जरूरी छ । अन्ततः प्रेमको विजय सुनिश्चित छ । अढाई अक्षर प्रेमको यति शाश्वत बल छ कि जसको न आदि कन्था कथेर सकिन्छ न अन्त्य पुराण ।

तैपनि जाँदाजाँदै एउटा प्रेमका बारेमा कविता भनेर विदा मागौं ।
‘संसारका सबै हतियारहरू नष्ट गरेर
जताततै प्रेमका विश्वविद्यालयहरू खोल्न पाए
आहा ! मानिस कति जाति हुन्थ्यो ?
फैलाएर भाइचारा, अपनत्व र ममता
संसारभरि बेरोकटोक छर्न पाए
आहा ! मानिस कति माथि हुन्थ्यो ।
आहा !! मानिस कति माथि हुन्थ्यो ।’

 

।।समाप्त।।

Published on May 15, 2017 at 3:53 am

Loading...

यसमा तपाइको मत