अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

यस्तो छ-स्थानीय निर्वाचनप्रति चीनको प्रतिक्रिया

बिआरटीनेपाल २०७४ वैशाख ३१ गते २०:२५ मा प्रकाशित

उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले पहिलो चरणको स्थानीय तह निर्वाचन भएबाट नेपालमा राजनीतिक स्थायित्व, विकास तथा जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

चीनले यसअघि स्थानीय तहको चुनावका लागि नौ मिलियन युआन अनुदान सहयोग नेपाललाई उपलब्ध गराइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चैत पहिलो साता सम्पन्न चीन भ्रमणमा चीनले नेपालको स्थायित्व एवं संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन महत्ववपूर्ण रहेको सन्देश दिएको थियो ।

महरासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्रीले ‘बेल्ट एन्ड रोड’ अवधारणामा नेपाल सदस्य बनेकोमा बधाई दिँदै खुसी व्यक्त गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जारी गरेको प्रेसविज्ञप्तिमा जनाएको छ । गत शुक्रबारदेखि चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड’ मा नेपाल सदस्य बनेको छ । भेटमा ओली सरकारका पालामा हस्ताक्षरित पारवहन सम्झौताको प्रोटोकललाई यथाशक्य चाँडो टुंग्याउन दुवै पक्ष सहमत भएका थिए । चीनले यसअघि स्थानीय तहको चुनावका लागि नेपाललाई नौ मिलियन युआन अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने तथा ऊर्जा सहकार्य फ्रेमवर्क सम्झौताअनुसार ऊर्जासँग सम्बन्धित परियोजना अघि बढाउन चीन सहमत भएको छ । भेटमा चिनियाँ रेल नेपालसम्म विस्तारबारे कुराकानी भएको छ । उक्त अवसरमा नेपालले रेल विस्तारका लागि अघि सार्ने प्रस्तावमा सहयोग गर्ने प्रतिबद्धता चिनियाँ उपप्रधानमन्त्रीले व्यक्त गर्नुभएको हो । सन् २०२० सम्म ‘बेल्ट एन्ड रोड’ अवधारणाअनुसार नेपालसम्म रेल विस्तार गर्न चीन तयार रहेको उहाँको भनाइ छ ।

चीनले बेइजिङमा आयोजना गरेको दुईदिने ‘बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय सम्मेलनमा उपप्रधानमन्त्री महरा, सञ्चारमन्त्री सुरेन्द्र कार्की र भौतिक योजनामन्त्री रमेश लेखक सहभागी हुनुहुन्छ ।

दुई समझदारीमा हस्ताक्षर

नेपाल र चीनबीच दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री महराको चीन भ्रमणका क्रममा स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति र सीमापार आर्थिक विकास क्षेत्र निर्माणसम्बन्धी दुई भिन्नभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको  अन्नपूर्ण पोस्टमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू