अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

नियात्रासित – विवेक दुलाल क्षेत्री “दमक”

बिआरटीनेपाल २०७४ वैशाख ३० गते १७:५० मा प्रकाशित

कविता

नियात्रा !
अहिले प्रत्येक पलमा
म तिमीलाई सम्झी रहेछु .

हो ;
तिमी नमान्न सक्छौ
यो एउटा सहयात्रा मात्र हो
सँगै हिँड्ने साथीको सम्बोधन मात्र हो
मेरो यो आशयलाई
तिमीले -“यो एउटा घटिया पुरुष सोच मात्र हो ..!”
भनेर थुक्न पनि सक्छौ .

नहोस् पनि कसरी
तिमीले नै सङ्कलन गरी तयार परेको अभिलेखमा
थुप्रै नियत्राहरूलाई आततायी पुरुषहरूबाट
बेचिएको ,बलात्कार गरिएको ,जलाइएको कथा
मैले नपढेको कहाँ हो र ..!
दाइजोको निहुमा ,सन्तान नपाएको मिथ्या आरोपमा
धेरै नियात्राहरूले चरम यातना भोग्दै
मृत्यु बरण गरेको दृश्य
मेरा यी आखामा नसल्बलाएको कहाँ छ र ..!

तर नियात्रा …!
लिङ्गकै आधारमा कोही निच र कोही प्रिय हुन सक्तैन
राम्रो काम गर्ने मान्छे ,पुरुष भए पनि राम्रो हुन्छ
नराम्रो काम गर्ने मान्छे नारी भए पनि नराम्रै ठहर्छे
यसैले अग्लो होचो कालो गोरो पढेको नपढेको हुने नहुने
भन्ने कुरामा अल्झेर लगाउने दोष पनि …
असलमा नियात्रा …!बेकार छ .

अनि त
उत्पीडनको विरुद्धमा लड्नेहरू
अन्यायको खातिर अघि बढनेहरू
राष्ट्रियताको खातिर आवाज बुलन्द गर्नेहरू
शीपले जागरले देशको नाम रोसन छर्नेहरू
चाहे पुरुष हुन् या नारी
प्रत्येक नेपाली मुटुमा छाप छाडेकै हुन्छन्.

तर नियात्रा..!
भ्रष्ट भ्रष्ट नै हो
भलै उ आफ्नै कित्ताको किन नहोस्
फटाहा फटाहा नै हो भलै उ अगुवा किन नहोस्
यसर्थ पनि सम्झी रहेछु
नियात्रा ! यी सबै कुरा चिन्ने
तिम्रो आक्रोश कहिले नरोकियोस् भनेर .

हिड्दै गर्दा
ठेश लाग्दा पनि
सपनामा ऐठन हुँदा पनि
स – साना कुराले मन
बोझिल हुँदा पनि
मैले सम्झी हाले भने तिमीलाई
पितृसतात्मक सोच भनेर नदुत्कारे है ..!

सत्य त यो हो कि –
तिम्रो प्रखरताले यति लठ्याएछ कि मलाई
नियात्रा ..!
म अहिले प्रत्येक पलमा
तिमीलाई नै सम्झी रहेछु .

अस्तु :

विवेक दुलाल क्षेत्री “दमक ”

(वास्तविक नाम :भानुभक्त दुलाल )
दमक , झापा हाल :अबुधाबी ,यु ए इ .

प्रतिक्रिया