प्रजातन्त्र प्राप्ति पश्चात् कुन पार्टीले कति शासन गरे, जनताले के पाए ? – अग्नि चौलागाईं

अग्नि चौलागाईं

नेपालमा प्रजातन्त्र प्राप्त भएको करिब २७ वर्ष भई सकेको छ । हाम्रा समस्याहरू हिजोका दिनमा भन्दा आज झन् झन् बढ्दो रूपमा रहेका छन्, राज्यका साधन स्रोतहरू निश्चित व्यक्तिहरूमा सीमित हुने क्रम बढ्दो छ, नब्बेको दशकमा गन्न सकिने युवाहरू रोजगारीको सिलसिलामा परदेशीयको देशमा आज लाखौँ युवाहरू मरुभूमिको तातोमा आफ्ना पाखुरा बजार्दै छन् त कोही मलेसियाको जङ्गलमा बाद्ध्य भएर परिवारबाट टाढा हुँदै काम गर्न बाध्य छन् । सबै पिडामा छन् तर पनि बाध्यताले गर्दा उतै काम गरिरहेका छन् ।

विदेशबाट हरेक दिन जसो नेपालमा लास आउने अवस्था छ, कैयौ सिन्दुरहरु पुछिएका छन् । देश भित्रका उर्जाशील हातहरू विदेशमा भौतारिदै रहेका छन् । ग्रामीण भेगमा गएर प्रजातन्त्र आयो भनेर सोध्यो भने, खै कता आयो, कसलाई आयो भनेर सोध्ने अवस्था छ । ग्रामीण भेगमा आफ्नो श्रम गरेर खानेका लागि हिजो र आजको दिनमा तात्विक अन्तर आएको छैन ।

ठुलो हुंकारको साथ जनयुद्द सुरु गरेको माओवादीको कारणले बीसौं हजारले ज्यान गुमाउनु पर्‍यो । उपलब्धिको रूपमा गणतन्त्र आयो भन्छन् तर अझै पनि जनतालाई हिजो र आजमा प्रजातन्त्रमा फरक नपाए झैँ केही फरक छैन । फरक छ त, धेरै मानिस यसै युद्धको कारणले परदेशमा जान बाद्ध्य भए । दश वर्षे जनयुद्द कालमा देश भित्र उद्ध्योग कलकारखानाहरु खुलेनन् वा खुलेका समेत राम्रो सँग चलेनन, सरकारी स्तरमा चलेका हेटौडा कपडा कारखाना, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना जस्ता धेरै उद्योगहरु या त बन्द गरिए या त कौडीको भाउमा बिक्री गरियो । यस्तै कारणले गर्दा गत चैत्र सम्मको त्रैमासिक प्रतिवेदन अनुसार नेपालले ५५ अर्ब २६ करोडको निर्यात गरेको छ भने ७ खर्ब २६ अर्ब २ करोडको आयात गरेको छ । यसबाट हाम्रो व्यापार घाटा करिब ६ खर्ब रहेको देखिन्छ । देश रेमिटेन्सबाट चलेको र प्वाल परेको घैटो जस्तो भएको छ । विदेशबाट पैसा आउने, सिधा सामान खरिदमा बाहिर जाने । घैटोको प्वाल टाले पो केही जम्मा हुँदै देशमा समेत विकाश र परिवर्तनको आशा गर्न सकिन्थ्यो ।

हुन पनि नेपालमा सदैव अस्थिरता पैदा भएर उद्ध्योगहरु बन्द भई नेपाली युवा परदेश जाने, विदेशबाट रेमिटेन्स पठाउने र सो सिधा भारतीय बजारमा सामान खरिदको लागि जाने अवस्था हुँदा सम्म भारतीय उद्ध्योग धन्दालाइ टेवा पुग्ने र रोजगारी समेत उतै श्रीजना हुने हुँदा भारतले पनि किन नेपालमा स्थिरता देख्नु र ? हुन पनि अहिले सम्म प्रत्यक्ष वा परोक्षरुपमा भारतले गरेका क्रियाकलाप हेर्दा यस्लाई टेवा पुग्ने आधारहरु देखिएका नै छन् । भारतको लागि नेपालको ६ खरबमा तीन खरबको मात्र व्यापार भए पनि एउटा ठुलो बजार हो, जुन उसले गुमाउन चाहने पनि छैन ।

अरू देशले आफ्नो स्वार्थ चाहानु स्वाभाविक हो तर हाम्रा नेताहरूले यस्लाई ठोस रूपमा समाधान गर्न नचाहनु भनेको सरासर देश र जनतामाथि धोका हो । आफ्नो देश, काल परिस्थिति अनुकूल रहने गरी जनताको भावना बुझेर कार्य गर्नु त कता हो कता बाहिरबाट जे आउँछ माग्नेले जे दियो त्यही खाए झैँ लिएर कार्य गर्दै देशलाई दिन दुईगुणा रात चौगुणा डुबाउदै गएका छन् । प्रजातन्त्र प्राप्ति पहिले रहेको भन्दा अहिले वैदेशिक ऋण धुरीमा पुगेको छ । धेरै जसो ऋणहरु अनुत्पादक कार्यमा प्राप्त भएका छन् । धेरै जसो रकम तालिम, गोष्ठी, सेमिनार इत्यादिमा सकिन्छ । कुनै समय मैले आफै काम गर्दा समेत पाँच लाखको कामसम्पन्न गर्न देश विदेशदेखि गरेर पाँच करोड खर्च गरे होलान् । स्थानीय जनताले पाउने भन्दा सयौ गुणा बढी रकम हावामा उडेको हुन्छ । हरेक मन्त्रालयमा बजेट पास गराउन वा सहज रूपमा कार्य गर्न परियोजनाहरुले बिना कामको लागि क-कसलाई पठाउदा सजिलो हुन्छ भन्दै देश विदेशको भ्रमण गराइरहेका हुन्छन् । देश भित्र जे काम हुन्छन् सबैको पब्लिक अडिट गराउन न सरकार चाहन्छ, न पार्टी न अगुवाहरु नै ।

अहिले भएका प्रमुख पार्टीहरू समेत आफूले हिजो गरेका कार्यहरू यो सही, यो बेठिक हुन भनेर सिधा जनता सामु आउन चाहेका छैनन् । हिजो रातारात नदी नाला बेचिएका हुन, देशलाई डुबाउने ठुला परियोजनाहरू विदेशीलाई दिने योजना रहुन वा देशको सार्वभौमिकता नै खण्डित हुने कार्य हुन सबैमा आफ्नो तर्फबाट यहाँ गल्ती भयो भनेर स्वीकार गरिएको देखिँदैन । नेपालमा गल्ती भयो भनी यस्लाई सुधार्नु पर्छ र अगाडी बढ्नु पर्छ भन्ने मानसिकताबाट माथि उठ्न सकेका छैनन् ।

नेपालमा २०४६ सालको जान आन्दोलन पश्चात् चैत्र २६, २०४६ मा राजा विरेन्द्रले दलहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरे पश्चात् जानआन्दोलनको समाप्त भएको घोषणा गरियो । वैशाख ६, २०४७ मा सन्त नेता कृष्ण प्रसाद भट्टराईले नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् प्रथम प्रधान मन्त्रीको रूपमा ४०२ दिन र दोस्रो पटक २९६ दिन गरी जम्मा ६९८ दिन कार्यभार सम्हाल्ने मौका प्राप्त गरे ।

गिरिजा प्रसाद कोइरालाले प्रथम पटक १२८४ दिन, दोस्रो पटक ४११ दिन, तेस्रो पटक ४९१ दिन, चौथो पटक ७६४ दिन, पाँचौँ पटक ८३ दिन गरी जम्मा ३०३३ दिन प्रधानमन्त्रीको रूपमा देश हाक्ने मौका प्राप्त गरे ।
शेर बहादुर देउवाले प्रथम पटक ५४७ दिन, दोस्रो पटक ४३५ दिन, तेस्रो पटक २४३ दिन गरी १२२५ दिन प्रधानमन्त्रीको रूपमा कार्य गरे ।

सुशील कोइरालाले करिब दुई वर्ष ६०८ दिन प्रधानमन्त्रीको रूपमा कार्य गरे । कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाले गरी नेपाली काँग्रेसको तर्फबाट ४,८८६ दिन अर्थात् करिब चौध वर्ष देश हाक्ने मौका प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपाल ६२२ दिन, झलनाथ खनाल २०४ दिन र खड्ग प्रसाद ओली २९७ दिन गरी जम्मा १४०९ दिन प्रधानमन्त्रीको रूपमा कार्य गरेका छन् ।
मावोबादीको तर्फबाट पुष्पकमल दाहालले प्रथम पटक २८० दिन र दोस्रो पटक २८० दिन गर्दै ५६० दिन र बाबुराम भट्टराईले ५६३ दिन गरी जम्मा १,१२३ दिन देश हाक्ने मौका प्राप्त गरेका छन् ।

राप्रपाको तर्फबाट लोकेन्द्र बहादुर चन्दले २०९ दिन र दोस्रो पटक २३७ दिन गरी जम्मा ४४६ दिन, शासन गरेका छन् । यसै गरी राप्रपाका सूर्य बहादुर थापाले प्रथम पटक १९० दिन र दोस्रो पटक ३६४ दिन गरी ५५४ दिन शासन गरेका छन् । राप्रपाले कुल १,००० दिन अर्थात् करिब पाँच वर्ष प्रजातन्त्र प्राप्ति पश्चात् देश हाक्ने मौका प्राप्त गरेका छन् ।

राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष निगरानीमा प्रथम पटक ७ दिन र दोस्रो पटक ४४८ दिन शासन गर्दै ४५५ दिन कुल मन्त्रिपरिषदको प्रमुखको रूपमा कार्य गरेका थिए । स्वतन्त्र रूपमा खिलराज रेग्मीले ३३४ दिन देश हाकेका छन् ।
नेपाली काँग्रेसले ४,८८६ दिन (५३ प्रतिशत), नेकपा एमाले १,४०९ दिन(१५ प्रतिशत), मावोबादी १,१२३ दिन(१२ प्रतिशत), राप्रपा १,००० दिन(११ प्रतिशत), तत्कालीन राजा ज्ञानेन्द्र ४४८ दिन(५ प्रतिशत) र खिलराज रेग्मी ३३४ दिन (४ प्रतिशत) नेपालको सरकार प्रमुख भई शासन गर्ने अवसर प्राप्त गरेकाछन् ।

माथिको उदाहरण हेर्ने हो भने सबै पार्टीले शासन सत्ता सम्हालेका छन् । छोटो समयमा माओवादीले समेत १२ प्रतिशत समय शासन गरेको छ । गणतन्त्र प्राप्ति पश्चातको मात्र हेर्ने हो भने त माओवादीहरू धेरै जसो सत्ताको ओरिपरी नै रहेका छन् । खै किन जनताले फरक महसुस गर्न सकेनन् त ? वास्तवमा केही व्यक्तिहरूको जीवन शैलीमा परिवर्तन भएको होला तर आम जनता भने अस्थिरता, अशान्ति, असुरक्षाको वातावरणमा चेपिएर बसिरहेको छ ।

सबै ठुला पार्टीले अवसर पाएका हुन, तर सबै चुकेका छन् । सबैले देश र जनताको भन्दा पार्टीको र पार्टी भन्दा व्यक्तिगत फाइदाका लागि केन्द्रित हुँदै कार्य गरेका छन् । पार्टी भित्रका दुख पाएका कार्यकर्ताले समेत केही राहत पाएको अनुभूति गर्न पाएका छैनन् । सबै नातागोता र आफन्तको सेरोफेरोमा घुमेका छन् । देश दुबे पनि मा बन्न पाए भैगयो नि भन्ने पथमा नेतृत्व वर्ग बढिरहेको देखिन्छ । कसैले कसैलाई सिधा आरोप लगाउने भन्दा पनि स्वय आत्मसमिक्षा गर्नु पर्ने देखिन्छ ।

अझै पनि पार्टी, गुट, क्षेत्रगत जस्ता विभिन्न भावनाबाट माथि नउठने हो भने हामीलाई भावी पुस्ताले धिक्कार्ने अवस्थामा आफूलाई पुर्‍याउने छौ । विदेशमा सिकिएका सिप, श्रोत साधनलाई देश विकाशमा कसरी बढी भन्दा बढी सदुपयोग गराउन सकिन्छ भनी सोच्ने बेला हामी सबैको भएको छ ।

Published on May 12, 2017 at 11:08 am

Loading...

यसमा तपाइको मत