अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

साहित्यकला मन्दिरको २३औं वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख २९ गते ११:०१ मा प्रकाशित

आर. पी. मैनाली, काठमाडौँ ।
श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कवि, गीतकार वसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न हिजो पुरस्कार वितरण समारोहमा यस वर्षको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ (साहित्यतर्पm) कवयत्री श्रीमती तोया गुरुङ्गलाई, ‘सरस्वती सम्मान’ (काव्यतर्फ) गीतकार श्री कालिप्रसाद रिजाललाई, ‘इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान’ (इतिहासतर्फ) प्राध्यापक हरिकान्त लाल दासलाई, ‘नारायण गोपाल संङ्गीत सम्मान’ (आधुनिक सङ्गीत तथा गायनतर्फ) गायक श्री दीप श्रेष्ठलाई, ‘अरनिको ललितकला सम्मान’ (चित्रकलातर्फ) वरिष्ठ कलाकार श्री उत्तम नेपालीलाई, ‘बालकृष्ण सम रङ्ग सम्मान’ (नाट्य लेखन र निर्देशनतर्फ) वयोवृद्ध, वरिष्ठ मैथिली नाट्य लेखक तथा निर्देशक श्री महेन्द्र मलंगियालाई अर्पण गरियो भने यस वर्षको ‘नेपाल नव प्रतिभा पुरस्कार’ (खेलकुदतर्फ) चर्चित अल्ट्रा धाविका श्री मीरा राईलाई अर्पण गरियो । 

समारोहमा कवि गीतकार तथा संस्थाका अध्यक्ष वसन्त चौधरीको नयाँ कृति ‘जीवन मन्त्र’ को लोकार्पण समेत गरिएको थियो । संस्थाकी कोषाध्यक्ष श्रीमती मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्राध्यापक डा. त्रिरत्न मानन्धरले पानसमा बत्ती बाली गरेका थिए ।

संस्थाकी कोषाध्यक्ष श्रीमती मेघा चौधरी शाक्यले स्वागत मन्तव्य राख्ने क्रममा आफ्नो शैशव कालमै जन्मिएको साहित्यकला मन्दिर सँगसँगै विगत २३ वर्षदेखि बामेसर्दै आफू हुर्किएको, आफ्ना पिताको काव्य यात्रालाई पछ्याउँदै आफूले पनि केही साङ्गीतिक प्रस्तुति दिएको स्मरण गरिन् र सम्मानित स्रष्टाहरूले राष्ट्रलाई साहै्र ठुलो गुण लगाएको उनले बताइन ।

सम्मानित स्रष्टाहरूका तर्फबाट आफ्नो मन्तव्य राख्नेक्रममा वरिष्ठ गायक÷सङ्गीतकार दीप श्रेष्ठले “नारायण गोपाल सङ्गीत सम्मान” प्राप्तगर्नु भएको जीवनकै अहोभाग्य भएको बताए । यसले आफूमा थप जिम्मेवारी थपिन गएको पनि उनले बताए । साथै साहित्य कला मन्दिरले सङ्गीत विधाप्रति नै देखाएको उच्चतम सम्मान भएको पनि उनले भने । 

समारोहमा बोल्दै संस्थाका अध्यक्ष वसन्त चौधरीले आफ्ना मातापिताको नाममा संस्थापित साहित्यकला मन्दिरले आफ्नो २३ औँ वर्षगाँठ मनाइरहँदा मानसपटलमा आफ्ना मातापिताको आदर्श, मार्गदर्शन र साहित्य–कलाप्रतिको उहाँहरूको समर्पण स्मृतिका रूपमा झल्किरहेको बताए । साहित्य, कला र सङ्गीतमध्ये कुनै एक गुण मानिसमा नभई नहुने गुण रहेको, समाज कति सभ्य र सुसंस्कृति छ भनेर हेरिने मापदण्ड नै त्यस समाजको भाषा, साहित्य र संस्कृतिको स्तरले निर्धारण गर्ने हुँदा आफ्नो समाजलाई सिर्जनशील बनाउनुपर्ने, सिर्जनाकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्ने र तिनको संरक्षण तथा सम्बद्र्धन गर्नमा हामी सबै लागिपर्नुपर्ने उनले बताए । सामाजिक परिवेश, विचार, घटना र अवस्थाले साहित्य सिर्जनामा टेवा पु¥याउने भएता पनि उत्कृष्ट साहित्यको सिर्जना ईश्वरीय देनले मात्रै सम्भव हुने बताउँदै आफ्नो पितृभक्तरुपी पुष्पगुच्छा माता–पितामा समर्पित “बोधिवृक्ष” नामक कविता वाचन गर्न समेत उनले भ्याए ।

कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका उपकुलपति तथा इतिहारकार प्रा.डा. त्रिरत्न मानन्धरले साहित्य र कलाले तत्कालीन समाजको चित्रण गर्ने हुँदा कलाशिल्पीहरूको आदर–सम्मान गर्नु भनेको समाजकै र राष्ट्रकै सम्मान भएको बताए ।

प्रा. हरिकान्तलाल दास कमजोर स्वास्थ स्थितिका कारण अनुपस्थित रहेका हुँदा उनको सम्मान तथा पुरस्कार उहाँकी बुहारी मनिषा दासलाई हस्तान्तरण गरिएको थियो भने अल्ट्रा धाविका मिरा राई पनि उपचारको सिलसिलामा देश बाहिर रहेकी हुँदा उनकी बहिनी अनुपमा मगरले उनको पुरस्कार तथा सम्मान ग्रहण गरेकी थिइन ।

स्मरणीय छ, गङ्गादेवी चौधरी स्मृति सम्मान रु १ लाख १ हजार नगद, ताम्रपत्र र दोसल्ला सहितको रहेको तथा अन्य सबै पुरस्कारहरू रु ५१ हजार नगद, ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू