अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

कवि तथा निबन्धकार रेशम विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ विमोचित

बिआरटीनेपाल २०७४ वैशाख २४ गते ४:५९ मा प्रकाशित

कवि तथा निबन्धकारका रुपमा परिचय बनाएका अग्रज पत्रकार रेशम विरही उपन्यासकारका रुपमा आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन, भारतको प्रभाव, आन्दोलनबाट पलायन पात्रको कथामा आधारित विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ शनिबार राजधानीको सर्वनाम थिएटरमा विमोचन गरिएको छ । लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन्  ।

विमोचनपछिको अन्तरसंवादमा पत्रकार पाठकले लेखक विरहीलाई बीस वर्षअघि नेपालगन्जको धम्बोझी चोकमा चिनेको स्मरण गरे । ‘त्यसताका उहाँ एक पत्रिकामा ‘शून्य समय’ स्तम्भ लेख्नुहुन्थ्यो,’ उनले भने, ‘शालीन, गम्भीर र सिरियस व्यक्तिको रुपमा चिनेको मैले आज बीस वर्षपछि सुन्दर उपहार पाएको छु ।’ विभिन्न परिवेश र प्लटलाई सुन्दर संयोजन गरेको भन्दै उनले उपन्यासको कथा पनि सहज रुपमा अघि बढेको बताए ।

‘भारतकै कारण नेपालको राजनीतिमा प्रभाव र त्यसको ठूलो असरलाई उपन्यासमा देखाइएको छ, तपाईंको धारणा के छ रु’ सहजकर्ता पत्रकार दीपक सापकोटाले वाग्लेलाई सोधे । वाग्लेले भने भारतसँगको अनुभव र प्लट ब्ल्याक एन्ड ह्वाइटको रुपमा मात्र आएको टिप्पणी गरे । ‘उपन्यासमा नेपालको कम्युनिस्ट आन्दोलनमा भारतको पूरै प्रभाव परेको देखाइएको छ । उसको सानोतिनो प्रभाव नपरेको होइन तर सत्ता नै उलटपुलट गराउने खालको होइन,’ वाग्लेले भने, ‘ती प्रसंगलाई बरु लेखकले संस्मरणको रुपमा छुट्टै लेख्नुभएको भए राम्रो हुन्थ्यो ।’ विरहीको निबन्धसंग्रह ‘देब्रे आँखा’ पढ्दा आफूले देख्न नपाएको इतिहासलाई बुझ्न पाएको बताउँदै उनले यो उपन्यासचाहिँ ‘दाहिने आँखा’को रुपमा आएको धारणा राखे ।

कवि श्यामलले भने विरहीले उन्यास लेख्दैछु भनेर सुनाउँदा सुरुमा पत्याएका रहेनछन् । विरहीसँग चार दशकदेखि संगत गर्दै आएका श्यामलले कार्यक्रममा भने, ‘ऊ इमोसनल टाइपको मान्छे हो । उसलाई चित्त नबुझेको कुरामा प्रवेश नै गर्दैैन तर जहाँ पस्छ, त्यसलाई गम्भीर तरिकाले पूरा गर्छ । प्रेमदासको डायरी त्यसकै उदाहरण हो ।’ नेपाल, भारतको राजनीतिक परिवेश र प्रेमलाई समेत जोडेर विशाल क्यानभासमा उपन्यास तयार भएको भन्दै उनले इतिहासको आख्यानीकरणको रुपमा गम्भीर कृति आएको बताए ।

अर्का वक्ता नारायण ढकालले भने आफूले लेखिरहेको उपन्यासको कथासँग केही प्लट मिलेको खुलासा गरे । ‘म पनि उपन्यास लेखिरहेको छु, प्रेमदासको डायरी पढ्दा मेरै कथासँग मेल खाने केही प्रसंगहरु पाएँ । अब अर्कै तरिकाले लेख्नुपर्ने भएको छ,’ उनको भनाइ थियो । इतिहाससम्बद्ध गम्भीर विषयमा उपन्यास लेखिएकोमा प्रशंसा गर्दै उनले कम्युनिस्ट आन्दोलनमाथि नयाँ कोणबाट बहस गर्नका लागि उपन्यासमा धेरै ठाउँ रहेको बताए ।

कार्यक्रममो अन्त्यतिर सहजकर्ता सापकोटाले लेखक विरहीलाई सोधे, ‘कम्युनिस्ट हुनका लागि केके गुण र विशेषता चाहिने रहेछन् त रु’
‘गुण र विशेषता जानेको भए म कम्युनिस्ट भइरहन्थेँ । तर म कम्युनिस्ट होइन,’ विरहीले भने, ‘कम्युनिस्ट मात्र होइन कांग्रेसमा पनि लामो समय पार्टीमै लागेकाहरु पछि जोगी हुने धेरै छन् ।’

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू