अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

नेपाली कम्युनिटी सेन्टर सपनावाट यथार्थतिर

बिआरटीनेपाल २०७४ वैशाख १५ गते १३:५६ मा प्रकाशित

यंगेश के.सी., सान फ्रान्सिस्को ।
अमेरिकाको नर्दर्न क्यालिफोर्नियाबासी नेपालीहरूको धेरै समयदेखि अपेक्षा र सपनाको रूपमा रहेको “कम्युनिटी सेन्टर भवन” खरिद व्यवस्थापनमा धेरै अगाडीदेखि छलफल र प्रयासहरू भईरहेता पनि सो अवधारणा तिव्ररुपमा सन २०११ बाट अगाडी बढेको हो तर यतिका लामो समय सम्म पनि सम्पन्न हुन नसकेको सर्वबिदितै छ । नर्दर्न क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुको कुल सङ्ख्या हाल २० देखी २५ हजार आंकलन गरिएको छ ।

यत्रो ठुलो सङ्ख्यामा रहनुभएका नेपालीहरूको मर्दा पर्दा जमघट, सामाजिक, धार्मिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्नको लागि सबैलाई सकेसम्म पायक पर्ने स्थानमा सामुदायिक भवनको अपरिहार्य आवश्यक्ता सबैले महसुस गर्नुभएकै हो र यसलाई सक्दो सहयोग र प्रयास गरी समयमानै सञ्चालनमा ल्याईनुपर्नेमा हालसम्म पनि विविध कारणहरूले सम्पन्न हुन सकिरहेको छैन । सामुदायिक भवन खरिद व्यवस्थापनमा रकम सङ्कलनको लागि सन २०११ मा महा-पुराण लगाइएको, २०१४ मा मह जात्रा लगायत अन्य कार्यक्रम सहित व्यक्तिगत तथा संस्थागत रूपमा हालका NCC संयोजक उत्तम कार्की र ट्रष्टी मेम्वर अनिल पाण्डेबाट जनही $२५,०००।- (पच्चिस हजार डलर) समेत अन्य सबै सहृदयी चन्दादाताहरुवाट हालसम्म लगभग $४,००,०००।- (चार लाख डलर) सङ्कलन भइसकेको जानकारी प्राप्त भएको छ ।

सामुदायिक भवन खरिद व्यवस्थापनको लागि हालको बजार मूल्यलाई मध्यनजर गर्दा लगभग १२ देखी १५ लाख डलर सम्म खर्च लाग्ने अनुमान गरिएको छ जति ढिला भयो त्यतिनै मूल्य बढ्दै जाने हुँदा सकेसम्म छिटो खरिद व्यवस्थापन प्रक्रियामा लैजानुपर्ने हुन्छ त्यसको लागि शुरुवाती डाउनपेमेन्टको लागि आवश्यक रकम थोरै मात्र अपुग हुन सक्छ र त्यसपछिका ऋण तथा ब्याज भुक्तानीका लागि भरपर्दो श्रोत र ग्यारेन्टर पक्कैपनि आवश्यक पर्नेछ ।

नेपालीहरूको सपनालाई साकार पार्न हामी सबै नेपाली दाजुभाइ दिदी बहिनीहरूले होस्टेमा हैंसे गर्‍यौँ भने यो कुनै जटिल विषय पनि हैन तर हामी सबैले आफ्नो मन मस्तिस्क र हृदय लगाएर सहयोग गर्नै पर्छ । हाल सम्म संस्थागत रूपमा NANC र NCC सँगै यी संस्थासँग संलग्न यान राई, घन प्रसाद दवाडी, उत्तम कुमार कार्की, तेज राई हुँदै रविन्द्र राई सम्म आईपुग्दा संस्थागत प्रयासहरू जति हुनुपर्थ्यो त्यति नभएको हो कि भन्ने आभास भएको हो ।

सन २०१५ देखि NCC संयोजक उत्तम कार्कीको नेतृत्वमा नेपाली कम्युनिटी सेन्टर खरिद व्यवस्थापनको प्रक्रिया अगाडी बढेपश्चात केही आशाको किरण देखिएको छ । NCC संयोजक कार्कीका अनुसार उहाँले व्यक्तिगत रूपमा आफैँले ठुलो राशिको चन्दा घोषणा, विभिन्न कार्यक्रमको संयोजन, चन्दा सङ्कलन गरेर, मह जात्रा, लायन्स क्लवसंग सहकार्य, फरक मत राख्ने असहमत पक्षसँग सल्लाह र सहमति गरी गराई, NCC र NANC को व्यापक प्रचार प्रसार गरी युवा तथा पत्रकारहरुको साथ र सहयोग लिई हालसम्म आफ्नो प्रयास जारी राख्नु भएको छ । एक्लो बृहस्पति झुठा भनेझैं एक्लो प्रयासले ठुलो प्रोजेक्ट सफल हुन गाह्रो नै हुन्छ। त्यसमा सबैले आ-आफ्नै स्थानबाट सकारात्मक पहल र सहयोग गर्न सकिएन भने नेतृत्व सँगै प्रोजेक्टनै असफल हुने सम्भावना बढेर जान्छ । यस्ता कार्यक्रमहरू सफलतापुर्वक सञ्चालनको लागि युवा पुस्ता तथा सञ्चारकर्मी मित्रहरुको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

NCC Standing Committee र NANC को हालै सम्पन्न संयुक्त मिटिङ्गवाट सामुदायिक भवन को लागि Fund Raising गर्न Raffle चिठ्ठा कार्यक्रम सञ्चालन गरी करिब ५००० चिठ्ठा वितरण गर्ने, प्रति टिकट $१००।- हुने प्रथम पुरस्कार कार, दोस्रोमा हिराको हार, लगायत तेस्रोमा सुनका सिक्काहरु र सान्त्वना पुरस्कार लगायत करिब $५०,०००।- बराबरको पुरस्कार वितरण गर्ने गरी कार्यक्रम सुरुवात गर्ने निर्णय भएको छ जसमा कानुनी परामर्श लगायतका कुराहरू मिलाउन Attorney यज्ञ नेपाललाई अनुरोध समेत गरिसकिएको छ ।

साथै संयोजक कार्कीका अनुसार Fund Raise को लागि अमेरिका भरि रहेका नेपाली कलाकारहरू निमन्न्रणा गरी सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने जसको लागि ट्रष्टी मेम्बर अनिल पाण्डे ज्यूलाई उक्त कार्यक्रमको अध्ययन तथा संयोजन गर्न अनुरोध गरिएको छ । त्यसै गरी Golden Gate Bridge बाट “Everest Marathon” वा Walkathon आयोजना गरी Fund Raise गर्न सकिने अवधारणाको लागि NANC सदस्य पदम लामालाई त्यसको सम्भावना र परिणाम सम्बन्धमा अध्ययन गर्न अनुरोध समेत गरिएको छ । साथमा Fund Raise गर्न सहयोग गर्ने खालका अन्य के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ त्यसको लागि सदैव सल्लाह सुझाव र सहयोग समेत NCC ले अपेक्षा गरेको संयोजक कार्कीले उल्लेख गर्नु भयो ।

नेपालीहरूको अवधारणा, सपना र आवश्यक्ताको रूपमा रहेको कम्युनिटी सेन्टर भवन हुनुपर्छ र बन्नुपर्छ भन्ने विषयमा कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनीहरुमा दुईमत छैन छ त केवल सकारात्मक सद्भाव र सहयोग । अमेरिकाभित्रै रहेका अन्य राज्यहरू जहाँ नेपालीहरूको सङ्ख्या कम रहेको छ तिनिहरुमध्ये धेरैमा कम्युनिटी सेन्टर बनिसकेको अवस्थामा नेपालीहरूको उल्लेख्य सङ्ख्या रहेको नर्दर्न क्यालिफोर्नियामा सबै नेपालीहरूको पहल र सहयोगमा छिटो भन्दा छिटो कम्युनिटी सेन्टर स्थापित हुने छ भन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया