अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

निर्वाचनमा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौतीः गृहमन्त्री

बिआरटीनेपाल २०७४ वैशाख ८ गते ११:३६ मा प्रकाशित

बनेपा, वैशाख ८ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताउनुभएको छ ।

आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी हो ”।

गृहमन्त्री निधिले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भीक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिनुभयो ।

एघार जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन् ।

यसैबिच पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताउनुभयो ।

उहाँले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढङ्गले प्रस्तुत हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गर्नुभयो ।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । अधिकांश सहभागीले विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू