अल ईण्डिया रेडियोको रेकर्डिङ देखी ‘दपर्ण छायाँ-२’ सम्मका संगीतकार चन्दन लोम्जेल(अन्तरवार्ता)

‘मेरा सबै रात अव मातहरु भए’, ‘कति बग्यो बग्यो आँखै मुनि पानी’, ‘एक चिम्टी सिन्दूरमा’, ल है मलाई गुँरासले सुहाउँछ जस्ता अत्यन्त कर्णप्रीय कालजयी गीतहरुमा सङ्गीत भरेका सङ्गीतकार चन्दन लोम्जेल यस्ता व्यक्ति हुन् जो दार्जिलिङमा बसेर नेपाली गीत सङ्गीतको विकास र प्रर्वद्र्धनमा निरन्तर लागिरहेका छन् । उमेरले ६७ वर्ष पुग्दै गरेका सङ्गीतकार लोम्जेलको पुरै जीवन नेपाली सङ्गीतमा बितेको छ । स्वरसम्राट नारायण गोपालले राम्रो सङ्गीतकार भनेर उनको चर्चा गर्दा लोम्जेल जम्मा ३० वर्षका थिए ।

सङ्गीतका प्राय सबै बाध्यवादनमा दक्ष लोम्जेल यस्ता सङ्गीतकार हुन् जसको सङ्गीतमा मुर्छना र कला उत्तिकै सशक्त छ । निर्देशक तुलसी घिमिरेको पछिल्लो चलचित्र दर्पण छायाँ २ का सङ्गीतकार चन्दन लोम्जेललाई पछिल्लो पुस्ताले कमै चिन्छन् । बरु उनलाई चिनाउनको लागि उनकी पत्नी डेजी बराईलीको भैंसी लड्यो है माया भिरबाट हेर गीत गाउने गायिकाको श्रीमान् भन्ने गरेको पनि धेरै ठाउँमा सुनिन्छ ।

मिजासिलो स्वभाव, नेपाल र नेपाली भनेपछि मनैबाट देखाउने उनको आत्मीयता, मिठो बोलीचाली, पटक्कै घमण्ड नभएको सरल स्वभाव र अनुहारमा देखिरहेन एउटा ओजस्वी मुस्कान लोम्जेलका निजी सम्पत्ति हुन् ।

तिनै सङ्गीतकार चन्दन लोम्जेलको लामो सांगीतक यात्राका संर्घर्ष र उतार चढावका विषयमा बिआरटी नेपालकी सुषमा देवकोटाले गरेकोे कुराकनी 

-दिन कस्तो बित्दै छ ?
सामान्य छ । साङ्गीतिक माहौलमा रमाइरहेको छु । चर्चित निर्देशक तुलसी घिमिरेको चलचित्र दर्पण छाँया–२ को गीतबाट आएको प्रतिक्रियाले खुसी छु ।

– कस्तो लाग्यो पहिलो पटक चलचित्रमा सङ्गीत गर्दा ?
यो मेरो लागि गोल्डेन चान्स हो । प्रत्येक सङ्गीतकारको मनमा एउटा एउटा सपना हुँदो रहेछ, हुन्छ नै । मेरो पनि पुरानो सपना थियो, चलचित्रको कथामा बसेर सङ्गीत गर्ने, यति बेला त्यो सपना पुरा भएको छ । चर्चित निर्देशक तुलसी घिमिरेको चलचित्रमा काम गर्न पाउनु मेरो अहोभाग्य पनि हो । उहाँले मलाई सङ्गीतका लागि चुन्नु भयो, म आफैलाई पनि रहर थियो, उहाँ जस्तो चलचित्रका, सबै विधालाई नजिकबाट छोएको र भोगेको चर्चित व्यक्तिसँग काम गर्ने । जीवनमा २ वटा खुसी अत्यन्त महत्त्वपूर्ण रहे मेरा लागि । एउटा नेपाली सङ्गीतमा भर्खरै बामे सर्दै गर्दा स्वर सम्राट नारायण गोपालले मेरो सङ्गीत मन पराएर गाएको त्यो दिन र अर्को  दर्पण छायाँ–२ मा सङ्गीत दिन पाउँदा । सपनाहरू पुरा हुँदा हुने खुसी शब्दमा व्यक्त गरेर सकिँदैन रैछ ।

– बाल्यकाल कस्तो थियो ?
बाल्यकालमा म चञ्चल स्वभावको थिएँ, फुटबल खेल्थें बेसी । गाउँमा देउसी भैलो हुन्थ्यो, आफूभन्दा ठुला दाईहरुले हारमोनियम बजाएको देख्दा साह्रै रहर लाग्थ्यो बजाउन । दार्जिलिङमा चर्चित सङ्गीतकार मोहनसिंह लोहागन हुनुहुन्थ्यो, उहाँको टिममा मिसिएर जान्थे देउसी भैलो खेल्न । उहाँले हार्मोनियम बनाएको म सुन्ने मात्र होइन, ध्यानले उहाँका औंलाहरुको चाल पनि हेर्थें ।

बिस्तारै ठुलो हुँदै गएँ, मेरो साथी थियो अरुण सिंह । त्यति बेला कार्निभल सङ्गीत समूह खुलेको थियो । कार्निभलका साथीहरू अरुणको घरमा आउँथे । कार्निभल सन् १९७१ मा खुलेको साङ्गीतिक समूह होे । त्यो समूहमा मैले एउटा छिकछिक गर्ने बाजा बजाउने जिम्मेवारी पाएँ । यो सन् १९७५ को कुरा हो । एउटा सानो बाद्यबाधक भएर छिरेको म आज कार्निभल साङ्गीतिक टोलीको सम्पूर्ण जिम्मेवारी आफूले नै लिएर काम गरिरहेको छु ।

– औपचारिक रूपमा सङ्गीत यात्रा कहिले देखि थाल्नु भयो ?
दार्जिलिङमा हुँदा खर्साङ्गमा अलईण्डिया रेडियोबाट “सारा संसार पथ्थर बनी” बोलको गीत पहिलो पटक रेकर्ड भयो । यो डेजि बराईलीको स्वरमा छ । त्यसपछि कार्निभल सङ्गीत समूहको हाम्रो टिमले एउटा क्यासेट पनि निकालेका थियौँ ।

गीत रेकर्डिगंकै लागि पहिलो पटक १९८३ अप्रिल ६ मा म काठमाण्डौं आएँ । नेपालमा पहिलो पटक रेकर्ड भएको गीत “आखाँमा लुकेको समुन्द्र आज” हो । यो पनि डेजि बराईलीले गाएको गीत हो । त्यो बेला आज भोलि जस्तो रेकर्डिङ स्टुडियो थिएन । रत्न रेकर्डिङ संस्थानबाट डिस रेकर्ड भएको गीत थियो यो । त्यसपछि भैरवनाथ रिमालका गीतहरू लगायत अरू गीतहरू गरेँ ।

-कसरी जुरेको थियो दार्जिलिङ देखि काठमाण्डौं सम्मको यात्रा ?
त्यो समय रत्न रेकर्डिङ संस्थानले दार्जिलिङका राम्रा–राम्रा कलाकारहरुलाई हरेक वर्ष या दुई वर्षमा एक पटक दार्जिलिङबाट नेपाल बोलाएर गीतहरू रेकर्ड गराउथ्यो । त्यो रेकर्डिङको क्रममा आउँदा गोपाल योञ्जनले हामीलाई रेडियो नेपालमा पनि लग्नु हुन्थ्यो । दार्जिलिङका कलाकारका लागि गोपाल योञ्जन गड फादर नै हुनुहुन्थ्यो । हामी जति पनि कलाकार दार्जिलिङबाट आउथ्यौं, गोपाल योञ्जनको ढोका ढक्ढक्याउन पुग्थ्यौं ।

-कस्तो हुनुहुन्थ्यो गोपाल योञ्जन ?
एकदमै आत्मीय व्यवहार, सबैलाई सम्मान गर्ने, सानो भन्दा सानो कलाकारलाई माया गर्ने स्वभाव थियो उहाँको । नारायण गोपालको गीत रेकर्ड गर्दा गोपाल योञ्जनले मलाई मोटरसाइकलमा चढाएर रेडियो नेपाल लानु भएको थियो । उहाँ आफै रेकर्डिङ रुममा बसेर मिक्सिङ देखि सबै काम गरिदिनु भयो । त्यो क्षण साँच्चै रमाइलो थियो । म गीत गाईरहेको थिएँ, रेकर्डिङ रुममा गोपाल योञ्जन सँगै दिब्या खालिङ्ग । मैले कति ठुलो सहारा पाएको थिएँ । जति बेला म सङ्गीतमा बामे सर्दै थिएँ, त्यो समय उहाँहरूको यो साथ र गुन मैले भुल्न नसक्ने गुन हुन ।

-गायिका डेजि बराईली सँगको भेट र विवाह सम्मको यात्रा कसरी जुर्यो ?
दार्जिलिङमा भानु जयन्ती धुमधामले मनाईन्छ । डेजि जहाँ बसेर पढ्थीन त्यो गाउँमा पनि भानु जयन्ती मनाईन्थ्यो । त्यो वर्ष मलाई त्यहाँ बजाउनको लागि बोलाईयो । पहिलो भेट त्यही थियो ।

त्यो बेला डेजिले “भैंसि लड्यो है माया” गीत गाईन्, मैले बजाएं । त्यो गीतमा ४ वटा अन्तरा रहेछ । जम्मा ५ भर्स रहेछ । मलाई थाहा नै भएन त्यो गीत त्यति लामो छ भनेर । ३ भर्स मात्र बजाएर म्युजिक बन्द गरिदिए । सकियो होला जस्तो लागेर बन्द गरेको थिए, डेजि स्टेजमा पुरा रिसाईन । बिचरा के गर्नु के गर्नु भएर उ रिसाएको थियो, यता मैले म्युजिक बन्द गरेको थिए, उनले गाउनु पर्ने गीत बाँकी थियो ।

पछि मैले कार्यक्रम सकिएपछि आंफै बोलेर “हाम्रो एउटा कार्यक्रम छ, तपाँई गाउन आउनु पर्छ ह”ै भने । उनले त्यो बेला हुन्छ त भनिन तर उनकी एक जना साथीले “अँ त्यो मान्छेले कहाँ पो लैजाला है तिमीलाई फेरी, नजाउ है” भनेकी रहिछन् ।

यसरी हामी सँगै कार्यक्रमहरूमा हिड्न थाल्यौं । उनले कार्निभल समूहमा रहेर गाउन थालिन । सँगै हिड्दा हिड्दै मन मिल्यो, बिचार मिल्यो, क्षेत्र पनि एउटै । यो प्रेम १९८९ मा पुगेर विवाहमा परिणत भयो ।

अहिले हाम्रो ४ जनाको परिवार छ, एउटा छोरा र एउटा छोरी छन् । छोरा अनमोल लोम्जेलले पनि सरस्वती माताको कृपाले राम्रो ठाउँमा पाइला टेकेको छ, मुम्बईका चर्चित गायक मोहित चौहानको ग्र्रुपमा उ लिड गितार बजाउँछ । छोरी कलकत्ताको बोलपुर शान्ति निकेतनमा फिलोसोपी अनरको विद्यार्थी हुन् । उ त्यहीँ भोकल पनि सिक्छे । राम्रो गाउँछे छोरी पनि ।  

-सङ्गीतमा लाग्दाका युवा अवस्थाहरु सम्झदाँ कस्तो लाग्छ ?
ती दिनहरू फेरी फिर्ता हुँदैनन् । सङ्गीत भएपछि सबथोक भयो जस्तो लाग्थ्यो । स्वर्ग नै यही हो, संसार नै यही हो जस्तो । घरमा “ल त एक बाल्टिन पानी भर्दे” भन्दा जाँगर नचल्ने म घण्टौं साथिभाई सँग बसेर हार्मोनियमा गीत गाउँथें । यही हो जिन्दगी, सपना, स्वर्ग सवथोक जस्तो लाग्थ्यो ।

-सुरुका दिनका संर्घस देखी आज सम्म आईपुग्दा कस्तो लाग्छ ?
सायद तेन्जीङ सेर्पाले पनि चुचुरा गनेको भए सगरमाथामा पुग्ने थिएनन् होला । मैले पनि साङ्गीतिक चुचुरो टेक्न खोज्दा गरेका संर्घसका हिसाब नै राखिन । कति डाँडा र पहाडहरुमा ठोक्कीएँ हुला, कति समस्या भोगेहुँला त्यसको गन्ती नै राखीन । आज चलचित्र दर्पण छायाँ–२ मा आईपुग्दा आफ्नै जिन्दगीको दर्पणमा आफूलाई हेरिरहेको छु ।

– त्यो समय नेपालमै बँसु जस्तो लागेन ?
कहिले काहिँ आउँथ्यो यो कुरा पनि मनमा । तर उता डेजी र मेरो नै जागिर, नानीहरू पढ्ने, घर परिवारको जिम्मेवारी । घर परिवारको मात्र नभएर दार्जलिङको पनि जिम्मेवारी थियो । सबै कलाकार दार्जिलिङबाट बाहिरीएर दार्जलिङलाई शून्य बनाउनु पनि भएन, टुहुरो बनाउनु भएन दार्जिलिङलाई । यही कुरा मनमा आयो । आफू जन्मे हुर्केको दार्जलिङप्रति पनि हाम्रो दाहित्व रहन्छ, यहाँको साङ्गीतिक माहौललाई जोगाउन पनि हामीले दार्जिलिङ छोड्न मिल्दैन जस्तो लाग्यो र डेजी र म उतै बसेउँ ।

-नारायण गोपाललाई कसरी सम्झनु हुन्छ ?
मलाई गोपाल योञ्जन र नायायण गोपालको स्वभाव उस्तै लाग्थ्यो । कतिले भन्छ, नारायण गोपाल घमण्डी थियो भनेर तर म यो कुरा मान्दीन । नारायण गोपाल घमण्डी भएको भए म अवसर खोज्द ै सङ्गीतमा बामे सर्दै गरेको, भर्खरै नेपाल छिरेको ३० वर्षको केटाको सङ्गीतमा उहाँले गाउनु हुन्थेन । मैले त कल्पना पनि गरेको थिइन नेपालको यति ठुलो गायकले यति छिटै र सजिलै मेरो गीत गाउनु होला भन्ने ।

मेरो ठुलो सपना थियो नारायण गोपालले मेरो सङ्गीतमा गाएको सुन्ने । मैले नारायण गोपाललाई भेटेर आफ्ना गीतहरू सुनाएँ । ५–६ वटा गीत सुनेपछि उहाँले “मेरा सबै रात अव” गीत मन पराएर रेकर्ड गर्नु भयो ।

-नारायण गोपालको स्वरमा गीत रेकर्ड गराएर दार्जलिङ फर्कदै गर्दा मनले के सोच्यो ?
त्यो बेला मनमा ठुलो खुसी बोकेर फर्कदै थिएँ दार्जिलिङ । जुन देशमा नारायण गोपाल बस्नु हुन्छ त्यो देशले मलाई ठुलो गुन लाएको छ जस्तो लाग्यो । आज पनि त्यो समयमा मलाई साथ दिनुहुने नेपालका संगीतकर्मी र मलाई माया गर्नुहुने श्रोता प्र्रति म ऋणी नै छु जस्तो लाग्छ ।

नारायण गोपालले मेरो लागि सिंडी बनाईदिनु भयो जुन सिंडी उक्लदैं उक्लदैं म आज यहाँ सम्म पुगें । आज पनि मलाई चिन्ने धेरैले नारायण गोपालले मन पराएको सङ्गीतकार भनेर अरूलाई चिनाउनु हुन्छ । थुप्रै गीतहरू गरेँ, तर म आफैँ पनि नारायण गोपाललाई सम्झन्छु । आज उहाँ भएको भए ? जस्तो लागिरहन्छ । नारायण गोपालको अभाव खड्कन्छ मलाई सधैँ ।

– दार्जिलिङबाट नेपाल आएर बसेका कलाकासंग यता आउँदा कत्तीको भेटघाट हुन्छ ?
म नेपाल आउँदा मिलेसम्म नेपालमा बस्नुहुने उताका कलाकार सबैले भेट्नु हुन्छ । म साह्रै खुसी हुन्छु सायद उहाँहरूले पनि मेरो अनुहारमा दार्जलिङको आफ्नो गाउँ देख्नुहुन्छ होला । मेरो छेउमा दार्जलिङको मानचित्र, भेट््नुहुन्छ होला, त्यहाँको चिया बारी चौरस्ता आदि नजिक भएझैं लाग्छ होला । आफ्नो गाउँ घर साथीभाई, बाटो पंधेरो सोध्नु हुन्छ ।

-कसरी धानेका छन् दार्जिलिङका संगीतकर्मीले नेपाली सङ्गीतलाई ?
दार्जिलिङ भारतको एउटा स्टेट भित्रको सानो जिल्ला हो । बंगाल स्टेटको एउटा जिल्ला जसलाई आफ्नै देश भारतले पनि पर पारेको ठाउँ हो दार्जिलिङ । गाह्रो अप्ठ्यारो त कति छ कति तै पनि नेपाली सङ्गीतको मायाले हामी सकीनसकी घिस्रीरहेका छौँ । थुप्रै अप्ठ्यारोको बाबजुत आज पनि शान्ति ठटाल गाउँदै हुनुन्छ, कुमार सुब्बा र डेजीहरु आफ्नो गीत भनेर गाउँदै छन् । हामीलाई जति मुस्किल होस् हामी नेपाली गीतहरुमा रमाएरै काम गरिरेका छौँ ।

आज पनि दार्जिलिङको चौरस्तामा वर्षको २ पटक साङ्गीतिक र सांस्कृतिक कार्यक्रम हुने गर्छ । अरू थुप्र्रै ठाउँहरूमा नेपाली कार्यक्रम भई नै रहेका छन् । १९७१ मा सुरु भएको कार्निभल समूह आज सम्म पनि निरन्तर कार्यक्रम गरिरहेकै छ ।

हामी जति पनि पुराना कलाकार छौँ, नयाँ पुस्तालाई सिकाउँदै अघि बढाउँदै छौँ । आज पनि दार्जलिङमा नेपाली साङ्गीतिक कार्यक्र्रम भैरहेका छन् ,मारुनि, डम्फु नाच, सङ्गिनी, झ्याउरे आदि उस्तै गरी बाँचेकै छन्।

– दार्जिलिङका नयाँ पुस्तामा नेपाली सङ्गीतको प्रभाव कस्तो छ ?
हिजो हाम्रो पालोमा जस्तो अप्ठ्यारो त छैन उनीहरूलाई । टेक्निकल हिसाबले धेरै कुरामा अगाडी छन् । मोबाइलमा सुनेर पनि प्राक्टीस गर्ने गर्छन् । दाजलिङका कमान र बस्ती बस्तीहरुमा राम्रा प्रतिभा भएका भाईबहिनी छन् । दार्जिलिङ, कालेम्पुङ, खर्साङ आदि ठाउँमा गरी अहिले १० वटा जति रेकर्डिङ स्टुडियोहरु होलान् ।

हाम्रो पालोमा झैँ गीतहरुको प्राक्टीस गर्न सङ्गीतकारको घर घरमा पुग्नु पर्ने समस्या छैन टेक्नोलोजीले गर्दा । तर दार्जिलिङमा आज पनि सङ्गीतबाट कमाउन गाह्र्रो छ । ऋण धन गरेर निकालेको सिडीहरु आफैले गोजीमा बोकेर बेच्न हिड्नु पर्छ । साउँ पनि उठ्दैन प्राय गीतहरुको ।

नेपालमा त गीतको एल्बम तयार भएपछि कम्पनीले लिईदिन्छ, प्रचार प्रसार हुन्छ, विभिन्न देश विदेशको कार्यक्रममा पनि गायक गायिकाले अवसर पाउँछन् तर दार्जलिङमा यस्तो कुनै कम्पनी र सुविधा छैन । तै पनि नयाँ पुस्ता आफ्नो सङ्गीत मोह र शोखले सङ्गीत एल्बम निकाल्ने गरिरहेका छन् ।

– कस्तो लाग्छ नेपालका श्रोता दर्शक र मिडियाले आफूलाई खोज्दा ?
म सन् २००६ साल देखी नेपालयको कार्यक्रममा आइरहेको छु । नेपालयमा आभास जी हुनुहुन्छ । आभास जी हाम्रो लागी एउटा पुल बन्नु भएको छ जसले दार्जलिङ र नेपालका कलाकारलाई जोड्ने गरेको छ । उहाँ उताका कलाकार खोजीखोजी नेपाल ल्याएर कार्यक्रम गर्नहुन्छ ।

म आभासजी प्रति आभारी छु । नेपालयले गर्दै आएको पलेटी कार्यक्रममा आभासजीले मलाई छुटाउनु भएको छैन । म पलेटी कार्यक्रमकै लागि शान्ति ठटाल सँग २ पटक, डेजी बराईलि सँग २ पटक र कुमार सुब्बाको कार्यक्रम लगायत २०१२ र २०१३ मा भएको कार्यक्रम जसमा वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतको कार्यक्रम थियो । दाजिलिङबाट डेजी बराईली, दावा ग्याल्मो र म लगायत हाम्रो बाध्यवादन टिम नै आएको थियो । उताका र यताका कलाकार, बाध्यवादक सँगै जोडीएर गर्न पाएको त्यो कार्यक्र्रम अत्यन्त सुखद थियो ।

त्यो बेला नेपाली मिडियाका पत्रकारहरु र श्रोता दर्शकले देखाएको मायाको त म ऋणी नै छु । त्यो समय हामी बिहान उठ््नासाथ पत्रिका हेर्न जान्थेउँ । कान्तिपुर, नागरिक दैनिक ,अन्नपूर्ण पोस्ट, द हिमालयन लगायत पत्रपत्रिका र म्यागजीनहरुले हामीहरूको समाचार छाप्यो । ती सबै पत्रिकाहरु मैले संगालेर घरमा जतन गरेर राखेको छु । नेपालका सबै टेलिभिजनले कार्यक्रम र हाम्रो बारे न्युज बनायो मिठो माया पाएको महसुस भयो मलाई ।

-कस्तो लाग्छ नेपाल आउँदा ?
नेपालय लगायत यहाँका श्रोता र मिडियाले मलाई गुन लगाउनु भएको छ । मलाई त सधैँ यस्तो लाग्छ भौगोलिक दुरीले मात्र हामी मेची बारी पारी छौँ तर हामी एउटै आमाको दूध खाएका सन्तान हौँ ।

मलाई कैलेहि पनि लाग्दैन नेपाल अर्कै देश हो । नेपालमा हुँदा मलाई मलाई आफ्नै घरभित्र छु जस्तो लाग्छ । (हाँस्दै) यत्ति हो मौसम हेर्दा दार्जिलिङमा भन्दा यति बेला काठमाडांैमा अल्लि बढी गर्मी छ ।

-आफ्ना श्रोतालाई कसरी सम्झनु हुन्छ ?
मेरा दुई चार शब्दले उहाँहरूको माया र आत्मीयतालाई धन्यवाद दिएर मात्र पुग्दैन । आजको चन्दन लोम्जेल बनाउनमा नेपाली स्रोताहरुको ठुलो योगदान छ । म नेपाल र नेपालीले लगाएको गुनको सधैँ ऋणी छु । सधैँ यस्तै माया र साथको अपेक्षा गरेको छु मेरा स्रोताहरुवाट । मेरो कोसिस रहन्छ सधैँ यो मायालाई बचाएर राख्ने र राम्रा संगीतहरु दिने ।

Published on April 21, 2017 at 4:35 am

Loading...

यसमा तपाइको मत