के दियो यो माटोले ? – रसिक राज

रसिक राज

पाइतलाहरूले कुल्चदा
माटोले दुखेको गुनासो कहिल्यै गरेन
नगर्यो दुखेसो
हत्केलाहरुले निर्दयी भएर
छातीमा फरुवा चलाएको प्रति।

उसलाई युग युगान्तर बन्धक बनाइरहे मान्छेहरूले आलीहरू-मेरहरूमा
उ उडिरह्यो धुलो बनेर सबै तिर
र दियो स्वतन्त्रताको परिचय

उसले कहिल्यै विभेद गरेन
यो
उकालो/ओरालो यो समथर भनेर
न कहिले बिभाजन गर्‍यो
तँ खाल्टो तँ ढिस्को
तँ शिखर वा तँ सागर भनेर

उसलाई सधैँ सधैँ च्यातिरहे मान्छेहरूले राता रेखामा,
तर उसले उमारी रह्यो दुबो उस्तै दुवै तर्फ
र बतायो समानताको उदाहरण।

फुक्दै फु.. फु..सिरेटाहरू-उसले सास दियो।
सहेर भार-कंक्रिटहरूको-उसले बास दियो।
फलाई धान-मसुरो-मकै-उसले गाँस दियो।
फुलाई चम्मा बेली गुराँस -उसले सुवास दियो।

उ माटो उसले जीवलाई जीवन दियो!
र दियो मरे पछि गज भरिकाे एक पाउ आफ्नै मुटु
तर मजस्तै मान्छेहरूले जीवन भरी गुनासो गरिरहे
आखिर यो माटोले के दियो ?

Published on April 19, 2017 at 3:27 am

Loading...

यसमा तपाइको मत