अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

नेपाली समाज ह्युस्टनद्वारा आर्थिक सहयोग अभियान

बिआरटीनेपाल २०७४ वैशाख ५ गते २२:१२ मा प्रकाशित

सुजन पण्डित, ह्युस्टन, टेक्सस
नेपालीहरू आफ्ना प्रियजनलाई अफ्ठ्यारो पर्दा कति सहृदयी हुन्छन् र सकेको सहयोग गर्न तत्पर भैहाल्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण Nepalese Association of Houston (NAH) ले हालै सुरु गरेको दुईवटा सहयोग सङ्कलन अभियानबाट प्रमाणित भएकोछ। दुई मध्ये एक सहयोग अभियान ह्युस्टन मै जीवनको आधा समय बिताएका युवा संगीतकर्मी सुभान्जन द्वाको क्यान्सर उपचारको लागि हो भने अर्को नेपालबाट आँखाको क्यान्सर उपचारका लागि ल्याइएकी २८ महिने बालिका सुभारम्भी गौतमको आँखामा भएको क्यान्सर उपचारको लागि।

सुभान्जन द्वा’ आर्थिक सहयोग अभियान
नेपाली समाज ह्युस्टनका एक होनहार सदस्य एवं झन्डै १५ वर्ष ह्युस्टन मै बिताएका ३० वर्षीय संगीतकर्मी, जसले “बिग माउन्ट ब्याण्ड” समेत स्थापना गरेर ह्युस्टनबासी नेपालीहरूलाई आफ्ना सुमुधुर सङ्गीत मार्फत गुण लगाएका थिए, उनै संगीतकर्मी द्वालाई हालसालै घातक रोग क्यान्सर भएको पत्ता लागेको।छ संगीतकर्मी द्वाको उपचार सहयोगार्थ नेपाली समाज ह्युस्टनले यही अप्रिल २१ तारिक शुक्रवार साँझ स्थानीय ताज हलमा (5615 Savoy Dr, Houston TX, 77036) आर्थिक सङ्कलनका लागि डिनर (Fundraising Dinner) को आयोजना गरेकोछ। त्यसैले ह्युस्टन वरिपरि रहनुभएका नेपाली तथा नेपालीभाषी समुदाय र अन्य शुभचिन्तक महानुभावहरुलाई उक्त डिनरमा सहभागी भई आफ्नो प्रिय कलाकारको उपचारमा सहयोग पुर्‍याउनु हुन नेपाली समाज ह्युस्टनले एक अपिल मार्फत अनुरोध गरेकोछ। नेपाली समाजका सहसचिब द्रोण गौतमका अनुसार बयस्कहरुका लागि ५० डलर र बच्चाहरुका लागि १५ डलर शुल्क निर्धारण गरिएको डिनर कार्यक्रमबाट बचेको सबै रकम ‘सुभान्जन द्वा’ को उपचार कोषमा हस्तान्तरण गरिनेछ। डिनरका लागि अग्रिम टिकट नेपाली समाजको फेसबुक लिंक https://www.facebook.com/events/1956485864585605/?ti=cl बाट अनलाइन खरिद गर्न सकिनेछ। साथै समाजका पदाधिकारीहरू मार्फत पनि डिनर टिकट लिन सकिने जानकारी NAH ले गराएकोछ। डिनरमा आउन नसक्नेहरुले NAHको वेबसाइटमा रहेको लिंक http://nahtx.org/cause/help-shuvanzan-for-cancer-treatment मार्फत पनि सहयोग गर्न सकिने सहसचिब गौतमले जानकारी गराए। हाल डेनभर, कोलोराडो स्थित Parker Adventist Hospital मा उपचार गराइरहेका द्वालाई निकट भविष्यमा ह्युस्टनमा नै उपचारका लागि ल्याइने उनको पारिवारिक स्रोतले जानकारी गराएकोछ।


२८ महिने बालिका सुभारम्भी उपचार सहयोग अभियान

दुवै आँखामा क्यान्सर संक्रमण भएर नेपालबाट हाल ह्युस्टन स्थित MD Anderson Cancer Center मा उपचारका लागि ल्याइएकी भर्खर २८ महिना मात्रकी बालिका सुभारम्भी गौतमको उपचारका लागि नेपाली समाजको तर्फबाट आर्थिक सहयोगको लागि भएको सार्वजनिक अपिल अनुरूप नेपालीहरुबाट सहयोग सङ्कलन सुरु भएकोछ। NAH का महासचिव विष्णु नेपालका अनुसार नेपालमै उपचारको क्रममा एउटा आँखा गुमाई सकेकी करिब अढाई वर्षकी सुभारम्भीको बाँकी एउटा आँखाको उपचार हुन सके छोरीको उपचारमा घर-घडेरी नै गुमाईसकेका गौतम परिवारलाई केही राहत हुन सक्थ्यो कि भनेर नेपाली समाजले सहयोगको अभियान चलाएको हो। सहयोगको लागि नेपाली समाज ह्युस्टनको वेभसाईटमा उल्लिखित लिंक http://nahtx.org/cause/help-for-a-28-moth-old-child-s-eye-treatment प्रयोग गर्न NAH लेअपील गरेकोछ। NAH ले २० हजार डलर सङ्कलन गर्ने लक्ष्यका साथ् अप्रिल १ तारिकबाट सहयोग सङ्कलन सुरु गरिएको भए पनि अप्रिल १८ तारिकसम्म जम्मा ५८६ डलर मात्र जम्मा भएको देखिन्छ। सहयोगको यो गतिले जुलाई ३१ सम्ममा लक्ष्य अनुरूप सहयोग सङ्कलन हुने कुरामा शङ्का छ। NAH का पदाधिकारी एवं ह्युस्टनबासी नेपालीहरूले विशेष अभियान नै चलाएमात्र सहयोग रकम जम्मा हुन सक्नेछ। 

जहाँ भए पनि, जे गरे पनि नेपालीहरूलाई पर्दा नेपाली मनहरू नै जागरुक हुन्छन् र सहयोगका हातहरू उठी हाल्छन्। नेपाली समाज ह्युस्टनका नेपालीहरूको अभियान सफलहोस् अनि सुभान्जन र सुभारम्भी दुवैको क्यान्सररोग चाँडै निकोहोस्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू