अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त विजयी

बिआरटीनेपाल २०७३ चैत १३ गते २३:२६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा विजयी भएकी छिन् l उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोस्रो पटक महिला अध्यक्ष पदमा उनको जित भएको छ l नयाँ कार्यकारी समितिको कार्यकाल २०१७ -२०१९ सम्म रहने छ l

उनले ३१२ मत प्राप्त गरी अध्यक्ष पदमा जितेकी छिन् भने अध्यक्ष पदका प्रत्याशीहरु सतिस चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए l यसै गरी वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरे l र १६ मत बदर भएको छ l यसै गरी अन्य पदमा निर्बिरोध रूपमा पहिला नै अन्य उम्मेद्वारहरु विजयी भई सकेका छन् l नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, व्यवसायी तथा समाजसेवीको रूपमा विगत २५ वर्ष देखी अमेरिकामा बसोबास गर्दै आएकी हुन् l

उनले २००९ देखी २०१७ सम्म कार्यसमितिको विभिन्न भूमिकामा विगत ३ कार्यकाल सम्म काम गरेकी छिन् l उनले महिला तथा विभिन्न विधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागी गराउने ,आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ,बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने ,नेपाली पहिचान, कला संस्कृति र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ,लेखा पारदर्शिता र आकस्मिक कोष को सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सूचना र सहयोग केन्द्र स्थापना गर्ने जस्ता मुद्धाहरु अगाडी सारेकी थिइन् l

उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठी र कुनै राजनैतिक वा समूह विशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै आफू समाजसेवा र बानाको संस्थागत विकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा विजयी गराउन आग्रह गरेकी थिइन् l ५ सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम विश्वकर्मा रहेका थिए भने सदस्यहरूमा पदम पुन,किरण पन्थ ,मङ्गल महर्जन तथा राम कृष्ण भट्टराई रहेका थिए l

प्रतिक्रिया