अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

२० मुक्तकहरू

पेशल आचार्य २०७३ चैत ११ गते १५:२० मा प्रकाशित

१) उपलब्धि
हिजोको त्याग आज फोसा भएको छ
कामचोर प्रवृत्ति नै भरोसा भएको छ
विश्वासको लहरामा मेरो प्रजातन्त्र –
दाना बिनाको कोसा भएको छ । ?

२) कला
पुर्खाहरू लडे अँध्यारो गयो उज्यालो आयो,
बाउहरू विचारमा चिरा पार्दै गए शक्ति बरालियो,
छोराहरू लुट र फुलमै मस्त छन् चारैतिर –
हाम्रो लोकतन्त्र ‘नपाउनेले केरा पायो बोक्रेसित खायो’ भैदियो । ?

३) उद्देश्य
विश्वासको फोटो खिचेको छु फ्रेममा राख्नुपर्ला,
दर्शन, ज्ञान र विज्ञानका कुरा ब्रेनमा साँच्नुपर्ला,
महङ्गीले निमन्त्रणा–पत्र पठाइसकेको छ,
अब त डिजेल र मट्टितेलसँगै प्रेम गर्नुपर्ला । ?

४) याद
भान्साको लसुन फोस्रियो
भँडारको आलु चाउरियो
गन्गने स्टोभ झर्कोफर्को गर्छ
एकान्तमा प्रियसीको याद बौरियो । ?

५) हुलिया
दर्शन दिने वाचा गर्नेको बसेको छु पालो
आज्ञाकारी समूहभित्र बजाइँदैछ जोडले रालो,
टेन्डर, गोष्ठी, ठेक्का, भ्रमण सबै मन्त्रीजीको सालो
सिद्धान्तनिष्ठ भनाउँदाको डङ्गुर रै’छ भित्रै कालो । ?

६) परिचय
दौरासुरुवाल, कोट, टोपी भित्र ला’को भोटो
तिम्रो हाम्रो गोठालाको व्यवहार सारै खोटो
अभाव र तृष्णा जति सबै हाम्रा भागमा
मीठो खान्छ, राम्रो लाउँछ शरीर उसको मोटो । �

७) हाम्रा प्रतिनिधि
कहिले कुटाकुट गर्छन् संसदमै
कहिले फुटाफुट गर्छन् पार्टीमा
भत्ता, नाफा र सुविधाका लागि
मस्किँदै मुखामुख गर्छन् । �

८) पोसाक
गुन्युचोली हराएछन् हिजोआज
माइक्रो मिडीकै जीत भो
साडीचोलाहरू फ्लप हुँदै जाँदा
पारदर्शी पोसाक नै हिट भो । �

९) समय
समान अर्थ बोक्छन् जिन्दगी र काँचका चुराहरू,
काम गर्न नसक्नेले कोरल्छन् केवm कुराहरू,
समय हिजो जस्तो छैन आज बदलिएको छ,
ध्वाँस दिन्छन् बुढा बालाई जुँगा नउम्रका भुराहरू । ?

१०) कर्तव्य
अब देश खोक्रिदैंछ समस्याका छन् रासहरू
बन्द, आन्दोलन र तोडफोडले निम्त्याएको छ भासहरू
विकास नफल्ने भैगो, उन्नति चौपट बनेपछि –
बन्जर भूमिमा कसले चलाउने हलो ?
कसले लगाउने चासहरू ? ?

११) अन्तर
युद्धको हंकीडंकी छ अचेल,
बुद्ध कुक्रुक्क कक्रिएको कुनामा,
इमानदारहरू पाखा लागेका छन्
बेइमान निर्धक्क डुक्रिएको– मैदानमा । ?

१२) क्रमशः
संस्कृत लोप भएपछि संस्कृति हरायो
लोकगीत मुर्झायो पप करायो
ड्रमसेट र गिटारले हकारेपछि,
बिचरा मादल थुर्थुर् डरायो । ?

१३) शिक्षा
नेपालको सरकारी शिक्षा उजाडिएको डाँडो भो
पार्टीका भाँड र भतुवालाई जागिर खाने भाँडो भो
प्रत्येक वर्ष स्तर झरेको छ झरेको छ,
कसैले ठेगान नलगाउने यो कस्तो घाँडो भो । ?

१४) उजुरी
निरङ्कुशताले निकै लामो समय हामीलाई दप्कायो,
दिशाहीनताले पनि डरलाग्दो गरी हप्कायो,
महङ्गीले त छ्याप्पछ्याप्प गरेरै छप्कायो,
जब सजिलोसँग
बाँच्ने वातावरण आएको थियो खुसीहरू अरूले नै चप्कायो,
खुसी खोसिएको उजुर कसले पो सुन्ने हो ?
इच्छा लुटिएको उजुर कसले पो लिने हो ? ?

१५) रहर
घरखेत बन्धकी राखेर
एउटा रहर अरब पसेको छ ।
घरखेतमै लुट्पुटिएर
अर्को रहर व्यवहारमै फँसेको छ ।
रहरलाई रहरमै राखेर
तेस्रो रहर सहरमा बसेको छ ।
आँसुको पोखरीमा पौरी खेल्दै
चेलीको रहर वेश्यालयमा खसेको छ । ?

१६) वास्तविकता
सामथ्र्य उस्ताको उस्तै छ
आवश्यकताले सगरमाथा छोइसक्यो,
महङ्गीको दुन्दुभी सुनेर
यहाँ हरेकको जीवनै रोइसक्यो । ?

१७) चाकरीको फुल
यहाँ बनावटी योग्यताको हुरी चलेको छ,
संस्कृति अनास्थाको दियो बलेको छ,
सबैलाई मालामाल हुने इच्छा जागेर होला,
चारैतिर सोर्स र चाकरीको फुल फुलेको छ । ?

१८) जनता
खल्वाटको टाउकोमा केसको महत्त्व हुन्छ,
सुन्दरता प्रतियोगितामा भेषको महत्त्व हुन्छ,
जनता त फाटेका तास भइसकेका छन्, हजुर–
यहाँ चुनावमा मात्र राष्ट्रियता र देशको महत्त्व हुन्छ । ?

१९) अन्तर
दुई आँखाको मिलन हुनै सक्दैन
किनकि बिचमा नाकको डाँडी छ ।
फोस्रो आडम्बर देखाएर के भो ?
जनताको वास्तविकता त उही कोरा र खाँडी छ । ?

२०) काठमाडौँ
कथा–व्यथा छरिएका छन् चारैतिर
फोहरका थुप्राहरू बडाउँदै
काठमाडौँ !
हुनेहरूका लागि सधैँको सहकाल
नहुनेहरूका लागि दिनैपच्छिे अनिकाल
यो देशमा दुईवटा काठमाडौँ छन्–
एउटा राजधानी काठमाडौँ !
अर्को गरिबधानी काठमाडौँ !!