अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

नासा र एन्माको १३ औ संयुक्त सम्मेलन सार्लोटमा हुने

बिआरटीनेपाल २०७३ चैत ६ गते १७:२४ मा प्रकाशित

दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज् एसोसियसन इन साउथ ईष्ट अमेरिका (नासा) र मध्य पश्चिम राज्यहरूमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् इन मिड वेष्ट अमेरिका (एन्मा)को १३ औ संयुक्त सम्मेलन सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सुन्दर सहर सार्लोटमा हुने भएको छ । सार्लोटस्थित नेपालीहरूको संस्था ग्रेटर सार्लौट नेपलिज एसोसियसनको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको २० भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरू सहभागिता जनाउने गरी तयारी भइरहेको सम्मेलन आयोजक समितिका अध्यक्ष राजेश सिंह बताए ।

सो संयुक्त सम्मेलनलाई व्यवस्थित बनाउन ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सम्मेलन आयोजक संस्था जीसिएनएका प्रतिनिधि राजेश सिंहलाई सम्मेलन प्रमुखको जिम्मेवारी दिइएको छ । सोही समितिमा नासाका अध्यक्ष विमल नेपाल, एन्माका अध्यक्ष बाला घिमिरे, समितिको उपाध्यक्षमा नासाका महासचिव शिव विष्ट, कार्यकारी सदस्यहरू डा. सुमन सिलवाल, र गजेन्द्र अर्याल रहेका छन् भने एन्माका कार्यकारी उपाध्यक्ष कैलास कायस्थ, उपाध्यक्षहरु बलराम पन्थि र सन्जय घिमिरे उपाध्यक्षमा मनोनीत भएका छन् । त्यसै गरी जिसिएनएका प्रतिनिधि एवं नासाका कार्यकारी सदस्य सुशील नेपाल, जिसिएनएका प्रतिनिधि अरुण श्रेष्ठ रहेका छन् । त्यसै गरी मूल समितिको कार्यव्यवस्थापन र बैठक परिचालनका सहजीकरणका लागि तीन सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । जसमा नासाका सहसचिव कृष्ण श्रेष्ठ, एन्माका भरत कडेल र जीसिएनका प्रतिनिधि रहने छन् ।

नासाका अध्यक्ष विमल नेपालको सभापतित्वमा हालै सम्पन्न कन्फ्रेन्स कल बैठकमा सम्मेलनका लागि होटेल सम्झौता अन्तिम चरणमा पुगेको सुशील नेपालले जानकारी गराउँदै सम्मेलनको बारेमा विशेष सर्भे गर्न लागिएको बताए । बैठकमा नासाका अध्यक्ष विमल नेपालले सम्मेलन विगतमा एतिहाँसिक हुने गरेकोले यस पटक पनि भव्य हुनेमा विश्वास व्यक्त गरे । बैठकमा एन्माका अध्यक्ष बाला घिमिरेले नेपाली कला र सस्कृतिको संरक्षण र प्रवर्दन गर्न, नेपालीबीचको भाईचाराका वृद्धि गर्न सक्दो प्रयास गर्नुपर्नेमा जोड दिए । साथै सो बैठकमा पूर्व सम्मेलन प्रमुख बलराम पन्थीले आफ्नो अनुभव सुनाउदै सबैको हातेमालो भएमा सम्मेलन सफल र उपलब्धि मूलक हुने कुरामा आशा व्यक्त गरे ।आगामी सम्मेलनलाई अवसर र चुनौतीका रूपमा लिदै जिसिएनएका प्रतिनिधि तथा सम्मेलनका प्रमुख सिंहले सफल र उपलब्धीमुलक सम्मेलन बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । सो बैठकमा उपस्थित सबै महानुभावहरुले आफ्नो सुझाव र सल्लाह व्यक्त गरेका थिए । सम्मेलनमा नेपाली भाषा, कला सस्कृतिको संरक्षण गर्न, अमेरिकामा जन्मी हुर्केका बालबालिकालाई नेपाली संस्कार, भाषा र संस्कृति सिकाउन मद्दत पुरयाउने हिसाबले हरेक वर्ष यस्ता सम्मेलन आयोजना गर्ने गरिएको छ । साथै सम्मेलनमा विभिन्न विषयगत गोष्ठि, नेपाली कला सस्कृति झल्काउने कला प्रस्तुति ,साहित्य र साङ्गीतिक कार्यक्रमहरुका साथै युवा वर्गका लागि बैद्धिक र शारीरिक विकासका लागि विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गरिने छ ।

सम्मेलनमा नेपालबाट चर्चित कलाकारका साथै विशिष्ठ व्यक्तिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिने छ भने अमेरिकामा रहेका लोकप्रिय कलाकारहरुलाई साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि आमन्त्रण गरिने भएको छ । सो सम्मेलन सफल पार्नका लागि गठित विभिन्न समितिहरुमा सूचना प्रविधि संयोजकमा सन्जय घिमिरे, साङ्गीतिक (कन्सर्ट) समिति संयोजकमा शिव विष्ट, कार्यक्रम समिति संयोजकमा मनिष शाक्य, सांस्कृतिक समितिमा अरुण श्रेष्ठ संयोजकका रूपमा मनोनयन गरिएको छ । बाँकी अन्य समितिहरू आवश्यकता अनुसार गठन हुने बताउँदै सम्मेलन प्रमुख सिहले कार्यक्रमलाई भव्य बनाउन नेपाली समुदायलाई आव्हान गरेका छन् । हरेक वर्ष सम्मेलनको मुख्य आकर्षणको रूपमा रहेको साङ्गीतिक(कन्सर्ट) कार्यक्रममा यस पटक पनि नेपाली साङ्गीतिक तथा हाँस्य व्यंग्य क्षेत्रका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने संयोजक विष्टले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू