जुध्ने भाइसँग कि पराइसँग ? – डा. टीकाराम पोखरेल

डा. टीकाराम पोखरेल

सप्तरीमा नेपाली प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको ३ दिन पछि कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागि एक नेपालीको मृत्यु भयो । त्यही दिन जाजरकोटमा भएको बस दुर्घटनामा २ दर्जनभन्दा बढीको ज्यान गयो । यी तीनवटै घटनामा सबैमा नेपाली मारिए पनि यसको चर्चा र चासो फरक फरक भयो । सङ्ख्याको हिसाबले जाजरकोटमा बढी व्यक्तिको मृत्यु भए तापनि चर्चा बढी सप्तरीको भयो । १ जना मात्र मारिएको भए पनि कञ्चनपुरको चर्चा पनि कम भएन । सप्तरीको घटना नेपालको आन्तरिक राजनीतिसँग, कञ्चनपुरको घटना नेपालको अन्तर्राष्ट्रिय मामिलासँग र जाजरकोटको घटना ग्रामीण जनजीनवको सामाजिक पक्ष र मानवीय पक्षसँग जोडियो ।

जे जस्तो कारणबाट भए पनि निर्दोष नागरिक मारिनु राम्रो होइन । त्यसमाथि झन् नेपाली नै मारिँदा नेपालीको मन छुने नै भयो । मारिनु पनि सामान्य कालगति वा दुर्घटना मात्र नभएर राजनीतिक कारणबाट मारिनु त झनै पीडादायी हुने नै भयो । त्यसैले सप्तरी बढी दुख्यो, कञ्चनपुर दुख्यो । जाजरकोटको घटना जतिसुकै विभत्स घटना भए पनि मृतकका परिवार बाहेक केही दिनमा सबैको दिमागबाट हराउने छ । किनभने विगतमा पनि यस्ता घटना भए, त्यसको न्यूनीकरणका लागि सरकारले केही गरेन । यसमा पनि गर्ला भन्ने आसा गर्नु बेकार छ । त्यसैले यो घटना बिर्सनुको अर्को विकल्प छैन । केही दिनमा सबै सामान्य हुनेछ, मानौँ जाजरकोटमा घटना भएकै थिएन । तर सप्तरीको घटनाले राजनीतिकवृत्तलाई र कञ्चनपुरको घटनाले राष्ट्रियताको भावनालाई पटक–पटक घच्घच्याइरहने छ । यसको असर दीर्घकालसम्म रहने छ ।

सप्तरी घटना र कञ्चनपुर घटना दुवै नहुनपर्ने अप्रिय घटना हुन् । तर यी दुवैमा फरक के भने कञ्चनपुर घटना हामीले चाहेर पनि रोक्न सक्ने अवस्था थिएन । त्यो हाम्रो उपज थिएन । हाम्रो गल्ती पनि थिएन । गल्ती थियो भने हामीले भारतले हामीमाथि जति थिचोमिचो गरे पनि “त्वम् शरणम्” गर्नु मात्र गल्ती थियो । तर राजविराज घटना भने हाम्रै गल्तीको उपज हो । हाम्रै हठको उपज हो । तर पनि हाम्रै हठको सिकार हाम्रै दाजुभाइ हुँदा पनि अनेकका व्याख्या विश्लेषण गरेर त्यसलाई सही र गलत सिद्ध गर्न खोज्दै छौँ । आफू पानीमाथिको ओभानो र अरू चाहिँ चुर्लुम्म पानीमा डुबेको प्रमाणित गर्न खोज्दैछौँ ।

अहिले सप्तरी घटनामा तँ दोषी र म निर्दाेषी भनेर हठ गर्ने बेला होइन । बरु सप्तरीको घटना फेरि नदोहोरियोस् भन्नाका लागि सबैले संयमता अपनाउने बेला हो । तर अहिले संयमताभन्दा बढी आक्रोश पोख्ने र बदला लिने खालको अभ्यास भइरहेको छ । एक आपसमा कसरी जुध्ने र जुधाइमा को भाले देखिने भन्ने कसरत दलहरुमा देखिन थालेको छ । यो अत्यन्त चिन्ताको विषय हो ।

कञ्चनपुर जस्ता घटनाको सामना गर्नको लागि एक आपसमा जुट्नु आवश्यक छ । तर सप्तरी जस्ता घटनाले हामीलाई दिनप्रतिदिन एक आपसमा टुटाउँदै छ, फुटाउँदै छ । कञ्चनपुर घटना जुट्नुपर्ने अपेक्षा गर्छ, तर राजविराज जस्तो घटना टुट्ने र टुटाउने काम गर्छ । तर हामी फुटिरहेका छौँ, टुटिरहेका छौँ, चुकिरहेका छौँ । भाइ–भाइ जुटेर पराइसँग लड्नुपर्नेमा आफू–आफू लडेर दिनप्रतिदिन टुटिरहेका छौँ । आखिर हामी किन चुकिरहेका छौँ ?

भविष्यमा सप्तरी जस्ता घटनाहरू दोहोरिए हामी कमजोर हुन्छौँ । सप्तरी जस्ता घटनाहरू भैरहे कञ्चनपुर जस्ता घटनाहरूको पनि पुनरावृत्ति भैरहन्छ । “भाइ फुटे गवाँर लुटे” भने झैँ देशभित्र हामी जति विभाजित हुन्छौँ, देश बाहिरको अतिक्रमण हामीले त्यत्तिकै सहनुपर्छ । जहाँ आन्तरिक राजनीतिमा खिचातानी बढ्छ, त्यस्तो अवस्थामा स्वाभाविक रूपमा बाह्य आक्रमण बढ्छ । यो नियति हामी आफैँले निम्त्याएको हो ।
अहिले देशले दलहरुबाट अपेक्षा गरेको कुरा सप्तरीमा गएर फुट्ने होइन कञ्चनपुरमा गएर जुट्ने हो । जसरी राजविराजमा मधेशीमोर्चा, सरकार र एमाले बिच त्रिकोणात्मक आरोप प्रत्यारोप भइरहेको छ त्यसरी नै कञ्चनपुर घटनामा पनि एक आपसमा आरोप र प्रत्यारोप गर्दै हामी फुट्यौँ भने भोलिका दिनमा अरू पनि नेपाली मारिन सक्तछन् । भोलि पनि नेपालीले पराइको त्यो हेपाहा प्रवृत्तिको सिकार हुनु पर्दछ । हामी जुटे हामीलाई कुनै पनि शक्तिले केही गर्न सक्तैन, हामी फुटे सानोभन्दा सानो शक्तिले पनि हामीमाथि रजाइँ गर्न सक्तछ । अब के गर्ने फुट्ने कि जुट्ने । जोड्ने कि तोड्ने ? सबै हाम्रै हातमा छ ।

देशको सिमानामा बाह्य अतिक्रमण हुँदा आफू पनि देशभित्र एक आपसमासमा लडेर बस्ने कि आफ्ना असहमति थाति राखेर बाह्य शक्ति विरुद्ध लड्ने त्यो अबको दलहरूको अग्निपरीक्षाको घडी हो । दलहरू के गर्दै छन् भन्ने हिसाब किताब जनताले राख्दछन् । दलहरूको कामको हिसाबकिताब राख्ने लेखापाल भनेका जतना नै हुन् । त्यसैले जनताको चाहना र भावना बमोजिम काम गरौँ । राष्ट्रियताको भावना जागृत गर्ने बेला भौगोलिक, वर्गीय क्षेत्रीय र जातीय नारालाई केही समय थाति राखेर एकजुट हौँ । राष्ट्र रहे हामी रहने हो, दल रहने हो, हाम्रा स्वार्थ रहने हुन् । राष्ट्र नै नरहे यी सबको कुनै अर्थ रहन्न । हाम्रो अस्तित्व नै खतरामा पर्छ ।

देश र जनताको अगाडि व्यक्तिगत र पार्टीगत स्वार्थ गौण हुन् । हो हामी बिच आन्तरिक मामिलामा एक आपसमा असहमति हुन सक्तछन् । एजेण्डा फरक हुन सक्तछन्, तर बाह्य मामिलामा सबै दल, नेता र व्यक्तिको मत एक भए मात्र हामी बलिया हुन्छौँ । विकसित मुलुकमा जुनसुकै दलको सरकार आए पनि वैदेशिक मामिलामा आधारभूत कुरामा अन्तर हुँदैन । तर नेपालको परराष्ट्र नीति नै छैन भन्दा पनि फरक पर्दैन । विदेश मामिला नीतिविहीन चलिरहेको छ । दलका नेता नै पिच्छे फरक फरक दृष्टि भएका कारण हाम्रो यस्तो नियति भइरहेको छ । खास गरी भारतको सवालमा सत्तामा हुँदा एउटा कुरा र सत्तामा नहुँदा अर्को कुरा गर्दा भारतले हामीबाट अनाधिकृत फाइदा उठाइरहेको छ ।

एक पटक सबै नेपालीले नेपाली मन लिएर सोचौँ । हामी पहिले नेपाली हौँ, त्यसपछि मात्र हामी मधेसी हौँ, पहाडी हौँ, सप्तरीबासी हौँ, कञ्चनपुरबासी हौ, जाजरकोटबासी हौँ र काठमाडौँबासी हौँ । त्यसैले कञ्चनपुरलाई दुख्दा सप्तरीलाई दुख्नुपर्छ । सप्तरी रुँदा कञ्चनपुर पनि रुनुपर्छ । जाजरकोटको कथा सप्तरीलाई पनि थाहा हुनुपर्छ । सप्तरीको व्यथा जाजरकोटले पनि अनुभूति गर्न सक्नुपर्छ । अनि मात्र हुन्छ नेपालको जित, नेपालीको जित र सबैको जित । हामी सबै कोही पराइ होइनौँ, सबै आफन्त हौँ । यसबेला हामी कञ्चनपुरमा नेपाली भूमिका लागि लडौँ । पहिले एकजुट होऔँ बाह्य शक्तिका विरुद्ध । अनि सप्तरीमा पनि अधिकारका लागि आन्तरिक लडाइँ लडौँला । त्यसपछि ठुला बाटो बनाउने गरी जाजरकोटमा पनि विकासका कुरा गरौँला ।

देशको अहम्माथि बाह्य प्रहार हुँदा कोही पनि स्वाभिमानी नेपाली आन्तरिक मामिला झिकेर झगडा गरेर बस्न सक्तैन । देशले एकता मागेको बेला कोही पनि देशभक्त नेपाली फुट्न सक्तैन । देशले निकास मागेको बेला कोही पनि नेपाली निकासको बाधक बन्न पनि हुँदैन । त्यसैले यति बेला भाइ–भाइ जुध्ने होइन, सबै दाइ–भाइ एकमत भएर पराइ शक्तिको विरुद्ध लडौँ । यो नै यतिबेलाको आवश्यकता हो ।

Published on March 16, 2017 at 8:47 am

Loading...

यसमा तपाइको मत