हर्ष र सद्भावको पर्व होली-नवराज बजगाई

काठमाण्डौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली पर्व शुरु भएको छ ।

रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा विशेष गरि मनाउने गरिए पनि आज यो विकृतिको रुपमा समेत विकसित भएको पाइन्छ । होली भन्दा एक हप्ता अघि देखि नै तन्नेरीहरुलाई लोला हान्ने फोहोर पानी छ्याप्ने लगायत गरेर यो पर्वलाई विकृतिको रुपमा लैजानेहरु एकातिर छन् भने अर्कातिर सद्भाव र उमंगका साथ मनाउनेहरु पनि छन् । अझै पहाडी भेगका गाउँघरतिर भने भगवानको मन्दिरमा गएर पूजा अर्चना र नाचगान गरी पर्व मनाउनेहरु पनि छन् । विजय उत्सव र सद्भावका रुपमा मनाइने यो पर्वका बारेमा धेरै लोकोक्ति र धार्मिक मान्यता रहेको पाइन्छ ।

दैत्यराज हिरण्य काष्यपले आफ्नो छोरा प्रल्हादलाई विष्णुको भक्त भएको भनी बहिनी होलिकालाई आगोमा जलाई छोरालाई मार्न भनी लगाएको बहिनी होलीका पनि दाजुको आज्ञा बमोजिम प्रल्हादलाई मार्न भनी प्रल्हादलाई काखमा च्यापी ठूलो भुंग्रो भएको आगोमा हाम फालेकी थिइन् तर अग्नीको बरदान पाएर आगोले नजल्ने भएकी होलीका विष्णुभक्त प्रल्हादका अगाडि उल्टै आगोमा जलेर मरिन तर प्रल्हादलाई केही भएन ।

यसकै उपलक्ष्यमा खुशियाली स्वरुप अन्यायमाथी प्रल्हादले न्यायको विजय गराएका कारण स्वागतार्थ रातो रंगको अविर छरेर खुशियाली मनाइयो र यही होलिकाको अपभ्रसंसति नाम होली हुँदै विजय उत्सवको रुपमा प्रत्येक वर्ष फागु पूर्णिमामा होली मनाईने चलन रहेको पाइन्छ भने अर्कातर्फ द्धापर युगमा भगवान कृष्णलाई मार्न भनी उनकै मामा कसले पुतना नामकी राक्षसनीलाई कृष्णकहाँ पठाई उनको विषालु दुध खुवाई कृष्णलाई मार्ने षड्यन्त्र गरेर पठाए अनुरुप पुतनाले कृष्णलाई दुध चुसाएकी थिइन् । तर, बिडम्बना दुध चुस्दा श्रीकृष्णले पूतनाको दुधको मुन्टी टोकी मारिदिएका थिए । यसरी मारिएकी पूतना नामकी राक्षसनीको शवलाई यसै दिन अर्थात फागुपूर्णिमाकै दिन बज्रबासीहरुले जलाएको कारण खुशियाली स्वरुप प्रत्येक वर्ष फागुपूर्णिमाका दिन होली पर्व मनाउने गरेको पाइन्छ ।

नेपालमा विशेषगरी काभ्रेको देउपुर, दाङको घोराही, र तुल्सीपुर, बाँकेको नेपालगन्ज, धनगडी, चितवनको टाँडी, पर्सा, जनकपुर, इन्रुवालगायचतका ठाउँमा यो पर्व महत्वका साथ मनाउने गरिन्छ । काभ्रेको देउपुर गैह्रविसौनाको ब्रह्मायणी मन्दिरमा तीनदिनसम्म होली मनाउने गरिन्छ । यस मन्दिरमा रहेका ब्रह्माणी देवीको मूर्तिलाई रथमा राखेर रथयात्राका साथ पूर्णमाको अघिल्लो दिन राती मन्दिरबाट देउपुरको गैरीविसौना बजार लगिन्छ भने पूर्णिमाको दिन राती वडा नं. ६ देवीस्थानमा लगेर राखिन्छ र त्यहाँ पूर्णिमाको भोलिपल्ट पूजाआजा पछि बेलुका पुन ः मन्दिरमै लगेर राखिने गरिन्छ । त्यसै दिन राँगा, बोका, कुखुराको समेत बली दिने र भोज गर्ने नाचगान गर्ने र बाजागाजा गरी रंगरोगन सहित होली मनाउने गरिन्छ ।

सौहार्दपूर्ण वातावरणमा एक आपसको समझदारीमा रंग दलेर सद्भावका साथ मनाइनुपर्ने यो पर्व आजकाल विकृतिको रुपमा विकसित हुँदै गएको बताउँदै यसलाई पर्वकै रुपमा सहमतिमा रगं–रोगन गरेर मनाउनुपर्ने धारणा राख्नुहुन्छ, काभ्रे गाविसका रविन्द्र सिग्देल । होली आउनु एक हप्ता अहघिदेखि नै शहरका गल्ली र घरका छतमा बसेर लोला हान्ने अनुमति विना नै विभिन्न रंगको प्रयोग गरेर मान्छेमा एउटा विकृतिको उपज बनेको छ होली । स–साना केटाकेटीदेखि युवा र बुढापाका सम्मका मान्छेहरु समेत हिजो अस्ति देखि नै केटी देखेपछि लोला हान्ने गरेको बताउनुहुन्छ पनौतीकी सत्मा मानधर । तराईमा गाँजा, भाङ खाएर उच्छृङ्खल भएर लोला हान्ने र विभिन्न रंग दलेर होली खेल्ने गरिन्छ । पहाडी क्षेत्रमा पूर्णिमाका दिन यो पर्व सकिन्छ भने तराईमा त्यसको भोलिपल्ट मात्र सकिने छ । परम्परालाई उच्चता दिने गरी समझदारीमा फागुपर्व मनाउनुपर्ने तर यसैलाई विकृतिको रुप दिएर विना अनुमति होली खेल्न नहुने धारणा राख्नुहुन्छ बनेपाकी सरिता सापकोटा । व्यस्त शहर बनेपामा बस्दै आउनु भएका नयाँगाउँका मुक्तिनाथ गौतम सहमतीमा मात्रै होली खेल्ने प्रतिक्षामा रहेको बताउनुहुन्छ ।

उता केही दिन अघि नै बाहिर हिड्डुल गर्दा धेरैको लोला खाएकी भकुण्डेकी भवानी खनाल भने आफूलाई लोला हान्नेलाई खोजीखोजी लोला हान्ने सोचमा रहेको बताउँछिन् । बनेपा बस्दै आएका सुनिल सापकोटा भने गाउँमै गएर रमाइलो गर्दै होली मनाउने सोचमा छन् । आजाद उमाविमा अध्यनरत विवेक लामा साथीहरुसँग मात्र होली खेल्ने अरु कसैलाई लोला नहान्ने सोचमा छन् । बनेपा बसपार्कका बुद्धकाजी रंजित भने आफू होली नखेल्ने अरुले खेलेको हेरेर पर्व मनाउने सोचमा रहेको बताउनुहुन्छ ।

जे होस्, पर्वलाई विकृतिको रुपमा होइन, निरन्तरताको रुपमा मनाऔँ । सौहार्दपूर्ण वातावरणमा समन्वात्मक रुपमा खुशियाली बाँडेर मनाउने पर्व नै होली हो । यसलाई उत्सवको रुपमा परम्परालाई उच्चता दिने गरी मनाउ, ताकि पर्वका नाममा विकृतिहरु देखा नपरुन्, । अरुलाई होइन आफूबाट सभ्य र सुसंस्कृति समाज निर्माणको परिचय दिऔँ, ह्याप्पी होली ।

Published on March 11, 2017 at 3:15 am

Loading...

यसमा तपाइको मत