अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

मानव अधिकार आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह (विज्ञप्ती)

बिआरटीनेपाल २०७३ फागुन २६ गते ५:२४ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आफुहरुले गर्ने स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह गरेको छ । केहि दिन देखी तराई मधेश क्षेत्रमा विभिन्न माग राखी भइरहेका आन्दोलनको अनुगमनमा प्रयोग भएका आयोगका सवारी साधनमाथी नै तोडफोड र आगजनी हुन थालेपछि अनुगमनमा बाधा सृजना हुँदा आयोगले बिहिवार एक प्रेश विज्ञप्ती जारी गर्दै स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह गरेको हो ।

आज पनि आयोगकी माननीय सदस्य तथा प्रवक्ता मोहना अन्सारी नेतृत्वको टोलीले प्रयोग गरेको सवारी साधनमाथि सप्तरीको मलेठमा तोडफोड भएको छ । अन्सारी नेतृत्वको टोली गत फागुन २३ गतेको घटनामा सप्तरीमा प्रहरीको गोली लागी मृत्यु भएका मृतक तथा घाइतेका परिवारलाई भेट्न सप्तरी पुगेको थियो । सत्य तथ्य बुझी फर्कने क्र्रममा उनिहरु चढेको सवारी साधनमाथि सप्तरीको मलेठमा तोडफोड भएको हो ।

यस अघि पनि आन्दोलनको अनुगमनका क्रममा २०७२ मंसिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको थियो भने २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका बा.७ च. ७४७३ र बा.७ च. ७४७९ नम्बरका सवारी साधनमाथि सप्तरी जिल्लामा तोडफोड गरिएको थियो ।
आयोगद्वारा जारी प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति

(आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)
२०७३ फागुन २६ गते

आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह

 

मानव अधिकारको संरक्षण र सम्बद्र्धनको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्र अनुगमन कार्यमा विगत केही समयदेखि अवरोध हुँदै आएका घटनाहरू प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

विशेष गरी तराई मधेश क्षेत्रमा विभिन्न माग राखी भइरहेका आन्दोलनको अनुगमनका क्रममा २०७२ मंसिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको, २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका क्रमशः बा.७ च. ७४७३ र बा.७ च. ७४७९ नम्बरका सवारी साधनमाथि सप्तरी जिल्लामा भएका तोडफोडका घटनाले आयोगलाई थप स्तब्ध बनाएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुद्वारा तोडफोड र आगजनि जस्ता घटना नदोहोरिने र आयोगले निर्वाध रुपमा अनुगमन गरिदिन भनी आयोगमा उपस्थित भई गरेकोे प्रतिबद्धता विपरीत यस्ता घटनाको पुनरावृत्तिले आयोगको स्वतन्त्ररुपमा अनुगमन गर्ने कार्यमा गम्भीर अवरोध सिर्जना गरेको छ । गत फागुन २३ गतेको घटनामा सप्तरीमा प्रहरीको गोली लागी मृत्यु भएका मृतक तथा घाइतेका परिवारलाई भेटी सत्य तथ्य बुझी फर्कंदा आयोगका माननीय सदस्य तथा प्रवक्ता मोहना अन्सारी नेतृत्वको टोलीले प्रयोग गरेको सवारी साधनमाथि सप्तरीको मलेठमा तोडफोड गरिएको आजको घटना समेतले आयोगलाई आउँदा दिनमा संवैधानिक कार्यादेश बमोजिमको कर्तव्य पूरा गर्न अवरोध सिर्जना गर्ने देखिन्छ ।

आयोगलाई स्वतन्त्र र स्वायत्त रुपमा संवैधानिक दायित्व निर्वाह गर्नबाट अवरोध गर्ने, आयोगको सम्पति तोडफोड गरी आयोगको विश्वसनीयता माथि आँच पु¥याउन प्रयास गर्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान नगर्ने जस्ता प्रवृत्तिहरु मानव अधिकारका मूल्य मान्यता र सिद्घान्त विपरीतका कार्यहरु हुन । विशेष गरी राजनीतिक दलहरूबाट आफ्नो अधिकारको उपभोग गर्ने क्रममा कर्तव्यको पाटोलाई पूर्णतः वेवास्ता गर्नाले यस्ता घटनाहरु दोहोरिरहने सम्भावनातर्फ सबैको ध्यानाकर्षण हुन जरूरी छ ।

अतः आयोगको अनुगमन टोली माथि आक्रमण गरी सवारी साधन समेत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारवाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, यस प्रकारका हिंसात्मक गतिविधिले कहिल्यै पनि कसैको अधिकार संरक्षण नगर्ने हुँदा त्यस्ता कार्यहरू तत्काल बन्द गरी घटनाको छानबीनमा आवश्यक सहयोग पुर्‍याउन आयोग सम्बद्घ सबै पक्षहरुलाई आग्रह गर्दछ ।

 

……………
(वेद भट्टराई)
सचिव

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू