अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

कवि कृष्णराज खनालको ‘स्वप्नलोकका गुरमितहरु’ माथी वोस्टनमा अन्तरक्रिया

बिआरटीनेपाल २०७३ फागुन २६ गते ३:३७ मा प्रकाशित

कवि तथा पत्रकार कृष्णराज खनालको गत हप्ता बिमोचित कविता कृति ‘स्वप्नलोकका गुरमितहरु’ माथी अमेरिकाको वोस्टनमा अन्तरक्रिया भएको छ । १०४ पृष्ठ लामो एउटै लामो कविता कृति ‘स्वप्नलोकका गुरुमितहरु’को बारेमा बिभिन्न साहित्यकारहरुको धारणा सहित अन्तरकृया भएको हो ।

अन्तरकृया कार्यक्रममा बोल्दै लेखक एवं कवि शिवप्रकाशले कृतीको आयाम र यसमा अझ धेरै कुरा समावेश गर्न सकिने धारणा राखेका थिए भने सुशील पौडेल, सुनिल केसी, विजय शर्मा, मनोज अधिकारी, दिनेश कार्की, गीता पौडेल, कल्पना पौडेल, लगायतका स्रस्टाले पनि कविता कृतिका बारेमा आफ्ना बिचार राखेका थिए ।

गोरखापत्रका पूर्व पत्रकार खनालको एउटै लामो कविता कृति स्वप्नलोकका गुरुमितहरुको गत हप्ता एक समारोहमा लोकार्पण भएको हो । वरिष्ठ साहित्यकार तुलसी दिवस र कविकी ८८ वर्षीया आमा हरिमाया खनालले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका थिए ।

हाल अमेरिकाको वोस्टनमा वसोवास गर्दै आएका खनालको कविताका रुपमा यो पहिलो कृति हो । यस अघि उनको’ पातालकी प्रीयसी’   नामक उपन्यास र प्रो. हरिनाथ खनालः जीवनी र परिवेश नामक जीवनी प्रकाशित छ । कविता कृति स्वप्नलोकका गुरुमितहरुमा खनालले अमेरिका बसाइका क्रममा भोगेका जीवन्त कथा व्यथा र अमेरिकी जीवन शैलीको चित्रण छ ।

बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथि विशिष्ट कवि एवं लोक संस्कृतिका साधक तुलसी दिवसले अमेरिका बसाइका क्रममा आफैले भोगेका विवरणहरुको चित्रण कवितामा गरेकोमा खुसी व्यक्त गर्दै कविले आफ्नै भोगाइ लेख्नुपर्ने धारणा पनि राखेका थिए ।

अर्का वरिष्ठ कवि शैलेन्द्र साकारले यो कृतिमा अमेरिका गएका अधिकाँश नेपालीले भोगेको पीडालाई मिहीन पाराले केलाइएको बताए भने मधुपर्क मासिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कवि विप्लव ढकालले नेपाली साहित्यमा यसको स्थान महत्वको हुने जानकारी दिँदै यो कविता कृति नेपाली युवाहरुको खण्डित सपनाहरुको जीवन्त साक्षी भएको बताएका छन् ।

आवरण डट कमको आयोजनामा सम्पन्न सो कार्यक्रममा कवि तथा कलाकार रमेश पौडेल र सहप्राध्यापक अंगद गौतमले पनि सो अवसरमा कृतिका बारेमा प्रकाश पारेका थिए भने कवि खनालले गुरमितको चरित्र चित्रण गर्दै ऊ नेपालीहरुलाई काम दिने एउटा प्रतिनिधि भारतीय नागरिक भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया