म शहीद भएको छु – मणि भट्टराई 

मणि भट्टराई 

 

आमा!
युग प्रतियुग
कति आए आए
तिमीलाई मुक्ति दिन्छु भन्नेहरू
तिमीलाई आजादी दिन्छु भन्नेहरू
तर अहिलेसम्म तिम्रो काखमा
आफ्नै सन्तानका बर्बादीका लासहरू बाहेक त
केही छैन
सुदुर हेर्नको लागि तिम्रो आँखामा भविष्य छैन
प्रसस्त रूनलाई आँसु छैन
अब त मेरा कविता जस्ता आँसुहरू पनि नबुझ्ने भएछौ
अब त मेरा आँसु जस्ता गीतहरू पनि नसुन्ने भएछौ
परिवर्तन – सुनिसक्दा झर्कने
आमा ! तिमी त म भन्दा बढी विक्षिप्त रहेछौ !

 

यी हेर त आमा !
आज फेरि आफ्नै शिर बोकेर हातमा
म तिम्रो सामु रून्चेहात फर्किएको छु
आमा! यता हेर न आमा !
मुक्तिको निम्ति निस्केको म
वेवारिसे लास भएको छु

आमा !
केही क्षणमै अब
कसैले आएर मेरो लाशमाथि
ओढाएर उभिनेछ स्वार्थको झण्डा
गाउने छ वलिदानीको गीत
संभावना सुन्य -भाग्य फुटेको मेरो निधारमा
देखेर सत्ताको सपना फुल्न आटेको
चुमेर मुस्कुराउने छ कुटिल ओठहरू
देख्यौ त आमा !
तिम्रो निम्ति पो झरेको फूल हुँ म
कसैको निम्ति फुलिरहेको !
तिम्रो निम्ति पो खसेको तारा हुँ म
कसैको निम्ति चम्किरहेको !
आमा !
जिउँदो हुँदा त म हेपिएको थिएँ नै
मरेपछि पनि म यसरी अपमानित भएको छु
खासमा, म मरेको मात्र छैन आमा
आज सक्त घाइते पनि भएको छु
थाहा छ आमा !
म फेरि एकपटक
यो देशको निहत्था सहिद भएको छु !
बाँचिन्जेल त मैले यो कहिल्यै बुझिन
र त सहजै तयार भएँ मर्न
तर मरेपछि भने बुझ्दै आएको छु
हो आमा !
बाँच्दा नदेखेको कुरा मरेपछि देख्दै आएको छु
मेरो लासको सिंढी भएर
कति बादशाहहरू सिंहदरबारको उच्च आसनमा पुगे !
हो, मरेपछि यो देखेको छु मैले
आज फेरि म
कसैको निम्ति सिंहदरबारको सिंढी भएको छु
म खटिरा निस्केर मरेको होइन आमा
निमोनिया भएर मरेको होइन
सडक दुर्घटनामा पनि परेको होइन
आमा म त शहीद भएको छु
शहीद
आमा !
त्यो मूर्दा आन्दोलन
फेरि पनि आउनसक्छ
त्यसले मलाई जस्तै मुक्तिको सपना देखाएर
फकाएर लैजान सक्छ तिम्रा मझेरीका ताराहरू
भाँचेर लैजान सक्छ तिम्रा आँगनका गुलाफहरू
रछ्यानमा बम रोपेर जानसक्छ त्यो
एकदमै चनाखो रहन सक्नुपर्छ आमा !
गट्टी भनेर बटुल्दा
नानीहरूले गोली बटुल्न सक्छन्
घिरौंला भनेर टिप्दा
केटाकेटीहरूले ग्रिनेट टिप्न सक्छन्
मकैका घोगाहरूमा कालिपोके भएर बारूद फल्न सक्छ
धानका प्रत्येक दानाहरू लाजा भएर पड्कन सक्छन्
खेतको सिरान भएर बग्न सक्छ रगतको पैनी
जुनसुकै दिशा भएर हावा दुर्गन्ध बोकेर बहन सक्छ
दुध खान नपाएर अर्थात् भोकाएर होइन
बरू बन्दुकको आवाजले तर्सिएर कराएको हुनसक्छ
गोठको बाछी
हो आमा ! परिवर्तनको नाममा
फेरि पनि त्यो मूर्दा आन्दोलन आयो भने,
तिम्रा अनगिन्ति सन्तानहरू
आज म जस्तै आ-आफ्नो लाश बोकेर घर फर्कनेछन्
तिमी भित्र फेरि अर्को औंसी जन्मनेछ आजको झैं
तर त्यही मौकामा –
कसैले दिपावली गरिरहेको हुनेछ सिंहदरबारमा
र आफैलाई कुल्चिएर गइरहेका बादशाहहरू देखेर
यो रमितामा रोइरहेका हुनेछन् फेरि
यो देशका मजस्तै विभत्स लासहरू
कसैले आएर ओढाउने छ
स्वार्थै स्वार्थको झण्डा जस्तो कात्रो
शहीद भनेर अपमान गर्नेछन् फेरि
कयौं मजस्ता निहत्था मृत्युहरूलाई
हो आमा!
आज जसरी सहीद भएर
दशलाखको पोको बोकेर
तिम्रा आँसुहरू पुछ्न म तिमी सामु उभिएको छु
त्यो मूर्दा आन्दोलन फेरि आयो भने
त्यसरी नै उभिनेछ मेरो भाइ
हो, आफ्नै निहत्था मृत्युप्रति
मलाई सक्त अफसोस छ आमा,
तिमी मात्र किन एकोहोरो रोइरहन्छौ ?
किन पखाल्दिनौ मेरो छातीको रगत ?
किन बन्द गर्दिनौ मेरा बर्बराई रहेका ओठहरू ?
किन पुछ्दिनौ मेरा पश्चतापका आँशुहरू ?
आमा! आजको दिन,
म मरेको मात्र छैन – अपमानित पनि भएको छु
हो आमा !
मैले थाहै नपाई
म शहीद भएको छु ।

Published on March 8, 2017 at 4:36 am

Loading...

यसमा तपाइको मत