अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

बानाको अध्यक्षमा मेरो उमेद्वारी किन ? -सतिश चापागाईं

बिआरटीनेपाल २०७३ फागुन २३ गते १३:१६ मा प्रकाशित

आदरणीय मेरिल्याण्डबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

मेरिल्याण्डमा रहेको सामाजिक संस्था बानाको २०१७/०१९ का लागि आसन्न निर्वाचनमा मैले अध्यक्ष पदमा उमेद्वारी दिएको कुरा तपाईहरु सबैलाई विनम्रतापूर्वक जानकारी गराउँदछु | मसँग नेपालमा महिला, बालबालिका, दलित जनजाति र असल शासनका क्षेत्रमा तालिम प्रशिक्षक भएर र पत्रिका प्रकाशन गरेर एक दशक बिताएको अनुभव छ | सामाजिक संस्थामा आबद्ध भएर सामाजिक कार्यमा रमाउने बानीका कारण म एक दशक अगाडी मेरिल्याण्डमा आएदेखि नै यो संस्थामा निरन्तर सक्रिय भएको कुरा पनि सर्वविदित नै छ | बानामा सचिव र उपाध्यक्ष पदमा रहेर सफलतापुर्बक काम सम्पन्न गरेको छु भने स्थानीय अभिभावकहरुको अनुरोधमा उहाँहरूले सञ्चालन गर्नु भएको नेपाली भाषा कक्षामा नेपाली भाषा पढाउदै आएको छु | यही बानी र आफ्नो रुचिलाई अझ उत्कर्षमा पुर्‍याउने उद्देश्यको निरन्तरता स्वरूप मैले अध्यक्ष पदमा उमेद्वारी दिएको हुँ |

सामाजिक काम सबैको सहयोगमा र सबैसंगको सहकार्यमा मात्र सम्पन्न गर्न सकिन्छ भन्ने मेरो अटल विश्वास रहेको छ | म यही विश्वासमा रहेर बानाको आगामी जिम्मेवारी बहन गर्न चाहन्छु र सम्पूर्ण मेरिल्याण्डबासीबाट सहयोगको अपेक्षा गर्दछु |

यस पवित्र संस्थाले गर्न सक्ने धेरै कामहरूको खाका हामीले सजिलै बनाउन सक्दछौं | आवश्यक नयाँ योजनाहरू बनाउनुका साथै समाजका लागि उपयोगी विगतका योजनाहरू र कामहरुलाई निरन्तरता दिइनेछ | बानाको अध्यक्ष हुन खोज्नुका पछाडिका मेरा केही उद्देश्य यहाँ प्रस्तुत पनि गरेको छु |

अन्त्यमा, बानाका संस्थापकहरु, आजीवन सदस्यहरू, विगतका पदाधिकारीहरू, वर्तमान कार्यसमिति र सम्पूर्ण साधारण सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस निर्वाचनमा बानाको अध्यक्ष पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ |

मेरा प्रतिबद्धताहरु:

१. सदस्यता विस्तार र तथ्याङ्क : हाल मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरू मध्ये अति नै थोरै नेपाली बानामा आवद्ध हुनुहुन्छ | आगामी दुई वर्षमा सदस्यता विस्तार अभियानलाई व्यापक रूपमा सञ्चालन गरिनेछ | मेरिल्याण्डमा बसोबास गर्ने हरेक नेपालीलाई बानाको सदस्य बनाउने लक्ष्य हुनेछ | साथै मेरिल्याण्डमा बसोबास गर्ने नेपालीको सही र भरपर्दो तथ्याङ्क सङ्कलन गरिनेछ |

२. आकष्मिक कोष स्थापना: मेरिल्याण्डका नेपालीहरूको दु:ख सुखमा आर्थिक सहयोग गर्न सकियोस भन्ने हेतु ‘बाना आकष्मिक कोष’ खडा गरिने छ | उक्त कोषको रकम मेरिल्याण्डमा अप्ठ्यारोमा परेका नेपालीको सहयोगार्थ खर्च गरिनेछ | जस्तै:

क. मेरिल्याण्डमा कोही नेपालीको दुर्घटनामा परेर मृत्यु भएमा तत्काल सहयोग प्रदान गरिनेछ,

ख. असाध्य रोगका बिरामीलाई रोग हेरी सहयोग प्रदान गरिनेछ,

ग. कागजी वा कानुनी समस्याका कारण अप्ठ्यारोमा परेको नेपाली परिवारलाई समस्या हेरी आर्थिक रकम सहयोग गरिनेछ।

उक्त कोष सञ्चालनका लागि सदस्यताबाट उठेको रकमको आधा हिस्सा सिधै यो कोषमा जम्मा गरिनेछ | र, यो रकम पहिलो छ महिनाको अवधिमा ५० हजार डलरको हुनेछ र दुई वर्षको अवधिमा २ लाख डलर पुर्‍याउने लक्ष्य हुनेछ |

३. मन्दिरलाई सहयोग: मेरिल्याण्डबासी नेपालीको पहल र अन्य राज्यका नेपालीको सहयोग समेतमा अति द्रुत गतिमा अगाडी बढिरहेको हिन्दु बुद्ध मन्दिर स्थापनाको पवित्र कार्यमा सहयोग गरिनेछ |

४. सामुदायिक भवन निर्माणका लागी पहल:- बानाले बाल्टिमोरमा निर्माण गर्न खोजेको सामुदायिक भवनको निर्माण प्रक्रियालाई मेरिल्याण्डबासीको निर्णय अनुसार ठोस रूपमा अगाडि बढाईने छ |

५. ‘नेपाल डे’ को निरन्तरता : बाना कार्य समिति २०१५/०१७ ले सुरु गरेको नेपाल डे लाई निरन्तरता दिइने छ |

६ .सामुदायिक संस्थाहरुसंग सहकार्य : मेरिल्याण्डमा रहेका सम्पूर्ण संस्थाहरुसंग हरेक कार्यक्रममा सह-अस्तित्वको आधारमा विभिन्न कार्यक्रमहरू सम्पन्न हुनेछ |

७. बानालाई छाता संस्थाको रूपमा विकास गर्ने: मेरिल्याण्डमा सक्रिय सबै दर्तावाला नेपाली सामाजिक संस्थाहरूको छाता र साझा संस्थाका रूपमा बानालाई विकास गराइने छ |

८. बौद्धिक सम्पत्तिको एकीकरण र विस्तार: मेरिल्याण्डमा बसोबास गरेर अमेरिकी मूल प्रवाहमा सक्रिय वा नेपाल मै पनि आ-आफ्नो क्षेत्रमा राम्रो दख्खल राख्नु हुने विभिन्न पेसा व्यवसायमा संलग्न (डाक्टर, प्राध्यापक, कलाकार, पत्रकार, खेलाडी, वकिल, नर्स )हरुसंग अन्तरक्रिया गरी उहाँहरूको सीप र क्षमताका आधारमा विभिन्न मञ्चको स्थापना गरी उहाँहरूको दक्षता प्रदर्शन गर्न मिल्ने र नेपाली समुदाय लाभान्वित हुने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।

९. बिद्यार्थीहरुका सहयोग कार्यक्रम: नेपालबाट आएर वा यही उच्च शिक्षा लिदै गरेका विद्यार्थीहरूलाई कस्तो सहयोगको चाहिन्छ भन्ने बारेमा आवश्यकता पहिचान गरेर प्रभावकारी ढङ्गले विद्यार्थी सहयोग कार्यक्रम र छात्रवृत्ति कार्यक्रमका लागि पहल गरिनेछ । उच्च शिक्षा पढ्दै गर्ने विद्यार्थीहरूलाई हौसला स्वरूप सम्मान गर्ने परिपाटी सुरु गरिनेछ |

१०. स्थानीय सरकारसँग सम्पर्क स्थापना: बाना मार्फत नेपाली समुदायले स्थानीय र राज्य सरकारका विभिन्न निकायहरुसंग सम्पर्क विस्तार गर्दै नेपाली समुदाय लाभान्वित हुने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ |

११. बानाका सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराइनेछ |

१२. विभिन्न भिसामा आएर कागजी प्रक्रियाको अफ्ठेरोमा परेका नेपालीहरूलाई नेपाली दुताबाससंग समन्वय गरी नियमित रूपमा परामर्श क्याम्प बाल्टिमोर मै सञ्चालन गरिनेछ |

१३. सूचना केन्द्र: काउन्टी र राज्य स्तरबाट प्रदान गर्ने स्वास्थ्य सेवा, स्वास्थ बिमा, शिक्षा अवसर, रोजगार, लाइसेन्स प्रक्रिया र अन्य सामाजिक सुरक्षाका सहयोगहरु के-के हुन र कसरी प्राप्त गर्न सकिन्छ भनेर स्थानीय स्तरमा उपलब्ध सम्बन्धित क्षेत्रका विज्ञ स्वयंसेवकहरु परिचालन गरी चेतनामुलक र सेवामुलक कार्यक्रम सञ्चालन गरिनेछ र नियमित सेवा पुगोस भनेर एउटा स्थायी सूचना केन्द्र स्थापना गरिनेछ |

१४. भाषा कक्षा: स्थानीय संस्थाहरुसंग सहकार्य मेरिल्याण्डका विभिन्न भागमा बालबालिकाहरुलाई नेपाली भाषा र अभिभाबकहरुलाई अङ्ग्रेजी भाषाको कक्षा सञ्चालन गरिनेछ |

१५. आर्थिक पारदर्शिता: बानाको हिसाबकिताबलाइ सर्वसाधारण सदस्यको सजिलै पहुँच हुनेगरी खुल्ला गरिनेछ |

१६. व्यावसायिक जानकारी: मेरिल्याण्डमा साना व्यवसाय गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएकोले साना व्यवसाय सञ्चालन कसरी गर्ने, कानुनी खुट्किलो कसरी पार गर्ने र व्यवसाय सञ्चालन गर्नुपुर्ब र गरिसकेपछिका गाह्रासाह्राका विषयहरूमा के गर्ने भन्ने बारे नियमित छलफल चलाइनेछ र बानाको बिजनेस फोरमलाई पुन: सक्रिय बनाइने छ |

१७. सूचना सम्पर्क: बाना र समुदायबीच प्रभावकारी सञ्चार सम्बन्ध स्थापना गर्न बानाको वेब साइटलाई प्रभावकारी बनाईनेछ | र हरेक सूचना सदस्यलाई उपलब्ध गराईने छ |

१८. कला संस्कृतिको जगेर्ना: नेपाली कला क्षेत्रका दिग्गज व्यक्तिहरूको बसोबास रहेको यस क्षेत्रमा हाम्रो कला र संस्कृति झल्काउने विभिन्न कार्यक्रम गर्ने र कलाकारलाई सम्मान र सहयोग पुग्ने कार्यक्रम गरिने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू