कल्पनाका डुबुल्कीहरु – राम लामा अविनाशी

पहाडको फेदीदेखि
समुन्द्रको छेउ सम्मका
हरेक छालका बेगहरुमा
आँखाले केही खोजिरहेका छन् ।

नियालिरहेको शून्यतामा
पातल देखि आकाशसम्म
कुहिरोमा लुकामारी खेल्दै
सिरसिरे हावाका बेगसंगै
भौंतारिईरहेका यी दृष्‍टिहरु
कहिले बादल भित्र पस्दै-निस्किँदै
कहिले समुन्द्री छालका तरङ्गहरुमा समाहित हुंँदै
क्षितिज र सागरको मिलनबिन्दुमा
निराश बनेका यी नयनहरु
कल्पनामा डुब्न थालेछन् ।

समुन्द्री बोटको दाहिने सिटमा
फुर् फुर् उडेको कपाल सम्हाल्दै
मसक्क मस्किएर
रसिला बन्दै गइरहेका ती नयनहरु
आफूतिर सोझिएका ती गुलाफी ओठहरु
नजिक अनि झन् झन् नजिक
आफ्नो गलबन्दीको सप्को
हावाले उडाएर मुख मा ट्याप्प हुंँदा
कल्पनाको रङ्गीन क्षणको अन्त
वास्तविकताको उदासी यो पल
भावनामा पो डुब्न थालेछ ।

यदि जिन्दगी समुन्द्र जस्तै भईदिएको भए
न बांच्नको लागि कष्ट, न त मृत्‍युका लागि चिन्ता
न सफलतामा हर्ष, न त असफलतामा बिस्मात
न अँध्यारोको असर, न त उज्यालोको प्रभाव
न लालच धन दौलतको, न त त्रिष्णा यौबनको
सागरझैंँ भूगोलको गर्भमा सदा-सदाका लागि
न जीवनको कथा बन्थ्यो, न त इतिहास नै ।

Published on March 2, 2017 at 5:51 pm

Loading...

यसमा तपाइको मत