अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

एनआरएन अमेरिकामा अध्यक्षको चुनावी रणनीति – तोया दाहाल

बिआरटीनेपाल २०७३ फागुन १९ गते १५:२१ मा प्रकाशित

एनआरएन अमेरिकाको चुनावका लागि तम्तयार रहेको देखाउनेको सङ्ख्या थपिँदो छ । धेरैको उमेद्वारी आफैँमा दिगो र भरपर्दो नभए पनि दाउपेच, आकाङ्क्षा र आशाको प्रतिविम्ब भने अवश्य हो । एनआरएन अमेरिकाको राजनीतिमा अन्तर-कुन्तर राम्ररी बुझेका वर्तमान अध्यक्ष डाक्टर केशव पौडेल नै दोहोरिने कुरा पनि बाहिर आइरहेको छ । साथै, उनलाई सफल बनाउन पर्दापछाडिबाट भूमिका खेल्दै आएका व्यक्तिहरूले नै उनको नाम अगाडि ल्याएपछि केहीमा उत्साह र केहीमा निराशा थपेको छ । डाक्टर पौडेल दोहोरिनु र दोहोर्याउनुपर्ने अरू थुप्रै कारण नभए पनि निकट भविष्यमा हुन गइरहेको एनआरएन आईसीसीको चुनावमा अमेरिकाको सन्तुलित र विवादरहित उपस्थितिका लागि डाक्टर पौडेललाई यहीँ थन्क्याउने रणनीतिभित्र पनि यो खेल भइरहेको हुन सक्छ । डाक्टर पौडेल पनि यस पटक दुनियाँभरको झन्झटमा फस्न चाहँदैन थिए । खगेन्द्र जीसी, सोनाम लामालगायतले आईसीसीमा प्रतिस्पर्धाका लागि तयारी गर्दै गर्दा उनलाई दोहोर्याउन दबाब दिनु अस्वाभाविक पनि होइन । एनआरएनको केन्द्रीय राजनीतिमा बलियो हैसियत देखाउन एनआरएन अमेरिकाबाट डाक्टर केशवको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन्, केन्द्रमा जाने प्रतिस्पर्धीले ।

अध्यक्षको दौड
गत महिना टेक्सासमा एनआरएनसँग नेजाले गरेको अन्तरक्रियामा एनआरएन अध्यक्ष डाक्टर पौडेलमा देखिएको दृढता र आत्मविश्वासले चुनावी मैदानमा जान चाहनेलाई थप सशङ्कित बनायो । अध्यक्षका लागि दाबा गरिरहेका तीन उपाध्यक्ष र एक जना सम्भावित उमेद्वार बढी सशङ्कित थिए । सबै उनको मुख ताकेर बसेका थिए । कसैको पनि आफैँ जित्ने दरिलो आधार नभइसकेको अवस्थामा उनको साथ र हात समाउनु नै यो एनआरएन अमेरिकाको चुनावी भेल पार गर्ने उपाय हो । त्यहाँ प्रस्तुत हुनु केही साता अघिसम्मका सबै फोन संवादमा उनले नदोहोरिने आशयको कुरा गरेका थिए । तर, त्यहाँ बेग्लै सन्नाटा छायो । एनआरएन अध्यक्षले धेरै कुरा लुकाएनन् । अब अरूले पनि अध्यक्षको मार्गचित्रमा हिँड्नुपर्ने आशय व्यक्त गरे । सबै अकांक्षीलाई मिलाएर आफूसहितकै सशक्त टिम निर्माण अहिलेको आवश्यकता हो भन्ने प्रस्ट सन्देश दिन भ्याइहाले । जसका कारण तत्काल उमेद्वारी घोषणा गर्न आँटेका आकांक्षीहरूले केही ढिलो उमेद्वारी घोषणा गरिरहेका छन् ।

क्यालिफोर्नियामा जनसम्पर्कका पूर्वअध्यक्ष चन्द्र धिताल, अध्यक्ष पूर्ण शेर्पा, उपाध्यक्ष नारायण खनाललगायतको ठुलो समूह अध्यक्षमा डिल्ली भट्टराईको पक्षमा उभिने सम्भावना छ । डिल्ली भट्टराई एनआरएन अमेरिकाका गतिविधिलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउँदै पारदर्शी र बढी जनपक्षीय बनाउने सोचाइका साथ अध्यक्ष पद दाबी गर्न कसिएका छन् । एनआरएन अमेरिकालाई कसरी अरूभन्दा भिन्न, सबल, सक्षम र सशक्त बनाउन सकिन्छ भन्ने उनको योजना पनि छ । तर, भट्टराईको पहुँच र जन सम्पर्क व्यापक नहुँदा मैदानमा खडा हुन डाक्टर पौडेल वा अरू बलियो समूहको साथ आवश्यक छ ।

अर्को समूहमा रहेका धनन्जय नरसिंह केसीलगायतले उपाध्यक्ष रविना थापालाई खुलेर समर्थन गरिरहेका छन् । केसी भन्छन्, ‘डाक्टर पौडेलको नेतृत्वमा रहेको एनआरएन अमेरिकाले धेरै राम्रा काम गर्दै सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्न लागेको अवस्थामा एउटै व्यक्तिलाई नेतृत्वमा दोहोर्याउनु आवश्यक छैन ।’ उनले डाक्टरलाई आईसीसीमा जान सुझावसमेत दिइसकेका छन् । लामो समयदेखि रविना थापाले सामाजिक क्षेत्रमा थुप्रै काम गरे पनि एनआरएन अमेरिकाको अध्यक्षका लागि भने अरू धेरै हिसाबले उनको व्यक्तित्त्वलाई सहज रूपमा लिन कतिपयले सकिरहेका छैनन् । द्विविधाबीचमा केही आफन्त र राजनीतिक धारका व्यक्तिको दबाबमा उनी चुनावी मैदानमा देखा परिसकेकी छन् । उनलाई अगाडि वढाउदै गरेका केसीको नेपाली काँग्रेसमा बलियो पहँच भएका कारण आनन्द विष्ट, वेद खरेल लगायत जन सम्पर्क समितिको नेतृत्व उनका पछाडि उभिनै पर्ने अवस्थामा बनेको थापा निकटका व्यक्तिहरूको भनाइरहेको छ ।

उता, जन सम्पर्क समिति टेक्सस र एनआरएन टेक्सासले उपाध्यक्ष राम सी पोखरेललाई साथ दिने सम्भावना छ । टेक्सासभित्रै हरिबोल भण्डारीलगायतले पहिला नै गौरि जोशीलाई अध्यक्षमा अगाडि सारेका छन् । राजनीतिक पृष्ठभूमिका कारण गौरिलाई एमाले निकट प्रवासी मञ्चले साथ दिने बजारहल्ला पनि छ । जन सम्पर्क समितिका आनन्द विष्ट र वेद खरेलको पनि गौरिलाई नै साथ मिल्नेमा गौरि निकटका केही व्यक्तिहरू विश्वस्त देखिन्छन् । तर पनि गौरि कुनै राजनीतिक समूहको आड नलिई मैदानमा खडा हुने तयारी भइरहेको उनका सहयोगीहरू बताउँछन् ।

व्यापारका साझेदारदेखि आफूनिकटका केहीले गौरिको नाम लिइरहँदा उपाध्यक्ष पोखरेल आहत भएका थिए । आफ्नै मान्छेहरूले केही प्रलोभनमा परी गौरिलाई आकाङ्क्षाको चुचुरोमा पुर्याएको अशंका पोखरेलले गरेका थिए । टेक्सासामा एनआरएनको साधारण सभा तय भइसकेपछि सबैभन्दा पहिला गौरिको नाम एउटा अनलाइनबाट बाहिर ल्याइयो । तर, त्यसका योजनाकारहरू स्वार्थ पूरा नहुनासाथ अहिले फरक ढङ्गले प्रस्तुत भइरहेको गौरि जोशीका सहयोगीहरू बताउँछन् । दुईबीचमा सहमतिको सूत्र पहिल्याउन टेक्सासका अगुवाहरु लागिसकेका छन् । यसमा दुवै पक्षको भित्री भूमिकामा रहेकाहरूको काम अझ महत्त्वपूर्ण हुनेछ । दुवैलाई थाहा छ, एउटा सम्झौता नगरी अगाडि बढ्नु अघोषित पराजयको यात्रा मात्र हुनेछ । यद्यपि, विद्यमान अविश्वासको स्थितिलाई न्यून गर्दै लैजान ठोस पहल भने कतैबाट भएको छैन । होमग्राउन्डको भिडन्तबाट बाहिर आएर यी दुई शक्ति सहकार्यको अवस्थामा पुग्नासाथ अध्यक्षको दौडले नयाँ घुम्ती लिनेछ । क्यालिफोर्निया र न्यु योर्क आसपासबाट अगाडि बढेका अध्यक्षका प्रत्यासीलाई ठुलो झड्का लाग्नेछ ।

एनआरएन अमेरिकाको महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भइसकेका कृष्ण पोखरेलले पनि अध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । स्थानीय सङ्घ-संस्था, जनसम्पर्कको एउटा समूह र आफ्नो पुरानो नेटवर्कलाई उपयोग गर्दै उनले चुनावी अभियान सुरु गर्ने तयारी गरेका छन् । डाक्टर पौडेल अध्यक्षमा नदोहोरिने परिस्थिति भएमा समर्थन पनि प्राप्त हुने उनीनिकटका व्यक्तिहरूको बुझाइ रहेको छ ।

सबैभन्दा बढी सदस्य रहेको न्यु योर्क क्षेत्रबाट तेम्बा शेर्पाले पनि उमेद्वारी घोषणा गरेका छन् । उनलाई शेर्पा समुदाय र जनसम्पर्कको एउटा समूहले अगाडि बढ्न सहयोग गरिरहेको छ । तर, सबै क्षेत्रमा उनको पहुँच र सम्पर्क भने देखिएको छैन ।

अध्यक्षका प्रत्यासी बढ्दा सदस्यता विस्तारमा केही सजिलो हुनेछ । प्रभाव जमाउने र माहोल बनाउने कुरामा अध्यक्ष पौडेलसँग कला छ । उनको सरल स्वभाव र गतिशील दैनिकी चुनावी माहोल बनाउने औजार हुन् । उनको गति पछ्याउन अरू उमेद्वारले पनि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ । र, सीमित क्षेत्र र समूहमा रहेको एनआरएन अमेरिकाको सदस्यता अघिल्लो चुनावमा डाक्टरको गति र मेम्बरसिप ड्राइभमा ल्याएको ठुलो हलचलका कारण केही फराकिलो बन्न पुगेको छ । सदस्यता वितरण र नविकरणमा यस पटक डाक्टर पौडेललाई गौरि जोशीले पछ्याउने सम्भावना छ । राजनीतिभन्दा बाहिर रहेको डाक्टर, नर्स, इन्जिनियर र विभिन्न पेसा-समुदायको ठुलो समूहमा डाक्टर पौडेलको सम्बन्ध र पकडले पनि सदस्यता वृद्धि गर्न सजिलो छ । सँगसँगै प्राविधिक सीप र क्षमता भएका थुप्रै नेपालीलाई राम्रो अवसरको ढोका खोलिदिएका गौरि जोशीको पहलकदमीले पनि यस पटक एनआरएनमा सदस्यता बढ्ने देखिन्छ ।

बाहिरी प्रभाव
सदस्यता वितरण र नविकरण भई नसकेको अहिलेको अवस्थामा को कति बलियो भनेर आँकलन गर्नु हतारो हुनेछ । विगत र अहिलेको परिस्थितिको विश्लेषण गर्नेहरू भन्छन्, ‘उमेद्वारको व्यक्तिगत प्रभावबाहेक अरू धेरै कुराले यो चुनावलाई प्रभावित गर्न कोसिस गरिरहेका हुन्छन् । विगतलाई हेर्ने हो भने जनसम्पर्कका ठुला दुई समूहले फरक-फरक धारका प्रत्यासीलाई सघाएका थिए । डाक्टर पौडेलको आफ्नो व्यक्तिगत पहल र प्रभावका कारण परिणाम फरक निस्कियो । यस पटक आफ्नै वार्षिक साधारण सभा तयारीको चटारोमा रहेको जनसम्पर्कको वर्तमान नेतृत्व कसलाई च्याप्ने भन्ने रनभुल्लमा देखिन्छ ।

उमेद्वारको कति सक्षम र योग्य भन्दा पनि बेलाबखत गुट र क्षेत्रीय राजनीतिले यसको परिणामलाई प्रभाव पार्न सक्छ । विगतमा एनआरएनको चुनाव न्यु योर्क र आसपासको एकछत्र प्रभाव र चर्चामा बढी केन्द्रित हुने गरेको थियो । न्यु योर्क केन्द्रित दबदबालाई बाहिरबाट आउने उमेद्वारले टक्कर दिनै सक्दैन भन्ने पनि थियो, हिजो । त्यसैले हिजो टिमको छनोट बडो सावधानीपूर्वक गरिएको थियो । क्षेत्रीय वैमनष्यता उत्पन्न हुन नदिनु आफ्नो हितमा हुन्छ भन्ने डाक्टर पौडेल समूहको बुझाइ नै जितको आधार बन्यो । तर, पराजयलाई इष्ट-कोष्ठबाट नेतृत्व गर्ने उमेद्वारले सहज रूपमा लिन सकेनन् । क्षेत्रीयताको राजनीतिले केही समय बलियो देखिन सकिन्छ तर सधैँ होइन । न्युयोर्कबाटै अपेक्षित भोट पाएनन्, क्षेत्रका बलिया उमेद्वारले ।

तर, यस पटक अलि भिन्न छ । टेक्सस वरपर एनआरएनका प्रतिस्पर्धीहरूको ध्यान केन्द्रित भएको देखिन्छ । यसको प्रमुख कारण के हो भने यस पटकको मेम्बरसिप ड्राइभमा सबैभन्दा बढी नयाँ सदस्य टेक्सासबाट थपिने सम्भावना छ । यसको एनआरएन सदस्यता सङ्ख्याको हिसाबले न्यु योर्क र क्यालिफोर्निया पछि तेस्रो नम्बरमा रहेको टेक्सस यस पटक पहिलो नम्बरमा पुर्‍याउने गृहकार्य चलिरहेको छ । यसका लागि अध्यक्षका प्रत्यासी गौरि जोशी, राम सी पोखरेल र डाक्टर पौडेल आ-आफ्नो तवरबाट लागिपरेका छन् । त्यसपछि क्यालिफोर्निया र केही अन्य राज्यमा सदस्यता वितरण बढाउने उमेद्वारहरूको ध्याउन्न छ ।

एनआरएन अमेरिकामा राजनीतिको प्रभाव पर्नुहुन्न भनेर जति नै आदर्शका गफ गरे पनि आनन्द विष्ट, मृदुला कोइराला, मुनेन्द्र नेम्वाङ, वेद खरेल र विष्णु सुवेदीहरूको भूमिका कम हुँदैन । प्रवासी मञ्च र जातीय सङ्घ-सङ्गठनको भूमिका पनि उत्तिकै छ । पूर्ण शेर्पा, चन्द्र धिताल, नारायण खनाल, प्रतीक पाण्डे, हेमराज भट्ट, विनोद भट्ट, उत्तम कार्की, मणि नेपाली पनेरू, हरिबोल भण्डारी, प्रमोद सिटौला, ओमके भट्टराई, प्रियरन्जन दाहाल, राजेन्द्र जोशी, कृष्ण लामिछाने, उत्तम लामिछाने, सीपी पौडेल, प्रेम पाण्डे महेन्द्र केसी, निमा लामा, बावुराम लामा, छेवाङ लामा, सन्जय थापा, गणेश कुँवर, दुर्गा दाहाल, नगेन्द्र पौडेल, श्री पराजुलीलगायत अरू थुप्रै व्यक्ति छन् जसको ध्रुवीकरणले एक हदसम्म परिणामलाई प्रभाव पार्छ ।

ठुलो सङ्ख्यामा नेपाली रहेको अमेरिकामा हिजोको चुनौती भनेको सदस्यता विस्तार थियो । आज त्यसबाट तयार भएको ठुलो भीडलाई व्यवस्थापन गर्दै संस्थागत रूपमा विकास गर्नु प्रमुख दायित्व हुन पुगेको छ । एनआरएनका मुद्दालाई स्वतन्त्र ढङ्गबाट मुखरित हुन दिँदै नेपाली मन र पनलाई जोड्ने माध्यम बन्नुपर्छ । आपत्-विपदमा मात्र आफ्नो उपस्थिति देखाउने होइन, दीर्घकालीन योजना र रणनीतिमा हिँड्नुपर्छ । चुनाव जित्नकै लागि एनआरएनको घोषित लक्ष्य र उद्देश्यलाई राजनीतिक स्वार्थसँग घोलघाल पारेर अवमूल्यन गर्ने काम बन्द गरिदिए मात्र पनि पुग्छ ।

प्रतिक्रिया