महाशिवरात्रीको महत्व र विशेषता-ज्योतिष शास्त्री राजेन्द्र खनाल

महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ ।

शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफनो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ ।

यो संसार तीन तत्व(शक्ति)ले चलायमान छ । ती हुन् → ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन (पोषित) हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।

शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ । दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ र विनाशमा पनि हुनुहुन्छ । संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो ।

विनाश पनि एउटा विशुद्ध शक्ति हो । कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि शक्ति चाहिन्छ । त्यसैले, संहारशक्तिका रूपमा भगवान् शिव पूज्य र बन्दनीय हुनुभएको हो । भगवानका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता मान्न सकिएको हो । ‘शरीरमा खरानी घसेर बस्नु अर्थात् शिवजस्तो हुनु भनेको सान्सारिक सुखबाट टाढा बस्नु भन्ने सन्देशलाई बुझ्न सकिन्छ ।

भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको सोही कथा जम्बुद्वीपको इच्क्ष्वाकु वंशका राजा चित्रभानुको कथा उल्लेख हुन आउँछ । उनी यसै दिन उपवास बसी भगवान शिवको आराधना गर्दै थिए । त्यही अवसरमा अष्टावक्र नाम गरेका ऋषि आई उपवास बस्नुको अर्थ सोधे । राजाले उनलाई आफ्नो पूर्व जन्मको बारेमा बताए र त्यसअनुसार उनी पूर्वजन्ममा सिमान्त देशमा एक शिकारी(ब्याधा) थिए । उनी चराचुरुङ्गी तथा जनावरहरुको शिकार गर्दथे । एकदिन उनको साहुसँग भेट भयो र ऋण नतिरेकोले साहुले उनलाई शिवको मन्दिरमा लगी दिनभर भोकै राखेर साँझपख छाडिदिए । त्यसपछि उनी शिकारको लागि जंगलमा गए र जलको नजिकै बेलको झाडीमा लुकेर बसे, जब हरिण पानी खान आउनेछ अनि मार्नेछु भन्ने तवरले । जुन बेला एक हरिणलाई देखे र मार्न तयार भए तर झाडीले छेकेको हुनाले पात टिपेर मिल्काए जहाँ शिवलिंग थियो तर उनलाई थाहा भएन । जब हरिणीलाई हान्न खोजे हरिणीले पनि आफ्नो पूर्वजन्मको कथा सबै बताई र आफू स्वर्गकी अप्सरा हुँदा हिरण्याक्षसँग प्रेम बसेकाले पछि शंकरजीले थाहा पाई आफू र आफ्नो श्रीमानलाई हरिण र हरिणी हुनु परोस् भनी श्राप परी आफ्नो सो अवस्था भएको बताई । आफू घर पुगेर बालबच्चा भेटी फर्कने बाचा गरी, शिकारीले पनि हरिणीको परिवार कष्टमा परेको देखि नमारिकन आउने सर्तमा छोडिदिए । यो क्रम रातभर तीन पटकसम्म दोहोरियो । उक्त दिन उनी दिनभर भोकै थिए राति पनि उनी भोक प्यासले गर्दा रातभरी निदाउन सकेनन् तथा आफ्ना पत्नि तथा बालबच्चाहरु भोकै भएकाले उनले केही ल्याउँला भनेर पर्खेर बसेका होलान् भन्दै सौंच्दै रहे । उक्त दिन शिवरात्रीको दिन थियो, जो उनलाई थाहा थिएन । बेलको पात टिप्दै फाल्दै गरेकाले बेलपत्रले शिवलिङ्ग ढाकियो तर उनले चाल पाएनन् । भोलिपल्ट उनी रित्तै घरमा गए, हरिण हरिणीहरु सबै आए तर उनले कसैलाई पनि मारेनन् किनकि उनमा नजानीकनै गरेको भए पनि ब्रतको प्रभाव परिसकेको थियो । उनको मृत्युपश्चात् भगवान शिवका दूतहरुले उनलाई कैलाशमा लिएर गए । उनले पहिलोपल्ट थाहा पाए कि उनले अन्जानमा भगवानको निराहार ब्रत र रातभरको जाग्राम गरेको रहेछु भनेर । त्यहाँ यमराजका दूतहरु पनि आएका थिए । आत्मा लिएर जाने बारेमा दुबै पक्ष विच ठूलो लडाइ भयो तर ती दूतहरुले उनलाई सो रुखको फेदमा शिव लिंग भएको र उनले खसालेको सबेै बेलपत्र शिवलिंग माथि परेको सुनाए । र अन्तमा शिवदूतहरुले सो आत्मा लिएर गए । यमदूतहरुले सो घटनाबारे यमराजलाई जानकारी गराए । यमराज तुरुन्त कैलाश पर्बत पुगे । नन्दीले उनलाई महाशिवरात्रीको महत्व तथा सो मृतआत्माप्रति भगवान शिवको प्रेमबारे सुनाए । यमराजले आफ्नो गल्ती स्वीकार गरे र अब आइन्दा भगवान शिवको कुनै पनि भक्तमाथि भगवानको आज्ञा विना हस्तक्षेप नगर्ने भनी फर्के । यसप्रकार सो शिकारी शिवको गणको रुपमा रहन सके केवल उपबास सहित अन्जानमा शिव लिंगमा बेल पत्र चढाएको कारण किनकी त्यसदिन महाशिवरात्री थियो । यसरी महाशिवरात्रीको महत्व तथा विशेषताबारे भगवान शिवको उक्त भनाइमा पार्बती अत्यन्त प्रभावित हुनु भयो र उहाँले यसबारे सबैलाई बताउनु भयो । यसप्रकार उनले अन्जानमा भगवान शिवको लिंगमा पूजा गरेको हुनाले उनी शिवका भक्त भएर रहे ।

शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्, जुन सबै शिव लिंगमा चढाइन्छ । त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ ।

महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ ।

१) भगवान शिवको लिंगमा शुद्ध जल, दुध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।
२) भगवान शिवपार्वतीलाई सिन्दूर टिका चढाउनु भनेको सद्गुण बृद्धि गर्नु हो ।
३) विभिन्न प्रकारका फलफूल चढाउनु भनेको दीर्घ आयु तथा आफ्ना इच्छा पूरा गर्नु हो ।
४) धूप बाल्नु भनेको सम्पति बृद्धि हुनु हो ।
५) दीप बाल्नाले ज्ञानको वृद्धि हुन्छ ।
६) बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त गर्नु हुन्छ ।

 

शिवरात्रीको पूजा फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । नेपालमा यसलाई जुन तरिकाले मनाए पनि विदेशमा यसलाई महत्वपूर्ण ब्रत तथा पर्वका रुपमा लिन सकिन्छ ।

। नोटः यस वर्षको महाशिवरात्रीको दिन फेब्रुवरी २४ तारिख, फाल्गुन १३ शुक्रबार परेको छ । जो जहाँ रहे पनि हामीले आफ्नो सँस्कार तथा चाडपर्वलाई आफू तथा आफ्नो परिवार, साथिभाइलाई चिनाऔं । सँस्कार नै तपाई हाम्रो चिनारी हो, राम्रो सँस्कारले नै हाम्रा बालबच्चाहरु पछि सफल हुन्छन् । महाशिवरात्रीको उपलक्षमा सबै भक्तजनहरुलाई भगवानको आशिर्वाद प्राप्त होस् भन्ने शुभकामना । इति ।

 

 

 

(लेखक खनाल बिगत १० वर्षदेखि वासिंटन डी सी, मेरिल्याण्ड, भर्जिनियाक्षेत्रमा ज्योतिष तथा कर्मकाण्ड सम्बन्धी पुरोहित गर्दै आईरहनु भएको छ ।)

Published on February 24, 2017 at 9:29 pm

Loading...

यसमा तपाइको मत