अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

टेक्ससको डयालासमा कानुनी परामर्श कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन ८ गते १३:३९ मा प्रकाशित

अमेरिकामा गत नोवेम्बरमा सम्पन्न निर्वाचनमा सबैलाई अचम्मित पार्दै धेरैको अनुमान भन्दा फरक ढङ्गले डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भए । नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने नेपाली उखान झैँ उनका दैनिक गतिविधिले सबै हैरान भएका छन् । विशेष गरेर आप्रबासीलाई लक्षित गरी गरिएको एक्जुकेटिभ अर्डरले धेरैलाई त्रसित बनाएको छ ।

हिजो एन आर एन अमेरिका, टेक्सस च्याप्टरको आयोजना तथा अन्य लोकल संस्थाहरूको सहयोगमा टेक्सासको अर्भिङ्गमा एक जानकारी मूलक कार्यक्रमको आयोजना गरियो । अधिबक्ता खगेन्द्र जिसी प्रस्तोता रहेको उक्त आयोजित छलफल कार्यक्रममा कानुनविज्ञ खगेन्द्र जिसीले नेपालीका निम्ति बाहिर चर्चा भए जस्तो आतंकित हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।

वैधानिक कागजपत्र नभएकाहरुका निमित्त पहिले भन्दा धेरै सचेत भएर काम गर्न जरुरी छ तर समाती हाल्यो भने समातिदैमा डिपोर्टेसनमा पर्ने भन्ने हुँदैन जिसीले भन्नुभयो । अमेरिका अवैधानिक रूपमा प्रवेश गरेको १४ दिन नपुगेका र अमेरिका सीमाको एकसय माइलभित्र समातिएकालाई नयाँ आदेश अनुसार सिधै सम्बन्धित देश फिर्ता पठाउनसक्ने प्रावधान रहेको जिसीले उल्लेख गर्नुभयो ।

यो आदेश आउनुपूर्व नै आवेदन दिइसकेको कुनै पनि व्यक्तिको अदालतमा मुद्धा रहेको व्यक्तिलाई नयाँ आदेशले कुनै असर गर्दैन। साथै यसले अहिले सम्म गरिएको फेमिली पिटिसनलाई पनि कुनै असर नगर्ने जिसीले भन्नुभयो। जिसीका अनुसार आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई मात्र निष्कासनको उच्च जोखिम छ। कुनै पनि अपराधमा संलग्न भैसकेकाहरुलाई जुनसुकै बेला पनि समातेर प्रक्रिया पु¥याएर सरकारले फिर्ता गर्नसक्छ ।

कार्यक्रममा भाग लिन एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल पनि आउनु भएको थियो। कार्यक्रमममा कानुनविज्ञ जिसीले सहभागीहरुको, अनलाइन मार्फत र फोन मार्फत आएका जिज्ञासाको जवाफ दिनुभएको थियो। आज हामीले यो समाचार लेख्दा उक्त कार्यक्रम अस्टिन टेक्सासमा पनि भइरहेको छ । उक्त कार्यक्रमको फेसबुकबाट प्रत्यक्ष प्रसारण एन आर एन का कोशाध्यक्ष वेदराज बस्नेतले गरिरहनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू